राजनीति, सरकार र सुशासनको नारा
- श्रावण ११, २०८३
हेटौँडा, ३२ जेठ । “हिजैमात्र सङ्घीय संसद्ले एकमतबाट देशको नयाँ नक्साबारे निर्णय लियो । लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि हो । केही दशकदेखि भारतीय विस्तारवादद्वारा अतिक्रमित भूभाग नेपालको नक्सामा समेटिएसँगै जमिन फिर्ताको लागि पनि हाम्रो सङ्घर्ष, हाम्रो एकता र साझा सङ्कल्प आवश्यक छ । नवलपरासीको सुस्तालगायत ७१ भन्दा बढी ठाउँमा भारतीय विस्तारवादले अतिक्रमण गरेको ६० हजार हेक्टरभन्दा बढी नेपाली भूभाग फिर्ता नभएसम्म हाम्रो सङ्घर्ष जारी राख्न आवश्यक छ ।”
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सदस्य सुरेन्द्रराज गोसाईले आइतबार बसेको प्रदेशसभाको विशेष समयमा उक्त भनाइ राख्दै उहाँले अगाडि भन्नुभयो,“नेपाली भूभाग कालापानीमा दशकौँदेखि भारतीय फौज ब्यारेक बनाएर बस्दै छ । भारतीय फौज चाँडोभन्दा चाँडो फिर्ता पठाउन नयाँ सङ्घर्ष आवश्यक छ । हाम्रो भूमिमा विदेशी सेना र भारतीय फौज हामीलाई कदापि स्वीकार्य छैन ।”
नेपाल–भारतबीचको खुला सीमा यही स्थितिमा राख्नु नेपाल र नेपालीको हितमा नभएको स्पष्ट पार्दै प्रदेश सदस्य गोसाईँले सीमा नियमन, सीमा बन्द अबको पाइला हुनुपर्ने आवश्यक भएको र देशको स्वतन्त्रता, स्वाधीनता तथा सम्प्रभुता रक्षाको निम्ति त्यो अनिवार्य भएको स्पष्ट पार्नुभयो ।
नेपाल र भारतबीचका सम्पूर्ण असमान सन्धि–सम्झौता खारेजी, अन्तर्राष्ट्रिय कानुनविपरीत बनाइएका बाँध, तटबन्ध भत्काएर हाम्रो तराई, हाम्रो भूभाग जोगाउनु अब हाम्रो दायित्व हुनुपर्ने धारणा राख्दै उहाँले भन्नभयो, “हिजो महाकाली सन्धिको क्रममा जे–जस्तो देशघात नेपाली शासकबाट भयो त्यो घाउ नेपाली जनताले अझै बिर्सेका छैनन् । इतिहासमा त्यस्तो कलङ्कको दिन फेरि कहिल्यै नदोहोरियोस्, जनता यही कामना गर्दै छन् ।”
प्रदेश सभा सदस्य गोसाईले भन्नुभयो, “भारतीय शासक वर्ग र त्यसबाट संरक्षित मिडिया नेपाल र नेपाली जनताको अपमान गर्दै छन् । आफैँ संरा अमेरिकी साम्राज्यवादको उक्साइमा परेको भारतीय विस्तारवादले नेपाललाई दोष दिनु या अरू कसैप्रति शङ्का गर्नु अशोभनीय छ । भारतीय शासक वर्गको उत्तेजनात्मक अभिव्यक्ति, गतिविधि, अपमान, हेपाहा प्रवृत्तिको हामी घोर भत्र्सना गर्दछौँ । नेपाल र नेपाली जनताको सङ्घर्ष अझै जारी राख्न आवश्यक छ । भारतको विस्तारवादी, एकाधिकारवादी नीतिविरूद्धको सङ्घर्षलाई अझ बलियो तथा व्यापक बनाउन आवश्यक छ ।”
देशघाती एमसीसीविरूद्ध नेपाली जनताको आन्दोलन जारी रहेको चर्चा गर्दै उहाँले एमसीसीको समर्थन गर्नु भनेको देशको स्वतन्त्रता बन्धकमा राख्नु साबित हुने स्पष्ट पार्नुभयो ।
प्रदेश सदस्य गोसाईले भन्नुभयो, “कोरोना सङ्क्रमण फैलिँदो छ । सङ्क्रमितको सङ्ख्या बढ्दो छ । तर, सरकार हात उठाउँदै छ । सरकार भ्रष्टाचारमा लिप्त छ । सरकारको उपस्थिति शून्य छ । सरकारले सङ्क्रमण नियन्त्रण गर्ला भन्नेमा जनताको विश्वास हराइसकेको छ । यो स्थिति कसको कारण आयो ? सङ्क्रमण परीक्षण नगर्ने, ढिलासुस्ती गर्ने, व्यवधान खडा गर्ने कर्मचारी या अधिकारीलाई कारबाही गरेर जनताको स्वास्थ्य रक्षामा शीघ्र ध्यान पु¥याउन जोडदार माग गर्दछौँ ।”
Leave a Reply