भर्खरै :

प्राध्यापक डा. झाको बिदाइ

भक्तपुर, ५ असार । ख्वप इन्जिनियरिङ कलेजमा सेवारत प्रा.डा. जटाधर झाको उमेर हदका कारण अनिवार्य अवकास भएकोले बिहीबार उहाँको बिदाइ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले कुनै पनि व्यक्ति अवकाशभन्दा उहाँको उहाँको योगदान महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “प्राध्यापक झा उमेरले रिटायर्ड भए पनि ज्ञान, जोश र अनुभवले उहाँ एक युवा हुनुहुन्छ ।”
कलेज तथा शैक्षिक संस्थाको प्रगति कार्यरत प्राध्यापक र कर्मचारीहरूको हातमा हुने चर्चा गर्दै प्रमुख प्रजापतिले ख्वप इन्जिनियरिङ कलेजमा जोश र जाँगर भएका नयाँ पुस्ताका प्राध्यापक तथा कर्मचारीहरू हुनु सकारात्मक रहेको बताउनुभयो । पुराना पुस्ताको अनुभवलाई नयाँ पुस्ताले आत्मसात गरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “जीवनमा भोगेका उकाली ओरालीहरू नयाँ पुस्तालाई जानकारी दिनु आवश्यक छ । अध्ययन अनुसन्धानमा जोड दिई  कलेजले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरकोे कार्यशाला गोष्ठीलाई निरन्तरता दिनुपर्छ ।”
भक्तपुर नगरपालिकाका उपमेयर एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले जटाधर झा सरको कलेजमा पुर्‍याउनुभएको योगदानबारे चर्चा गर्दै अवकाशपछि पनि कलेजका लागि सहयोग गर्ने आशा व्यक्त गर्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले प्रा. झाले कलेजमा सेवारत रहँदा एक कुशल अभिभावकको भूमिका निभाउनुभएकोमा उहाँप्रति आभार व्यक्त गर्दै कलेजको शैक्षिक तथा अनुसन्धानात्मक कार्यमा झा सरको सराहनीय योगदान भएको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवाल झा सरबाट सबैले कसरी आफूलाई रचनात्मक बनाउने भन्ने कुरा सिक्नसक्ने बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले दोसल्ला ओढाइ सम्मान गर्नुका साथै कदर पत्र पनि प्रदान गर्नुभयो । कार्यक्रममा कलेजका उपप्राचार्यद्वय ई. रवीन्द्र फोजू र ई. रत्नशोभा प्रजापति, डा. मञ्जीप शाक्य, सिद्धिराम सुवाल र राजन जतिले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रा.डा. जटाधर झा सरले आफ्नो जीवनमा भोगेका विभिन्न आरोह अवरोहबारे जानकारी दिँदै कलेज सेवाको अनुभवहरूबारे बताउनुभयो ।
प्रा.डा. झा ख्वप इन्जिनियरिङ कलेजमा २०६८ साउन १ गतेदेखि पूर्णकालीन प्राध्यापक भई कलेजमा सेवारत रहनु भई असार ५ गते उमेर हदका कारण अनिवार्य अवकास पाउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *