भर्खरै :

संसारका सबै जातीय विभेदको विरोधमा सङ्घर्ष गरौँ !

संरा अमेरिकाको उत्तरतिरको एक राज्य मिनेसोटाको एक सहर मिनीयापोलिस नगरमा १२ जेठ २०७७ ( २५ मे २०२०) को दिन एक अश्वेत नागरिक जर्ज फ्लोयडलाई डेनेक चौभिन नामका एक प्रहरी अधिकृतले ८ मिनेट ४६ सेकेन्डसम्म घुँडाले घाँटी थिची बेहोस बनाई क्रुरतापूर्वक हत्या गरे । त्यस घटनामा संलग्न रहेका जनाई थोमस लेन, जे सलाक्सान्द्र क्युङ र ताओ चाओ नामका तीन प्रहरीविरूद्ध पनि मुद्दा चलेको छ ।
“कृपया, मलाई उभिन दिनुस्, मलाई सासै फेर्न गा¥हो भयो” भन्दाभन्दै फ्लोयड मारिए । जर्ज फ्लोयडको निर्मम हत्याको विरोधमा मिनीयापोलिस सहर र मिनेसोटा राज्यमा मात्रै होइन संरा अमेरिकाको झन्डै ५० वटै राज्यमा प्रदर्शन हुँदै छ । जातीय भेदभावको विरोध प्रदर्शन संरा अमेरिकामा मात्रै होइन, क्यानाडा, बेलायत, फ्रान्स, जर्मनी, आयरल्यान्डलगायत युरोपका सबैजसो देश र महत्वपूर्ण सहरहरूमा पनि बढ्दै छ र ‘मलाई सास फेर्न देऊ’, ‘अश्वेतको पनि महत्व छ’, ‘आप्रवासीहरूले अमेरिकालाई महान् बनाउँछन्’, ‘न्याय र मानव अधिकारको निम्ति सङ्घर्ष अगाडि बढ्छ’ भन्ने भावना संसारभरि फैलँदै छ । एसिया र अफ्रिकामा समेत भेदभाव र निर्मम हत्याको विरोधमा सङ्घर्ष बढ्दै छ । दक्षिण अफ्रिकी राष्ट्रपति सिडिल रामाफोसाले अफ्रिकी–अमेरिकी दाजु–भाइ–दिदी–बहिनीप्रति ऐक्यबद्धता जनाउँदै भने, “जातिवादको अस्तित्व अझै कायम राख्नुको मूल कारण काला जातिको निमित्त कार्यस्थल र अवसरको अभाव हो ।”
बेलायतका विभिन्न महत्वपूर्ण सहरहरूमा जातिवाद र जर्ज फ्लोयडको निर्मम हत्याको विरोधमा भएका प्रदर्शनमा हजारौँ–हजार जनता सहभागी भए । बेलायतको ब्रिस्टोल सहरमा अफ्रिकाबाट दासको व्यापार गर्ने व्यक्तिको शालिकलाई प्रदर्शनकारीहरूले ढाले, कुल्चे । अफुवा हिस्र्च ‘द गार्जियन’ का स्तम्भकार हुन् । उनले लेखे, “जर्ज फ्लोयडको हत्याको भागिदार बेलायत पनि हो (नयाँ पत्रिका, २३ जेठ २०७७) ।” अमेरिकी नागरिकहरूले चिन्तित हुँदै भन्दै छन्, “प्रहरी दमन कायमै रहेमा संरा अमेरिकी नागरिकहरूले आफ्नो व्यक्तिगत सुरक्षाको निमित्त किनिएका बन्दुक र अन्य हात–हतियारको प्रयोग नगर्लान् भन्नेर भन्न गा¥हो छ ।”
सबभन्दा ‘उँचो प्रजातन्त्र’ भएको देश संरा अमेरिकामा जर्ज फ्लोयडको हत्याको विरोधमा विस्फोट भएको आन्दोलन दोस्रो हप्तामा प्रवेश ग¥यो, आन्दोलन दबाउन ४० भन्दा बढी सहरमा कफ्र्यु लगाइयो र १५ राज्यमा सेना परिचालन गरियो ।
घानाका राष्ट्रपति नारा उनकुफो–बडोलेले भने, “अश्वेतहरूले सबै ठाउँमा विभेद भोग्दै छन् ।” अस्ट्रेलियामा पनि सन् २०१५ मा २१ वर्षिय आदिवासी डेबिड डुँगेको हत्याविरूद्ध सङ्घर्ष भएको थियो । उनले पनि ‘म सास लिन सकिरहेको छैन’ भनेका थिए । ‘सपनाको देश’, अमेरिकाको स्थिति यस्तो छ –
१) संरा अमेरिकामा अश्वेत बालकको औसत जीवनकाल बङ्गलादेश वा भारतमा जन्मिने बालकको भन्दा छोटो छ ।
२) एक अश्वेत अभिभावकको शिशु बालककालमै मर्ने सम्भावना श्वेत शिशुको भन्दा दुई गुणा बढी छ ।
३) गर्भवती समयमा अश्वेत महिला मर्ने सम्भावना श्वेत महिलाको भन्दा साढे दुई गुणा बढी छ ।
४) संरा अमेरिकाका विभिन्न कालखण्डमा अश्वेत जनताले अनेक ऐतिहासिक सङ्घर्षमा रगत बगाए तथा उत्पादन एवम् विकासमा पनि पसिना बगाए । तर, आज अश्वेत समुदायको बस्तीका सार्वजनिक विद्यालयमा पर्याप्त लगानी हुँदैन ।
५) अश्वेत समुदायको बस्तीको स्वास्थ्य सेवा पनि स्तरीय छैन । अश्वेतहरूको स्वास्थ्यमा हानी पु¥याउँदा उनीहरू अल्पायुमै मर्छन् ।
६) अश्वेतहरूलाई सरकारी तथा निजी सेवाबाट वञ्चित गरिन्छ ।
७) अश्वेतहरू ठूलो सङ्ख्यामा काराबासमा हुनुका साथै उनीहरूप्रति अत्यधिक प्रहरी दमन, यातना र अन्य रङ्गभेदी व्यवहार हुन्छ ।
८) श्वेत समकक्षीको तुलनामा अश्वेतहरूको कोभिड–१९ को परीक्षण हुने सम्भावना कम छ ।
९) रेफ्रीले समेत रङ्गभेद गरेका हुनाले विवादहरू हुन्छन् । पछि सुधार भए । (नयाँ पत्रिका, २६ जेठ २०७७)
यसरी समय र इतिहासको निश्चित कालखण्डमा शासकवर्गले ध्यान नपु¥याउँदा संसारका जनताले अनावश्यक दुःख कष्ट भोग्नुपर्ने हुन्छ । शासकवर्ग नै त्यसको दोषी हुने इतिहासको निचोड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *