भर्खरै :

नेपाली भूमि डुब्ने गरी भारतबाट अर्को तटबन्ध

बुटवल, २९ जेठ । नेपाली भूमि डुबानमा पर्ने गरी भारतले बाटोको नाममा अर्को तटबन्ध बनाइरहेको छ । उक्त तटबन्धबाट रूपन्देही जिल्लाको दक्षिण पूर्वी रोहिणी गाउँपालिकाका इमिलिया, बुची बर्मा, बोधबार, विष्णुपुरालगायत गाउँमा रहेको मानव बस्ती विस्थापित हुने देखिएको छ । तटबन्धबाट गाउँपालिकाको वडा नं ५, ६ र ७ पूर्णरूपमा प्रभावित हुने स्थानीयहरूको भनाइ छ ।
नेपाल – भारत सीमा दशगजा जोडिएरै समानान्तररूपमा बनाइएको उक्त तटबन्ध–सडकमा पूर्व नवलपरासीतर्फ पीच भइसकेको छ । रोहिणी गाउँपालिकामुनि भने गएको मंसिरदेखि निर्माण सुरू गरिएको हो । चार लेनको तटबन्ध–सडक सिद्धार्थनगर नगरपालिकाको दक्षिणी सीमा हुँदै सुनौली नाका आइपुग्नेछ ।
भारतले नेपालको सबै तराई क्षेत्र डुबानमा पार्न बाटोको नाममा तटबन्धहरू बनाउँदै आएको छ । यसअघि २०५७÷५८ सालतिरै रूपन्देहीको पश्चिम दक्षिण मर्चवारमुनि पनि दशगजा छोएरै रसियावाल खुर्दलोटन तटबन्ध–सडक बनाएको छ । रसियावाल खुर्दलोटन तटबन्धले गौतम बुद्धको जन्मस्थल लुम्बिनी नै डुबानमा पर्ने विज्ञहरूको दाबी छ ।
भारतले बनाएको तटबन्ध–सडकबाट विस्थापित हुनुपर्ने जोखिममा परेका रोहिणी गाउँपालिकाका स्थानीय जनताले तत्काल बाटोको नाममा तटबन्ध बनाउन रोक्नुपर्ने माग गरेका छन् । वर्षे पानीको प्राकृतिक बहाव रोक्दा आफ्नो गाउँ पनि डुबान पर्ने रूपन्देही जिल्ला समन्वय समितिका उपाध्यक्ष पशुपति यादवले बताउनुभएको छ । भारतले निर्माण गरिरहेको तटबन्ध–सडक रोक्न नेपाल सरकारको तर्फबाट पहल नभएकोमा असन्तुष्टि जनाउँदै जिल्ला समन्वय समितिका उपाध्यक्ष यादवले जिल्ला समन्वय समितिको बैठकमा डुबान परेपछि स्थानीय जनता आफै नदी काट्न जानजानकारी दिनुभयो ।
रूपन्देही जिल्ला समन्वय समितिका अध्यक्ष एकराज विकले भारतले बनाएको तटबन्ध–सडकबारे सरकार गम्भीर हुनुपर्नेमा जोड दिंदै भन्नुभयो, “नेपालको हितमा छैन । नेपाली भूमि डुबानमा पर्ने खतरा छ ।” भारतले बनाएको तटबन्धबाट नेपाली गाउँ र जनता डुबानमा पर्न लागेको केन्द्रमा जानकारी दिए पनि केन्द्रबाट कुनै निर्देशन नआएको स्थानीय सुरक्षा अधिकारीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *