भर्खरै :

कक्षा १० का विद्यार्थीको मूल्याङ्कन विवरण माग्ने

काठमाडौँ, २९ जेठ । गत २०७६ सालका कक्षा १० का विद्यार्थीको सम्बन्धित विद्यालयले गरेको अन्तिम मूल्याङ्कनलाई सम्बन्धित विद्यालयले शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनुपर्ने सरकारले निर्णय गरेको छ ।
तर, कहिलेसम्म विद्यालयले विवरण एकाइलाई उपलब्ध गराउनुपर्नेछ भन्ने जनाइएको छैन ।
अर्थमन्त्री डा. युवराज खतिवडाले शिक्षण संस्थाका कार्यालय खुला गर्न दिइने निर्णय भएको जानकारी दिनुभयो । “तर पठनपाठन गर्न पाइनेछैन” उहाँले भन्नुभयो । विद्यालयले असार १ गतेबाट कार्यालय खोल्न पाउनुबाट भर्ना लिनेछन् भन्ने प्रस्ट छ । उहाँले सार्वजनिक पुस्तकालय पनि खोल्न सकिने जानकारी दिनुभयो ।
विद्यालय, कलेज, ट्युसन सेन्टरलगायतका शैक्षिक संस्था हाललाई सञ्चालन गर्न नदिइने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
कक्षा १२ को परीक्षा हुने
यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा सञ्चालन गरिने बताउनुभएको छ ।
बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले भन्नुभयो, “कक्षा १२ को परीक्षा हुन्छ । त्यसमा यताउता हुँदैन । तर, उपयुक्त समयमा परीक्षा सञ्चालन गरिनेछ ।” यस भनाइबाट कक्षा १२ का सन्दर्भमा देखिएको अन्योल हटेको छ । यसअघि व्यवस्थापिका संसद्मा केही दिनअघि जवाफ दिने क्रममा स्थगित भएका परीक्षा उपयुक्त समयमा लिइने र विश्वविद्यालय तहमा सेमेस्टरको परीक्षा नलिए पनि माथिल्लो सेमेस्टरमा उक्लिन सकिने मन्त्री पोखरेलले बताउनुभएको थियो ।
शैक्षिक वृत्तमा यतिखेर कक्षा ११ को परीक्षाको औचित्य नभएकोले सो गरिरहनु नपर्ने भन्ने बहस हुँदै आएको छ । कक्षा ११ को परीक्षाको हकमा के हुने भनी सोधिएको जिज्ञासामा मन्त्री पोखरेलले सो तहको परीक्षाका हकमा आफूहरू प्रवेश नगरेको स्पष्ट गर्नुभयोे ।
शिक्षामन्त्री पोखरलेले व्यवस्था बदल्न ऐनमा नै परिवर्तन गर्नुपर्ने भए पनि एक पटकका लागि बाधा अड्काउ फुकाउका लागि विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनलाई आधार मानेर कक्षा १० को प्रमाणपत्र जारी गरिने बताउनुभयो । यो निर्णय बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो ।
उहाँले कक्षा ९ को सक्षमता र कक्षा १० को आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गर्ने बताउँदै यसका लागि बोर्डलाई मापदण्ड बनाउन निर्देशन दिइएको जानकारी दिनुभयो । “त्यही मापदण्डका आधारमा विद्यालयले गरेको मूल्याङ्कनलाई प्रमाणीकरण गरिने छ” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *