भर्खरै :

पूर्व सहमति उल्लङ्घन गर्दा गलवन झडप

पेइचिङ, ३ असार । चिनियाँ जनमुक्ति सेना (पीएलए) पश्चिम क्षेत्र कमान्डका प्रवक्ता वरिष्ठ कर्णेल चाङ स्युलीले भारतीय सेनाले चीनलाई दिएको वचन तोडेर गलवन उपत्यकामा दुई देशको सि=माना (लाइन अफ एक्चुएल कन्ट्रोल) नाघेकोले सोमबारको दुःखद घटना भएको बताउनुभएको छ ।
उहाँले दुई देशबीच भएको सहमतिमा भारतीय सीमा रक्षा बलको धारणा अस्थिर रहेको र दुवै देशका सैन्य कमान्डर तहमा गरिएको सहमतिको भारतीय पक्षबाट उल्लङ्घन भएको बताउनुभयो ।
चिनियाँ विज्ञहरूले गएको सोमबार गलवन उपत्यकामा चीन र भारतका सीमा सुरक्षा सेनाबीच भएको घातक भौतिक द्वन्द्व दसकौँ यता दुई देशबीचको सीमामा भएको सबभन्दा गम्भीर अवस्था भएको टिप्पणी गरेका छन् ।
चिनियाँ पक्षले सैनिक र कूटनीतिक तहमा संवाद जारी नै रहेको अवस्थामा भारतीय सीमा सुरक्षा बलले सीमा नाघेर चीन पस्न खोज्दा झडप भएको बताएको छ । भारतीय पक्षले चिनियाँहरूलाई उत्तेजित बनाउन अवैध गतिविधि गरेको चिनियाँ पक्षको भनाइ छ ।
यसअघि सन् २०१७ मा पनि दुई देशबीच डोक्लाम क्षेत्रमा ७२ दिनसम्म तनाव भएको थियो । तथापि त्यत्तिबेला दुवै पक्षबाट कुनै मानवीय क्षति भएको थिएन । सोमबारको झडपमा भने दुवै पक्षमा मानवीय क्षति भएको बताइएको छ । भारतीय सेनाले आफ्नो तर्फबाट कम्तीमा २० जना सैनिकहरू मारिएको जनाएको छ । चिनियाँ पक्षले भने आफ्नो पक्षबाट के–कति क्षति भएको हो, खुलाएको छैन । चीनले तनाव थप नबढाउन सङ्ख्या सार्वजनिक नगरेको बताएको छ ।
पेइचिङको सिङह्वा विश्वविद्यालयअन्तर्गत राष्ट्रिय सुरक्षा प्रतिष्ठान अनुसन्धान विभागका निर्देशक छियान फेङले सैनिक रमन (पट्रोल) को क्रममा सोमबारको घटना भएको, दुवै पक्षबाट क्षति भएको र चार दसकयता चीन र भारतले सिमानाको विषयमा सामना गरेको सबभन्दा गम्भीर अवस्था भएको बताउनुभयो । उहाँले सोमबारको घटनाले यसअघि दुई देशबीच सिमाना विवादबारे भएका प्रयास सबै निरर्थक हुनसक्ने बताउनुभयो ।
उहाँले भारतीय सेनाले दुईपटक सिमाना नाघेपछि चिनियाँ पक्षबाट प्रतिरोध गरेको बताउनुभयो ।
चिनियाँ सेनासम्बन्धी विज्ञ सोङ झोङपिङले भारतीय सेनाले निकै अघिबाट योजना बनाएर गरिएको उत्तेजनापूर्ण सैनिक गतिविधिको परिणामस्वरूप सोमबारको भिडन्त भएको बताउनुभयो । भारतीयहरू यसअघिका सैनिक आमनेसामने (स्ट्यान्डअफ) बाट सन्तुष्ट नभएको बताए ।
“उनीहरू चिनियाँ भूमिमा प्रवेश गरे, चिनियाँ सेनासँग भौतिक द्वन्द्व गर्न खोजे र तनाव बढाउने हेतुले नै चिनियाँ भूमिमा भौतिक पूर्वाधार निर्माण गरे”, सोङले भन्नुभयो ।
चिनियाँ विज्ञहरूले यसअघि चिनियाँ सेनासँग भएको घम्साघम्सीमा भारतीय पक्षले आफू जितेको ठानेको र त्यसकारण फेरि हमला गर्न उत्साहित भएको बताए । भारतीय पक्षबाट आएका सिपाहींहरू तल्लो दर्जाको भएको र उनीहरूले चिनियाँ पक्षमाथि गरेको उत्तेजनात्मक गतिविधिबारे माथिल्लो तहलाई थाहा नभएको हुनसक्ने उनीहरूको भनाइ छ ।
भारतलाई आफ्नो सीमा बलको उचित व्यवस्था गर्न चुनौतीपूर्ण हुनसक्ने चिनियाँ विज्ञहरूको भनाइ छ ।
यसअघि दुवै देशका सैनिक अधिकारीबीच आपसी तनाव कम गर्न भएको सहमतिमा दुवै पक्षले कुनै हातहतियार नबोक्ने उल्लेख भएकोले सोमबारको भिडन्तमा कुनै हतियार प्रयोग नभएको चिनियाँ समाचार स्रोतले जनाएको छ ।
यसैबीच भारतीय पक्षबाट सीमा क्षेत्रमा कुनै पनि बेला थप हमला हुनसक्ने अवस्थालाई ध्यानमा राखी चीनले आवश्यक तयारी थालेको स्रोतले बताएको छ । सोमबारको घटनालगत्तै भारतमा चीनको विरोधमा आक्रामक प्रचारबाजी भएको छ । यसले तनाव थप बढाउन सक्नेमा चिनियाँ पक्ष सजग रहेको बताइएको छ ।
सीमा विवाद बढ्दै गएसँगै चिनियाँ जनमुक्ति सेनाले चीनको उत्तरपश्चिम र दक्षिण पश्चिम पठार क्षेत्रमा विभिन्न सैनिक अभ्यास थालेको चिनियाँ समाचारस्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *