भर्खरै :

१५ वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिनुपर्ने

काठमाडौँ, ७ असार । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले आमा र बुबा दुवै वंशजको नेपाली नागरिक भएमात्र छोरा–छोरीलाई वंशजको नेपाली नागरिकता दिनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा फरक मत राख्दै सचिव सुवालले हाल प्रस्तुत नागरिकता विधेयक धमिजा काण्ड र सुडान घोटाला घटनासित सम्बन्धित भएको विचार व्यक्त गर्नुभयो ।
नेपाली नागरिकता बस र सिनेमा हलको टिकट जस्तै वितरण गर्न नहुने उल्लेख गर्दै उहाँले नेपाली पुरूषसँग विवाह गरेका विदेशी महिलालाई १५ वर्षपछि मात्र नेपाली अङ्गीकृत नागरिकता दिनुपर्छ भन्नुभयो ।
निर्वाचनमा भाग लिन, मनोनीत हुन र प्रशासनिक क्षेत्रमा संलग्न हुन वंशजको नेपाली नागरिक हुनुपर्ने प्रावधान आवश्यक भएको औँल्याउँदै सांसद सुवालले भन्नुभयो, “महाकाली सन्धिझैँ नागरिकता विधेयक पनि देशघाती हुनेछ । देशघाती नागरिकता विधेयक पारित गर्ने सांसदहरू जनताको कठघरामा उभ्याइनेछन् ।”
यसरी नै जनता समाजवादी पार्टी र नेकाका सांसदहरूले पनि फरक मत राख्नुभएको थियो । उहाँहरूले नेपाली पुरूषसँग विदेशी महिलाले बिहे गरेलगत्तै नेपाली अङ्गीकृत नागरिकता दिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली पुरूषसँग विदेशी महिलासँग बिहे भएको सात वर्षपछि नेपाली अङ्गीकृत नागरिकता दिनुपर्ने प्रस्ताव बहुमतले पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *