भर्खरै :

नाका–नाकामा स्वास्थ्य परीक्षण आवश्यक

लामो समयसम्म लकडाउनको कारण अस्तव्यस्त र उकुसमुकुस भएको जनजीवनलाई सहज बनाउन सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनायो । अहिले पनि स्कूल, कलेज, सिनेमा हल, रेष्टुँरा, कुनै पनि सभा सम्मेलन आदिमा लकडाउन यथावत छ । पसल, व्यापार–व्यवसाय, उद्योग, सरकारी कार्यालय खोलेपछि सहर–बजार तथा गाउँ–ठाउँमा जनताको चहलपहल बढ्यो, उपत्यकाबाट आ–आफ्नो गाउँ–ठाउँ पुगेका नेपालीहरू फेरि काठमाडौँ उपत्यका छिरेका छन् । सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, साँखुका नागरिकहरू आफ्नो व्यापार–व्यवसाय गर्न पसल खोल्न र कार्यालय जान काठमाडौँ छिरेका छन् ।
हरेक दिन एकपछि अर्को कोरोना पीडितहरूको सङ्ख्या वृद्धि भइरहेको बेला जिल्ला बाहिरबाट छिरेका नागरिकहरूको अधिक सङ्ख्याले कोरोना भाइरस भयावह हुने हो कि भन्ने शङ्का गर्नु अन्यथा होइन । विदेशबाट नेपाल पसेका नेपालीहरूको स्वास्थ्य परीक्षण नगरेकै कारण नेपालीहरूमा कोरोना भाइरसले छोएको हो । कोरोना रोगीहरूको सङ्ख्या न्यूनीकरण गर्न या फैलाउन नदिन सरकारले नाका–नाकामा स्वास्थ्य परीक्षण गर्नुपर्छ । पसल, उद्योग, व्यापार–व्यवसाय र उद्योगधन्दा खोल्नुपर्छ, आ–आफ्नो जोहो गर्नुपर्छ । भोकै मर्नु पनि भएन । जनजीवनलाई सहज बनाउन लकडाउन खुकुलो गरेझैँ स्वास्थ्य परीक्षणको क्षेत्र बढाउनुपर्छ । पीसीआरको परीक्षण गर्नुपर्छ । काठमाडौँ प्रवेश गर्न स्थानीय निकायको सिफारिसमा निवेदन लिँदैमा समस्या समाधान हुने होइन । सामाजिक दुरीको ख्याल गरिएन भने एकजना रोगीको कारण बस्ती नै रोगको शिकार हुनपुग्छ ।
त्यसो त कुनै व्यक्ति कुनै गाउँ–ठाउँबाट काठमाडौँ छिर्नेबित्तिकै रोग बोकेर ल्याउँछ भन्ने होइन । रोग लाग्यो भने अरूमात्र होइन आफूलाई पनि मर्का पर्छ । आफ्नो परिवारलाई समस्या पर्छ । यसबारे हरेक नागरिक सचेत हुनुपर्छ । हरबेला सामाजिक दुरी बढाउनुपर्छ । मास्क प्रयोग गरिनुपर्छ । बरोबर साबुन–पानीले हात धुनुपर्छ । कोरोनाको लक्षण देख्नेबित्तिकै स्वास्थ्य केन्द्र या अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुपर्छ । यस कार्यमा सतर्कता अपनाइयो भने कोरोना रोग फैलिने छैन । यसको रोकथामको राम्रो उपाय भनेको नाका–नाकामा स्वास्थ्य परीक्षण गर्नु नै हो । यसमा सरकारको ध्यान जानुपर्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *