भर्खरै :

लकडाउन खुकुलो बनाउने सरकारको निर्णय

काठमाडौँ, २९ जेठ । सरकारले जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
अर्थमन्त्री तथा सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका खतिवडाले स्वास्थ्यसँग सम्बन्धित सबै सेवा खुला गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ भने उद्योग, व्यापार, व्यवसाय, पसलहरू, डिपार्टमेन्टल स्टोरहरू खुला गरिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो । तर, सपिङ मल भने खोल्ने निर्णय भएको छैन ।
त्यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ । व्यक्तिहरूको पैदल आवागमन खुला गरिएको छ । तर, भीडभाड नगर्न र सुरक्षा अपनाउन सरकारले अनुरोध गरेको छ ।
सरकारले साइकल र मोटरसाइकल चल्न दिने तर, मोटरसाइकलमा दुई जना यात्रा गर्न रोक लगाइएको छ । यस्तै काठमाडौँ उपत्यका र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइनेछ । तर जोरबिजोरको आधारमा चल्ने सवारीसाधनमा चालकबाहेक थप २ जनामात्रै सवार हुन पाइने खतिवडाले बताउनुभयो ।
यसैगरी सरकारले बैङ्क, बित्तीय संस्था र सहकारी पनि खुला गर्ने निर्णय गरेको छ । नर्सरी र बनजन्य व्यवसाय, विकास आयोजना, निजी क्षेत्रबाट प्रवद्र्धित आयोजना पनि निर्वाधरूपमा सञ्चालित हुनेछन् भने नदीजन्य ढुवानी पनि खुला गरिएको छ । यसैगरी रेस्टुरेन्टको क्षेत्रमा प्याकिङको माध्यमबाट सेवा लिन सकिने भएको छ ।
रेस्टुरेन्ट खोल्न पाइने भए पनि त्यहाँ ग्राहकले भीडभाड गर्न पाउने छैनन् । ग्राहकले रेस्टुरेन्टसम्म पुगेर सुरक्षितरूपमा प्याकिङको अर्डर गरेर घर तथा अफिसमा लगेर खानसक्ने व्यवस्था मिलाइएको छ ।
अब कार्यालय बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सबै सरकारी तथा गैरसरकारी संस्था, शिक्षण संस्था (पठनपाठन कार्य बाहेक), निजी तथा सार्वजनिक संस्थासमेतका कार्यालयहरू दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अब पहिलो सिफ्ट बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चल्नेछ भने अर्को सिफ्ट दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म चल्नेछ । यो निर्णयले आर्थिक वर्षको अन्त्यमा हुने कामको चापलाई व्यवस्थापन गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *