भर्खरै :

वर्षकै लामो दिनमा दुर्लभ सूर्यग्रहण

काठमाडौँ, ७ असार । असार ७ गते (सन् २०२० जून २१), आषाढ शुक्ल औँशी आइतबार नेपाललगायत विश्वका विभिन्न देशहरूबाट सूर्यग्रहण देखियो । सूर्य र आ–आफ्नो कक्षमा परिक्रमा गरिरहेका पृथ्वी र चन्द्रमा एउटै सीधारेखामा परी चन्द्रमाको छायाँ पृथ्वीमा पर्ने र छायाँ परेको स्थानबाट हेर्दा सूर्यलाई केही समय चन्द्रमाले छेकेको देखिने अवस्थालाई सूर्यग्रहण भन्ने गरिन्छ । हिजोको ग्रहण उत्कर्षमा चन्द्रमाले सूर्यको मध्तग ढाकेर सूर्य औँठीजस्तो देखिने ‘वलय सूर्यग्रहण’ भए पनि नेपालबाट भने सूर्यको केही भागमात्र ढाकिएको खण्डग्रास देखिएको थियो । अफ्रिका, एसिया र पूर्वी युरोपका गरी १४ देशहरूबाट ग्रहण देख्न सकिने भए पनि वलय सूर्यग्रहण भने मध्य अफ्रिका, दक्षिण मध्यपूर्व र उत्तरी भारत र दक्षिण चीनका थौरै स्थानबाट मात्र देखिएको थियो । नेपालमा स्थानीय समयअनुसार बिहानको १०ः५३ बाट सुरु भएर दिनको २ः२४ मा अन्त्य भएको खण्डग्रास ग्रहणको उत्कर्ष दिउँसोको १२ः४१मा भएको थियो । नेपालबाट सूर्यको लगभग ८८ प्रतिशत ढाकिएको देखिए पनि ग्रहण उत्कर्षमा पुग्ने बेला काठमाडौँका धेरै स्थानमा बदली भएको थियो । वर्षकै सबैभन्दा लामो दिन २१ जूनका दिन परेको यो वलय सूर्यग्रहण दुर्लभ मानिन्छ । नेपालका भूभागबाट अब अर्को सूर्यग्रहण २०७९ कार्तिक ८ गते (२०२२ अक्टोबर २५) मङ्गलबारका दिन देखिनेछ ।
ग्रहण कसरी लाग्छ ?
सूर्यलाई पृथ्वीले जसरी आफ्नो निर्दिष्ट कक्षमा रहेर परिक्रमा गर्छ, चन्द्रमाले पनि उसैगरी निर्दिष्ट कक्षमा पृथ्वीलाई परिक्रमा गरिरहेको हुन्छ । पृथ्वीले सूर्यलाई एकचोटि परिक्रमा गर्न ३६५ दिन लगाउँछ भने चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न २८ दिन । यसरी हरेक २८ दिनमा औँशीका दिन पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आउने गर्दछ र पूर्णिमाका बेला चन्द्रमा र सूर्यका बीचमा पृथ्वी आउने गर्दछ । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाको छायाँ पृथ्वीमा परी सूर्यलाई ढाक्ने अवस्था नै सूर्यग्रहण हो । तर पृथ्वीको कक्ष र चन्द्रमाको कक्ष एकअर्कासँग समानान्तर नभई निश्चित कोणमा ढल्किएको कारणले गर्दा चन्द्रमाको छायाँ सधैँ पृथ्वीमा पर्दैन र प्रत्येक औँशीमा सूर्यग्रहण लाग्दैन । उसैगरी पूर्णिमाका बेला पृथ्वीको छायाँ चन्द्रमामा परी चन्द्रग्रहण लाग्ने गर्दछ, तर कक्षको ढल्काइले गर्दा नै प्रत्येक पूर्णिमामा चन्द्रग्रहण लाग्दैन । यिनै कारणहरूले गर्दा सूर्यग्रहणको दुई हप्ता अघि वा पछि (अघिल्लो वा पछिल्लो पूर्णिमामा) चन्द्रग्रहण लाग्ने गर्छ । तर सो चन्द्रग्रहण सूर्यग्रहण देखिएकै स्थानहरूबाट देखिनुपर्छ भन्ने जरुरी छैन । उदाहरणका लागि हिजोको सूर्यग्रहणभन्दा दुई हप्ताअगाडि जेठ २३ गते र दुई हप्तापछि असार २१ गते चन्द्रग्रहण पर्दछ ।
सूर्यग्रहणको बेला चन्द्रमाका छायाँले सूर्यलाई कति ढाकेको छ त्यस अनुसार ग्रहणलाई खग्रास, खण्डग्रास, र वलय ग्रहण भनी नामकरण गरिन्छ । चन्द्रमा सबैभन्दा घनीभूत छायाँ परेर पूरै सूर्य ढाकिने स्थानहरूबाट खग्रास ग्रहण देखिन्छ भने ती क्षेत्रका उत्तर र दक्षिणी क्षेत्रहरूबाट सूर्यको केही खण्डमा ढाकिने कारणले गर्दा ती स्थानहरूबाट खण्डग्रास ग्रहण देखिन्छ । ग्रहणको उत्कर्षमा चन्द्रमाले सूर्यलाई पुरै नढाकी सूर्य औँठीजस्तो देखिए त्यसलाई वलय ग्रहण भनिन्छ ।
सूर्यग्रहणको समय वैज्ञानिकहरूका लागि सू्र्यको अध्ययन गर्ने सुवर्ण अवसर हो । सामान्य अवस्थामा सूर्यको तेजले अध्ययन गर्न नसकिने कुराहरूजस्तै सूर्यको वरिपरिको घेरा (कोरोना) को अध्ययन ग्रहणका बेला सजिलोसँग गर्न सकिन्छ । परापूर्वकालमा ग्रीक, रोमन र हाम्रै पूर्वीय सभ्यतामा पनि ग्रहणको अध्ययनले पृथ्वी, सूर्य र चन्द्रमा र पात्रोको अध्ययन गर्न सजिलो भएको इतिहास पाइन्छ ।
ग्रहणको बेला के गर्नु हुन्छ, के हुँदैन ?
ग्रहणको बेला गर्न हुने, नहुने भनेर धेरै कुरा कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालका माध्यमबाट सुन्नमा आउँछ । यसमा केही कुरा व्यवहारिक छन्, केही अवैज्ञानिक र केही अन्धविश्वास । ग्रहण लागेको बेला सूर्यलाई नाङ्गो आँखाले हेर्न हुँदैन । वास्तवमा सूर्यलाई कुनै पनि बेला नाङ्गो आँखाले हेर्न हुँदैन । सूर्यको तेज प्रकाशलाई सीधा हेर्दा हाम्रो आँखाको नानीमा खराबी आउनेदेखि आँखा ज्योतिसमेत गुम्नसक्छ । तसर्थ ग्रहणको बेला सूर्यको प्रकाशमा केही कमी हुने भए पनि सीधा नाङ्गो आँखाले सूर्यतिर हेर्नु बुद्धिमत्ता मान्न सकिन्न । ग्रहणको बेला सूर्यका विकिरण पृथ्वीसम्म आइपुग्ने र सो समयमा खानेकुरा खान नहुने, बाहिर निस्कन नहुने, गर्भवती महिलाले पेट छुन नहुने भन्नेमा कुनै वैज्ञानिक आधार भेटिँदैन । सूर्यग्रहण नभएको अवस्थामा पनि सूर्यबाट विकिरणहरू पृथ्वीमा आई नै रहेको हुन्छ । चन्द्रमाको छायाँ पृथ्वीमा पर्ने अवस्थाले ग्रहण हुने हुँदा कोठामा बत्तीको छायाँ परेको ठाउँमा बस्नु र उज्यालो ठाउँमा बस्नुमा फरक नभएजस्तै मात्र हो । ग्रहणको बेला सूर्यमा कुनै परिवर्तन नआउने कारणले पृथ्वीमा विकिरण बढी आउने भन्नेमा कुनै तुक छैन । त्यसैगरी ग्रहणको बेला कुनै रसायनिक परिवर्तन नहुने कारणले गर्दा खानामा केही परिवर्तन आउने, अपच हुने भन्ने कुरामा पनि वैज्ञानिक आधार भेटिँदैन । समुद्रकिनाराका क्षेत्रहरूमा ग्रहणका बेला ज्वारभाटा आउने कुराहरू भए पनि एउटा कुरा के बुझ्नु जरुरी छ भने चन्द्रमाको गुरुत्वाकर्षणका कारण हरेक पूर्णिमा र औँशीमा समुद्रमा ज्वारभाटाहरू आउने गर्छ न कि ग्रहणको बेलामात्र ।
तसर्थ ग्रहणलाई एक असामान्य र अशुभ समयका रूपमा नभई सामान्य खगोलीय अवस्थाको रूपमा अङ्गीकार गर्नु आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *