भर्खरै :

संसारभर संरा अमेरिकी जनताको आन्दोलनप्रति ऐक्यबद्धता प्रदर्शन

 
अफ्रिकी अमेरिकी नागरिक जर्ज फ्लोडको हत्याको विरोधमा संरा अमेरिकामा फैलिएको आन्दोलन संसारका विभिन्न देश र सहरमा पनि फैलिएको छ । संरा अमेरिकामा जातिवाद र प्रहरी नृशंसताको विरोधमा ठुलो सङ्ख्यामा सर्वसाधारण जनता न्याय र सामाजिक निष्पक्षताको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
शनिबार संरा अमेरिकाको राजधानी वाशिङ्टन डीसीमा हजारौँ प्रदर्शनकारीहरूले विभिन्न नारासहित जातिवाद र प्रहरी नृशंसताको विरोधमा प्रदर्शन गरे । वाशिङ्टनमा शनिबार भएको प्रदर्शन पछिल्लो समय भएका प्रदर्शनमध्ये सबभन्दा ठुलो प्रदर्शन मानिएको छ ।
अर्लिङटन र भर्जिनियालगायतका वाशिङ्टन नजिकका राज्यबाट पनि मानिसहरू वाशिङ्टनको प्रदर्शनमा सहभागी बनेका थिए ।
जर्मनीमा पनि संरा अमेरिकी जातिवाद र प्रहरी निर्ममताको विरोधमा विशाल प्रदर्शन भएको छ । ब्ल्याक लाइभ्स म्याटर आन्दोलनको समर्थनमा अधिकांश प्रदर्शनकारीहरू कालो लुगा र ब्यानर बोकेर प्रदर्शनमा सहभागी बनेका थिए । सो क्रममा आयोजकले प्रदर्शनमा सहभागीहरूलाई आठ मिनेट ४६ सेकेन्ड मौन धारण गर्न आग्रह गरेको थियो । मिनियापोलिसमा प्रहरीले आठ मिनेट ४६ सेकेन्ड घाँटीमा घुँडाले थिचेर जर्जको हत्या गरेको थियो ।
जर्मनीको राजधानी बर्लिनमा मात्र १५ हजार प्रदर्शनकारीहरूले अमेरिकी जातिवादविरोधी आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरे । कोभिड–१९ को महामारीलाई ध्यानमा राखी प्रदर्शनकारीहरूले आपसी दुरी कायम राखेका थिए । म्युनिखमा आयोजित प्रदर्शनमा झन्डै २५ हजार मानिस सहभागी बनेका थिए । हेमवर्ग सहरमा भएको प्रदर्शनमा १४ हजार सर्वसाधारण सहभागी थिए । त्यही बेला जङफर्नस्टेग र रथासमार्कमा पनि प्रदर्शनहरू भएका थिए ।
आयरल्यान्डको राजधानीस्थित संरा अमेरिकी दूतावासअघि जर्ज फ्लोडलाई न्याय, जातिवादको विरोध र प्रहरी निमर्मताको विरोधमा हजारौँ मानिसले प्रदर्शन गरेका थिए । त्यस्तै मे ३१ मा आयोजित अर्को प्रदर्शनमा सहभागीहरूले अमेरिकी राजदूतलाई विरोध पत्र बुझाएका थिए ।
त्यसको भोलिपल्ट आयरल्यान्डको डब्लिन सहरमा आयोजित अर्को प्रदर्शनमा प्रदर्शनकारीहरूले विभिन्न नारा लगाउँदै जर्ज फ्लोडप्रति श्रद्धाञ्जली स्वरुप मौन धारण गरेका थिए । उनीहरूले ‘सबैले श्वास फेर्न पाउनुपर्छ’ जस्ता नारा लगाएका थिए ।
फ्रान्सको राजधानीमा पनि दसौँ हजार सर्वसाधारणले अमेरिकी आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्दै प्रदर्शन गरेका छन् । विश्वप्रसिद्ध आइफल टावर नजिक आयोजित कार्यक्रममा सर्वसाधारणको ठुलो सङ्ख्यामा सहभागिता थियो । फ्रान्सको लिओन, रेनस, मर्सिली, बोर्डक्स, लिली र रौन आदि सहरमा पनि विशाल प्रदर्शनहरू भएका थिए ।
बेलायतका विभिन्न सहरमा पनि प्रदर्शनहरू भएका छन् । लन्डनमा आयोजित प्रदर्शनमा सहभागीहरूले जर्ज फ्लोडप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ‘न्याय नभए शान्ति हुन्न’ भन्ने नारा लगाएका थिए ।
लन्डनका अतिरिक्त बेलायतका मेनचेस्टर, कार्डिफ, सिफिल्ड र न्यु क्यासलमा पनि प्रदर्शनहरू भएका छन् । अस्टे«लियाको सिड्नी सहरमा अदालतको प्रदर्शन नगर्न जारी गरेको आदेशको उल्लङ्घन गर्दै प्रदर्शन भएको छ ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ‘अफ्रिकी अमेरिकी दाजुभाइ दिदीबहिनीको साथमा ऐक्यबद्धता’ मा उभिने बताएका छन् । उनले जातिवादको अस्तित्व अझै कायम रहनुको मूल कारण काला जातिको निम्ति कार्यस्थल र अवसरको अभाव भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *