यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण जोखिमको कारण २०७६ सालको एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेर पनि पूर्वसन्ध्यामा स्थगित भयो । तत्पश्चात एसईई परीक्षा हुने नहुने अन्योलको बीचमा करिब ३ महिनापछि मन्त्रिपरिषद्को गत जेठ २८ गतेको बैठकले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा
(एसईई) नगर्ने र विद्यालयबाटै मूल्याङ्कन गरेर राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने निर्णय गरेको थियो । यसबीच सो विषयमाथि छलफल सुरु भएको छ । छलफल आवश्यक पनि छ । विचार मन्थन हुनैपर्छ, त्यसबाट राम्रो निष्कर्षमा पुग्न सकिन्छ । किनकि यस वर्ष चार लाख बयासी हजार सात सय सात जना विद्यार्थीको भविष्य विद्यालयको आन्तरिक मूल्याङ्कनबाट तय गरिँदै छ । आन्तरिक मूल्याङ्कनको आधारमा ग्रेडसीट प्रमाणपत्र वितरण गरिंदै छ । त्यसका लागि आन्तरिक मूल्याङ्कनको कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालको संयोजकत्वमा कार्यदल बनाइएको छ । आशा छ, कार्यविधि चाँडो आउनेछ र कार्यविधिले व्यवहारिकतामा जोड दिएको हुनेछ ।
यस्तो विषम परिस्थितिमा वैकल्पिक खालको मूल्याङ्कन पद्धतिमा आन्तरिक मूल्याङ्कनलाई चयन गर्नु उपयुक्त छ । आन्तरिक मूल्याङ्कनको प्रमुख भूमिकामा प्रत्यक्ष संलग्न रहेका विषयगत शिक्षकहरू, विद्यालय प्रशासन र प्रधानाध्यापक नै रहनेछन् । त्यसैले आन्तरिक मूल्याङ्कन प्रणालीलाई कार्यान्वयन गर्दा वैज्ञानिक तवरले व्यवहारिकतामा आधारित भएर गर्नु आवश्यक छ ।
नेपालको शैक्षिक इतिहासमा एसएलसीको सुरूवात १९९१ मा भयो भने २०७२ सालमा अन्त्य भयो । शैक्षिक प्रणाली परिवर्तनशील हुन्छ, सोहीअनुरूप विद्यार्थी मूल्याङ्कन, प्रमाणीकरणमा सान्दर्भिकता, पारदर्शिता, वस्तुनिष्ठता र विश्वसनीयता कायम गर्न २०७१ सालमै प्राविधिक विषयतर्फ र २०७२ सालदेखि साधारण विषयतर्फ पनि अक्षराङ्कन पद्धति (लेटर ग्रेडिङ सिस्टम) लागू गरियो । यसको उद्देश्य विद्यार्थीलाई परीक्षामुखीभन्दा व्यवहारमुखी बनाउनु हो ।
यसबीच अभिभावक, विद्यार्थी तथा शिक्षक, विद्यालय सञ्चालकहरूलगायत शिक्षासँग सरोकार राख्ने सबैको ध्यान आकृष्ट गरेको छ, ‘आन्तरिक मूल्याङ्कन’ को विषयले । यो सम्बन्धमा अधिकांश सरोकारवालाहरू अन्योलमै रहेको देखिन्छ । यसैले पनि ‘कुन परीक्षालाई आन्तरिक परीक्षा मान्ने ? कसरी आन्तरिक मूल्याङ्कन गर्ने ?’ जस्ता प्रश्नहरू सतहमा आएका छन् । सरकारले वर्षौँ अगाडि नै सेन्ट अप परीक्षा खारेज गरेको थियो । विद्यालयहरूले आ–आफ्नो अनुकूलतामा एसईई तयारी परीक्षा भनेर पहिलेकै सेन्ट अप परीक्षालाई नाममात्रै परिवर्तन गरेर भए पनि हालसम्म सञ्चालन गरिरहेका छन् ।
जुनसुकै कार्यको सही मूल्याङ्कन आवश्यक हुन्छ । जहाँसम्म शिक्षाक्षेत्रको कुरो छ, यस क्षेत्रमा त मूल्याङ्कनबिना प्रमाणपत्र दिन सकिन्न । अहिलेको सन्दर्भमा परीक्षा नगर्ने विकल्पको रूपमा आन्तरिक मूल्याङ्कनलाई अघि सारेकोले मूल्याङ्कन गर्दा ४ वटा पक्षलाई ध्यान दिनुपर्ने देखिन्छ ।
१. आन्तरिक परीक्षाहरूको ल्याकत
कक्षा १० का विद्यार्थीहरूको वर्षभरिको आन्तरिक परीक्षाको अङ्क जोडेर आन्तरिक मूल्याङ्कन गर्न सकिनेछ । जस्तै, प्रथम र द्वितीय त्रैमासिक परीक्षाको २० र २० र एसईई तयारी परीक्षाको ६० को योगफलको आधार मानेर मूल्याङ्कन गर्न सकिन्छ ।
२. निरन्तर मूल्याङ्कन पद्धति
विद्यार्थीको वैयक्तिक विवरण विद्यालय रेकर्डमा हुँने हुँदा त्यस्ता हरेक व्यक्तिगत प्रोफाईलबाट एक वर्ष भरीको प्रत्येक विद्यार्थीको व्यवहारदेखि विषयगतसम्मको सिकाइ उपलब्धिलाई मूल्याङ्कनको आधार मान्न सकिन्छ ।
३. एसईई तयारी परीक्षा (साविकको टेस्ट तथा सेन्टअप)
सरकारले टेस्ट परीक्षा अर्थात् साविकको सेन्ट अप परीक्षा खारेज गरे पनि विद्यालयले आ–आफ्नो क्षमता अनुकूलतामा त्यस्ता परीक्षाहरू सञ्चालन गरिरहेको कुरा कतैबाट लुकेको छैन । जसलाई एसईई तयारी परीक्षा भनिएको छ । जुन परीक्षालाई तुलनात्मकरूपमा एसईईमा सोधिने प्रश्नहरूभन्दा अलि कठिन बनाएकै हुन्छ । एसईईमा राम्रो ग्रेड ल्याउन सघाओस् भन्ने उद्देश्य राखिएको हुन्छ । यसको आधारमा आन्तरिक मूल्याङ्कन गर्न सकिन्छ ।
४. विगतको नतिजा विश्लेषण
विद्यालयको विगतका कम्तीमा १ देखि ३ वटासम्म शैक्षिक वर्षको एसईई नतिजा र एसईई तयारी परीक्षा (साविक सेन्ट अप) को नतिजालाई तुलना गरेर विद्यालयले आफ्नो स्तर निर्धारण गरी यसको आधारमा यस वर्षको नतिजाको स्तरीकरण गर्न सकिन्छ । औसतमा नतिजालाई विश्लेषण गर्ने हो भने एसईई तयारी परीक्षाको नतिजामा भन्दा एसईईको नतिजामा प्रायः विद्यार्थीको औसत अङ्कमा करिब ६ देखि १० प्रतिशत अङ्कले वृद्धि भएको पाउन सकिन्छ । यसलाई पनि आन्तरिक मूल्याङ्कनको एउटा आधारको रूपमा लिन सकिन्छ ।
माथि उल्लेखित ४ वटा पक्षहरूको आधारमा आन्तरिक मूल्याङ्कन गर्दा निम्नानुसारका कुराहरूमा ध्यान दिनुपर्ने देखिन्छ ।
१. नियमित आन्तरिक परीक्षा सञ्चालन भएको र ती परीक्षाको ल्याकत राखिएको हुनुपर्ने ।
२. निरन्तर मूल्याङ्कन प्रणालीका आधारभूत नियम पालना भएको र विद्यार्थीहरूको व्यक्तिगत प्रोफाइल नियमितरूपमा अपडेट भएको हुनुपर्ने । शैक्षिकदेखि विद्यार्थीको व्यवहार परिवर्तनसम्मका सबै विषयको अभिलेखीकरण हुनुपर्ने ।
३. सेन्ट अप वा एसईई परीक्षा सञ्चालन गरेको हुनुपर्ने र त्यसको ल्याकत राखिएको हुनुपर्ने ।
आन्तरिक मूल्याङ्कनमा शिक्षक तथा विद्यालय
विद्यार्थीहरूको वैयक्तिक भिन्नता हुने भएकोले विद्यार्थीहरूको ज्ञान, सीप र धारणा राख्ने तथा सिकाइ क्षमता तथा दक्षतामा पनि भिन्नता आउनु स्वाभाविक हो । विद्यालय वा शिक्षकहरूले आ–आफ्नो विद्यार्थीलाई अङ्क प्रदान गर्दा उनीहरूको क्षमतालाई ध्यानमा राख्नुपर्छ । ताकि भविष्यमा त्यही शिक्षकको मूल्याङ्कनबाट प्राप्त अङ्कले उच्च मनोबलका साथ एउटा असल, योग्य र सक्षम नागरिकको रूपमा जिन्दगी जिउन सकून् । न कि त्यही अङ्क बोझ बनेर अयोग्य, अदक्ष नागरिक हुन परोस् ।
शिक्षक तथा विद्यालयलाई आ–आफ्नो विषयगत तथा विद्यालयको स्तर थाहा हुनुपर्छ । त्यही स्तरलाई आधार मानेर मूल्याङ्कन गर्दा उचित हुने देखिन्छ । यहाँ आन्तरिक मूल्याङ्कन भन्नासाथ शिक्षकको गोजीमा अङ्क हुन्छ भन्ने परम्परागत मान्यता अझै व्याप्त छ । त्यसैले प्रत्येक विषय शिक्षकहरूलाई यो मूल्याङ्कनमा अनिवार्य सहभागी गराउन आवश्यक छ । शिक्षकहरू स्वयम् पनि आन्तरिक मूल्याङ्कन गर्ने विषयमा चनाखो हुनैपर्छ । यस्तो मूल्याङ्कनमा नजानिँदो तरिकाले विभेद हुन जानसक्ने खतरा हुन्छ । सकेसम्म यस्तो विभेदलाई हुनै नदिने र भइहाले पनि न्यून होस् भन्नेमा सचेत हुनुपर्छ । यसका लागि प्रत्येक विद्यार्थीलाई निरन्तर मूल्याङ्कनको दायरामा ल्याएर कक्षागत हाजिरी, कक्षाकार्य, अतिरिक्त क्रियाकलाप, गृहकार्य, अनुशासन, कक्षा प्रस्तुतीकरण, विद्यार्थीको सक्रियता तथा आन्तरिक परीक्षाका नतिजाहरू जस्ता पक्षलाई विश्लेषण गरी अङ्क प्रदान गर्ने स्पष्ट आधार तयार गर्नुपर्छ । यसले मूल्याङ्कन गर्न सहजता प्रदान गर्छ ।
नेपालमा शिक्षालाई संस्थागत तथा सामुदायिक विद्यालय शिक्षामा वर्गीकरण गरेको छ । विषयगत प्रयोगात्मक परीक्षालाई जसरी औपचारिकतामा सीमित गरेर अङ्क प्रदान गर्ने परम्परागत प्रणाली स्थापित भइरहेको छ । त्यसरी नै एसईईको आन्तरिक मूल्याङ्कनलाई औपचारिकतामा सीमित गर्नु विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नुहुनेछ । अर्कोतर्फ आफ्नो विद्यालयको स्तरलाई बढाउने हेतुले आन्तरिक मूल्याङ्कनमा अनावश्यक चलखेल गर्नु विद्यालय व्यवस्थापनलाई पनि नैतिकताले दिँदैन । यसो हुन गए आन्तरिक मूल्याङ्कन प्रणाली प्रभावित भई गलत मूल्याङ्कनको शिकार मिहेनती, जेहेनदार बालबालिकाहरू हुनेछन् । त्यसैले विद्यालय तथा शिक्षकहरू स्वच्छ मूल्याङ्कनको लागि हरदम प्रयासरत हुनुपर्छ ।
आन्तरिक मूल्याङ्कनमा विद्यार्थी र अभिभावक
सिकाइले व्यवहारमा सकारात्मक परिवर्तन गराउँछ । मूल्याङ्कनले व्यवहार परिवर्तनको मापन गर्छ । उच्च आकाङ्क्षा राख्नु मानवीय स्वभाव हो । हरेक अभिभावकले आ–आफ्ना नानीहरूको राम्रो भविष्यको लागि उच्च ग्रेडको अपेक्षा गर्नु न्यायोचित छ । विद्यार्थीहरूले पनि आफूले उत्कृष्ट अङ्क पाओस् भन्ने आशा गर्नु स्वाभाभिक नै हो । तर, यस्तो भनिरहँदा अभिभावकहले पनि आफ्नो नानीहरूको क्षमतालाई बिर्सेर आन्तरिक मूल्याङ्कनलाई प्रभावित हुने गरी शिक्षक तथा विद्यालयलाई दबाब दिनु हुन्न । कतिपय अभिभावकहरूले विद्यालय विकास कोष, आर्थिक तथा भौतिक सहयोगका नाउँमा आन्तरिक मूल्याङ्कन प्रणालीलाई कमजोर बनाउने प्रयास गर्छन् । त्यसैले हरेक विद्यार्थीले आ–आफ्नो विद्यालयको आन्तरिक परीक्षाहरू प्रथम,द्वितीय तथा एसईई तयारी परीक्षाको नतिजाको विश्लेषणबाट एउटा निचोड निकाल्ने प्रयास गर्नुपर्छ जसले गर्दा शिक्षकहरूबाट गरिने आन्तरिक मूल्याङ्न पनि विश्वसनीय हुनपुग्छ । यस कुराको लागि शिक्षक, विद्यार्थी तथा विद्यालय तीनै पक्षले इमानदारिता देखाउनैपर्छ ।
शिक्षा जीवन जिउने आधार भएकोले अभिभावकले बालबालिकालाई परीक्षाका लागि मात्रै नभई जीवन जिउनको लागि तयार गर्ने सोच बनाई आन्तरिक मूल्याङ्कनलाई दबाबरहित बनाउन आवश्यक छ । यदि यस्तो दबाबरहित मूल्याङ्कन हुनसकेमा एसईईको नतिजा हालसम्मकै उत्कृष्ट हुने निश्चित छ । अक्षराङ्कन पद्धतिले यथोचित न्याय पाएको हुनेछ । जसको परिणाम केही समयपछि आ–आफ्नो बालबालिकाको व्यवहारले बताउनेछ ।
कोरोना भाइरसको बिगबिगी भए पनि बालबालिकाहरूले परीक्षा नै भइदिएहुन्थ्यो भनिरहेको अवस्था छ । भविष्यमा उनीहरूलाई ‘एसईई २०७६ ब्याच’ नभनी ‘कोरोना ब्याच’ भनी सम्बोधन हुनेमा चिन्ता छ । कतिपय अब्बल विद्यार्थीहरू परीक्षा नलिने निर्णय भएपछि निराश बनेका छन् । आन्तरिक मूल्याङ्कनबाट प्राप्त हुने शैक्षिक योग्यताका प्रमाणपत्रले भविष्यमा सम्मानजनक स्थान बनाउन सक्लान् कि नसक्लान् भन्ने कुरामा उनीहरू चिन्तित छन् । यस्तो चिन्ता निवारण र गलत सम्बोधनको शिकार नहोेस् भन्नका लागि सबै शिक्षक, विद्यालय प्रशासन, अभिभावक तथा शिक्षासँग सरोकार राख्ने सम्बन्धित सबै निकायले सकारात्मक भूमिका खेल्न जरुरी छ । स्वच्छ, पारदर्शी र निष्पक्ष आन्तरिक मूल्याङ्कनको लागि सहयोग गर्नु हामी सबैको नैतिक जिम्मेवारी हो ।
अन्त्यमा
भनिन्छ, चुनौतीलाई अवसरले पछ्याइरहेको हुन्छ । चुनौतीले मानिसलाई परिपक्व बनाउँछ । सन् २०१९ जनवरीमा उहानबाट फैलिएको विश्व महामारी भइरहेको कोभिड–१९ ले पनि मानव जगतलाई विभिन्न आयामबाट पाठ सिक्ने मौका दिएको छ । शैक्षिक जगतलाई पनि वैकल्पिक प्रणालीमा जाने अवसर दिएको छ । एसईई परीक्षाको विकल्प आन्तरिक मूल्याङ्कन भएको हुँदा हामी अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापनले विश्वसनीय र सही मूल्याङ्कन गर्न सहयोग गरौँ ताकि हाम्रा बालबालिकाहरू जिन्दगीको लागि तयार होऊन् । जिन्दगीका हरेक चुनौतीलाई चिरेर अवसर सिर्जना गर्नसक्ने सक्षम, योग्य नागरिक तयार होऊन् ।
भनिन्छ, चुनौतीलाई अवसरले पछ्याइरहेको हुन्छ । चुनौतीले मानिसलाई परिपक्व बनाउँछ ।