भर्खरै :

नेपालमा भोट युद्धको तयारी – ३

यो ‘जाहेरी’ को भाषाबाट गंगाबहादुरको बारेमा पनि केही कुरा थाहा हुन्छ । यसका एकै वाक्यमा पूरा हुने एक एक दफा (प्याराग्राफ) देख्दा नेपालका अड्डाखानामा लेखिने भाषाको सम्झना हुन्छ । त्यसबारे यी व्यक्ति नेपाली अदालतका से्रस्ताका ज्ञाता पूरा रकमी रहेछन् भन्ने बुझिन्छ । त्यसको साथै संस्कृतिमा पनि यिनको राम्रो दख्खल रहेछ भन्ने थाहा हुन्छ । ऊ बेलाको नेपालीमा प्रयोग हुने फारसी शब्दको बाहुल्यको साटो संस्कृतका राम्राराम्रा तर अप्रचलित शब्दको प्रयोग बडो आकर्षक छ । त्यस्ता केही शब्द यी हुन् ः परिणामी विचार, इयत्ता पाउनु, महागुरु । (यो ‘महागुरु’ भन्ने शब्द सायद दलाइ लामाको भोटे नाम लामा रिम्पोछेको अनुवाद हो ।) यस्ता यी शब्दबाहेक यिनले आफ्नो संस्कृत साहित्यको ज्ञानको परिचय दिएका छन् । संस्कृत काव्यको शैलीमा पर्न गई प्रफुल्लित भएकी गोर्खा सरकारको फौजतर्फ ह्याउ गर्न नसकी मलिन भई झुकेको भोट सरकारले मिलनको इरादा गर्नुपर्ने कारण पर्न आउने होला ।”
यसरी यो जाहेरी लेख्ने व्यक्ति संस्कृतका ज्ञाता हुन् भन्ने बुझिए तापनि लेख्दा अक्षरका हिज्जे (स्पेलिङ) चाहिँ यिनले शुद्ध लेखेका छैनन् । संस्कृत पढेकाले संस्कृत शब्दहरू त शुद्ध लेख्नुपर्ने हो सो पनि छैन । यो पनि त्यो बेलाको चालू परम्परा नै होला । यो ‘जाहेरी’ जाहेरवालाकै हस्ताक्षरको हो भन्ने बुझिन्छ । किनभने गंगाबहादुरलाई चिन्नेहरूको भनाइले यो उनकै लेखोट हो । (यो ‘जाहेरी को मूल कपी हाल प्राप्त छैन, सारिराखेको प्रतिलिपिमात्र पुस्तकालयमा छ । – सं.)
यो ‘जाहेरी’ मा जम्मा ३१ पेज छन् । एक्सरसाइज बुक कापीका पेज छन् तर छुट्टाछुट्टै छन् र पछिबाट बायाँपट्टि माथितिर सिई नत्थी गरिएको । तस्वीरहरूमध्ये धेरैजसो चाहि लेखोट सुरु हुनुभन्दा अगाडि टाँसिएका छन् । केही भने प्रसङ्ग मिल्ने ठाउँमा लेखोटको बीचबीचमा पनि परेका छन् । त्यसरी बीच–बीचमा परेका तस्वीर तोप र गुम्बाहरूको छ । तस्वीर सबै फोटो हुन्, हातले लेखेका होइनन् ।
जाहेरीको लेखोटभन्दा अगाडि पञ्जिका छ । त्यस पञ्जिकामा ‘ल्हासादेखि कुती केरुङसम्मको बासको नक्सा ट्रेस हुँदै छ’ भनिएको छ । तर, त्यो यसमा परेको छैन । (हाल म.पु.पु.मा आइपुगेको ३.९० मिटर लामो १.०९ मिटर चौडा, कपडामा लेखिएको तस्वीरजस्तो नक्सा त्यही ‘ट्रेस’ हुन लागेको नक्सा हो कि जस्तो लाग्छ । – सं.)
यो ‘जाहेरी’ मा लेखकले प्रयोग गरेका केही नामहरू विचारणीय छन् । त्यस्तो एउटा नाम ‘बाँडा’ हो । बाँडा भन्नाले हामीले नेपालको बुद्ध धर्मावलम्बीमा पनि एक खास जातलाई मात्र मानिआएका हौँ । तर, यो ‘जाहेरी’ मा गंगाबहादुरले त्यो नाम भोटमा बहाल या गुम्बाहरूमा बस्ने बौद्ध भिक्षुहरूका लागि प्रयोग गरेका छन् । त्यो उनको नौलो प्रयोग हो कि त्यसबेलाको चलनबमोजिम नै हो यसै भन्न सकिन्न । अर्को अनौठो प्रयोग ‘रसियन’ र ‘बोल्शेभिक’ मा पनि देखिन्छ । जारहरूको समयको रसिया बुझाउन ‘रसियन’ र क्रान्तिपछिको रसिया बुझाउन ‘बोल्शेभिक’ भनेको देखिन्छ । यो पनि त्यो बेलाको चलन हो कि जस्तो लाग्छ ।
जे भए पनि ‘जाहेरी’ एक जना महाराजको कान र आँखाको लागि तयार पारिएको भए तापनि त्यसको करिब तीन जुगपछि त्यो जनसमक्ष आउँदा यी सूचनाहरू जुन उद्देश्यको लागि सङ्ग्रह गरिएका थिए त्यस काममा नलागी मित्र भएको छिमेकी मुलुककोबारे ज्ञानवृद्धि गर्नेमा काम लागेको देख्न पाएका भए यसका प्रस्तुतकर्ता कर्णेल गंगाबहादुर बस्नेत क्षेत्रीलाई पनि अवश्य नै सन्तोषलाग्दो हो । अहिले हाम्रो माझमा नभए पनि उनले गरेको काम खेर गएन भन्ने सम्झी उनको आत्माले शान्ति पाओस् भन्ने प्रार्थना छ ।
अब त्यो ‘जाहेरी’ हेरौँ
हाल भोटमा चलिरहेको काम कारबाही र भातरदारका दिलमा बढिरहेको जोश, आशा, उन्मत्त कमसमझको चलन चल्नु चलाउनुसमेतको र भोटतर्फमा भएका, हातहतियार, फौज, गुम्बा र लडाकी बाँडाहरु हातहतियारको बयानस रसद पानी, ठाउँ–ठाउँमा लड्ने अखडा, ल्हासादेखि कुती केरुङसम्मको बास, उसतर्फको फौजको इन्तिजाम र उसतर्फबाट चढाउ गर्दा उनीहरुले गर्ने बन्दोबस्तको इन्तिजाम र हामीहरूबाट चढाउ गर्नुपरेको खण्डमा यो यस ठाउँमा बसी यस किसिमको रसद पानी र फौजलाई चाहिने रसद पानी बोक्ने चौरी, खच्चडहरू, चढाउ गर्नाले ठीक पर्ला भन्ने बन्दोबस्त इन्तिजामको बयान लेखिएको जानिए बुझिएसम्मको छोटकरी किताब ।
चालचलन, नियत
हामीहरूमाथि ठुलो दबाब दिइरहेका बडा चीन सरकारलाई त हामीहरूले हटाई उनको पावर रोकी आफ्नो स्वच्छन्दसँग राजकाज चलाएको १७।१८ वर्ष भयो भने फेरि अर्को सरकारको पिर सहिरहनाको कारण के छ ? गोर्खातर्फबाट पनि बन्द–व्यापार, मुद्दा–मामिलाको हकमा बराबर खरखिचोला गरिरहने हुनाले त्यस कुराको भोट सरकारबाट विचार पु¥याई अरू मुलुकसरह आफ्ना ऐनकानुन चलाउनुपर्छ । अहदतर्फबाट हक पुगेका कुरामा अहद, अहदले नछोएका काम कुरा, रीत दस्तुरबमोजिम भनी हाम्रा मुलुकमा जन्मेका रैती गोर्खाली हुने र ऐनकानुन पनि गोर्खैले गर्ने यो रीत कायम रह्यो भने गोर्खाको रैरकम गर्नु नपर्ने राजीखुसीले बन्दव्यापार गर्न पाउनेको उन्नति नबढी अरूको कसरी बढ्ला ? गोर्खाली बढेको खण्डमा यही काम रह्यो भने निचोडमा कस्तो नतिजा होला ? तसर्थ गोर्खासँग जो जसरी हुन्छ आफ्ना मुलुकलाई फाइदा हुने कुरा गर्नुपर्छ भन्ने यकिन गरिरहेका र अरू देशमा समेत यो चलन नभएको । केही हतियार बृटिसबाट मिलिसकेको अब पनि चाहिएको पाइँदै छ । अघि चिनियाँसँग र रसियनसँगबाट लिएको समेत हतियार र फौजको बन्दोबस्त छँदै छ भने हामीले डराउनुपर्ने कारण छैन । अङ्ग्रेज सरकारतर्फ हाम्रो दोस्ताना भएकै र बोल्शेभिकतर्फ सम्बन्ध रहेका खण्डमा चिनियाँहरूबाहेक भइसकेकाले गोर्खालीहरूलाई समेत हटाउन पाए दुई ठूला सरकारका माझमा स्वच्छन्दसाथ बसी आफ्नो मतलब दुबैतर्फबाट हासिल गर्दा हुँ भन्ने नियत लिई हरेक कुरामा वास्ता नगरी गोर्खालाई हेप्ने निहुँ खोजिरहेको बुझिन्छ ।
अफिसरको बयान
निजामतीतर्फमा कामकाज गर्ने समझदार काजी लुन्जीहरू मरिसकेका र हाल भर्ना भएका मुख्य काम चलाउने यही महागुरूका भाइका छोरा अन्दाजी २८।२९ वर्षको ह्यापसीसावा भन्ने लुन्जी १ र राकास्या १ समेत भएका २ जनामा ह्यापसी सानै उमेरको हुँदा राजकाजमा त्यस्तो दृष्टि पु¥याउन सक्नेछैनन् । राकास्या हालैमात्र भर्ना भएकोले थाहा छैन ।
विशेष गरेर निजामतीतर्फ बाँडा अफिसरहरूबाट काम चलाइन्छ । यिनीहरू ज्यादा पुरानो आइडियाबाट काम चलाउने हुनाले जंगीतर्फ त्यस्तो परिणामी विचार पु¥याउन सक्तैनन् तापनि एकोहोरो स्वभाव हुनाले शुन्याइँमा ज्यादै कम्ती हुँदैनन् ।
चिनियाँको लडाइँपछि पल्टनहरूको जरूरत सम्झी चेनु सेनाङ्कोङ अर्थात् छारूङ्ग काजीले पुरानो लगतबमोजिमको टिङरोका ५००, दिगर्चाका १०००, ग्यान्चीका ५००, ल्हासाका हजुरिया २००० समेत ४००० को रोजिन्दा कबायत चलाउने गरी, रिसल्लातर्फ २५० जवान जति खडा गराए भन्थे तापनि आखिरी १२५ जवानसम्म थिए । यो सब छारुङ्बाट खडा गराई देशोन्नतिको हेतु लिई घुम्न आएका गुम्बाहरू तोडी पल्टन राखी महागुरुलाई अघिबमोजिम धर्मकार्यमा मात्र राख्ने नियत लियो भन्ने कुरा बाँडाहरूबाट पुगेकाले छारुङ् काजीलाई जंगीतर्फबाट झिकी स्याफे अर्थात् काजी काममात्रै चलाउन लगाई निजले गरेको फौजी काममा घाकोढुङ्बाथेचीलाई अख्तियार दिएका हुन् तापनि यो थेची अफिम खाने र देशदेशावरसमेत नडुलेको, उमेर पनि अन्दाजी २८।३० वर्षसम्मको र जीउको कमजोर, बन्दोबस्ती कामसमेत त्यस्तो विचार पु¥याई गर्नसक्ने होइनन् । पल्टनको समेत छारुङ्ले गरेको बन्दोबस्तसरह यिनबाट हुँदैन भन्नेसम्म कुरा चलेको हो । छारुङ्को बयानको हकमा निज नेपालसम्म आएको सबै जाहेरै छ । तर, भोटमा जंगी निजामती दुवै काममा यो मानिस लायकको छ । लडाइँ हुने भएका पक्षमा महागुरूले यिनलाई अग्रसर नगरी काम गर्न मुस्किल छ ।
यिनै फौजी पल्टनीमध्येको एउटा छाउनीमा गई काम सिक्ने घिङ्च्या घैबुन् अर्थात् छारुङ् काजीको सालो पनि अङ्ग्रेजी केही पढेकाले र देशतर्फ गएकाले केही विचारवान् निस्केको थियो तापनि माथि लेखिएबमोजिम छारुङ्तर्फको मान्छे भन्ने हेतुले घैबुन् अर्थात् कर्णेल दर्जाबाट झिकेको त्यस लायकको अरू तोपखानाको काममा कोही छैन । सिर्फ सो सिक्न जाँदाका अरू ८ जवानसम्म छन् तापनि त्यत्ति चलाक छैनन् । आखिरी भोट सरकारले निजै घिङ्च्यालाई त्यो काम लगाउनेछन् । त्यो मान्छे चलाखै बुझिन्छ ।
अघि एक पटक खोसिई छारुङ्बाट भर्ना गरेको छेकोर घैबुन् निजकै मानिस हो भनी खोसिएको हाल पोवातर्फको लडाइँमा निजलाई फेरि घैबुन् बनाए भन्ने सुनिएकाले यो मानिस त्यतिसम्मको विचारवान् छैन तापनि बहुतै शूरो छ ।
अहिले भोटमा निजामती जंगीतर्फ मुख्य भई काम चलाउने अघि चीपो दर्जाको लुङ्स्यार छन् भन्ने सुनिन्छ । यो मानिस अघि बेलायतमा पढ्न जाने लडका लिइगएको हो । ऊ घमण्ड र भित्री नियत कमसलै भएको हो । पछिसम्मको विचार गरी काम गर्न सक्ने होइन । यसले दिगर्चा महागुरूतर्फको कामबाट भोट सरकारमा फाइदा देखाएबाट पत्यार पर्न गएको हो ।
भोटेले एक पल्टनमा हजार जवानका दरले तयार गरेका छौँ भन्छन् तापनि एक पल्टनमा ५०० जवानभन्दा बढी छैनन् । कोही पल्टनमा त पूरै पाँच सय होलान् भन्न पनि सकिँदैन ।
सिङ्झुङा पल्टनमध्येबाट २०० जवान जति तोपखानामा पठाएका छन् । सो तोपखाना यामोनमा छ । बृटिसबाट ल्याएको तोप खच्चडमा राखी हिँडाएको र जोडेको समेत फोटो यसैमा छ । सो फोटोबाट जाहेर हुनेछ ।
एक पल्टनमा एक घैबुन् अर्थात् कर्णेल दर्जाको र एक रोपोन्, मे.क.याकम दर्जाको हुन्छ । १०० जवानमा १ जवानका दरले ग्यापोङ् अर्थात् सुबेदार दर्जाको हुने हुनाले एक पल्टनमा त्यस्ता ग्यापोङ् ५ जवानसम्म हुन्छन् । २५ जवानको १ का दरले स्याङो अर्थात् जमदार दर्जाका एक पल्टनमा २० जवान हुन्छन् । १० जवानमा १ जवानको दरले चुपोङ दर्जा (हवल्दार) को ५० जवान हुन्छन् । यिनीहरू किरिज भिरेका हुँदैनन्, सिपाहीँसरहै हुन्छन् । स्याङोसम्मले किरिज लिएका हुन्छन् ।
अन्दाजी १३ पल्टनका १३ घैबुन्समेत गरी जम्मा स्याङो अर्थात् जमादारसम्मका अफिसर ३५१ र पछि बढ्ने भनेको २ हजार पल्टनमा यही दरमा राखेको भए ४५९ जवान पुग्दछन् । त्यसमध्ये पुराना घैबुन् सलुङा, ताना, टेंडुङा, ट्युरांबाहरू बेसै छन् । अरू नयाँ कोको भर्ना भएका र देशदेशावरसमेत नडुलेको हुनाले पूरा इन्तिजाम पु¥याई काम गर्नसक्ला भन्न सकिँदैन । भोटे पल्टनहरू अङ्ग्रेजी बोलीबाट तालिम गरिएका छन् । निजहरूको फेसन यसै सामेलको फोटोबाट जाहेर हुनेछ ।
सिपाही
तालिमी जवान ल्हासामा अन्दाजी १५०० जवान र खामतर्फ छाम्दोलगायत ठाउँ–ठाउँमा गौंडा रोक्न गएको करीब ५००० जवान होलान् । २००० थप गर्ने इन्तिजाम गरिरहेका थिए । सो थप भएको भए माथि लेखिएबमोजिम पुराना लगतमध्येको ४००० समेत करीब अन्दाजी ८५०० जवान पुगेहोलान् । सो २ हजार जवान भर्ना नभएको भए पनि लडाइँमा भर्ना गर्नेछन् ।
माथि लेखिएबमोजिमका सिपाहीँ कुन किसिमबाट बढे भने लगतबमोजिमको ४००० मा डेढो बढाउँदा २००० र टंकेलिङ गुम्बाको आम्दानी जग्गाबाट कित्ता मिलाई सोनांलेघुङमार्फत कित्ता कित्ता (अर्थात् रोपनी जस्तो) बाट सिपाहीँ खडा गर्ने गरी खडा भएको पल्टन ५०० भारदारहरूका बिर्ता खुवामा कित्ता मिलाई सिपाहीँ लाउँदा ठहर्न आएकामध्येबाट १२५ जति रिसल्ला खडा भएका हुन् ।
पछि खडा हुने भनेको २००० फौज दिगर्चा गुम्बाको आम्दानी रकमबाट र नपुगे अघि लागिरहेका रकमबाट १० जनामा १ जवानका दरले वा २० जवानमा १ जवानका दरले बढाउने इन्तिजामसमेत लेखी भर्ना हुनमा कबुलियत भइसकेको छ ।
लेखिएका सिपाहीँ रैतीले राख्ने हुँदा घरमा मानिस हुनेले आफ्नै मानिस र नहुनेले भर्ती हुने जवानले भनेबमोजिमको मनासिब चित्त बुझाइदिनु पर्दा जवान १ को महिना १ के काला मोहर थान ३० देखि ६०।७० सम्म पनि रैतीले आफ्नो तर्फबाट दिनुपर्दछ । सरकारतर्फबाट महिना १ को सत्तु बो ३ तिनको अन्दाजी पाथी ९ र घिउलाई काला मोहर थान ४, चियालाई ४, दाउरालाई ४, मासुलाई ४, नुन माना १ समेत ह्योल फोखाङ् अर्थात् बाली तलब अड्डाबाट पाउँछन् । लेखिएका सिपाहीँहरू अघि चिनियाँको किल्ला यामुन्मा र कुसंसिंझुङा अर्थात् हजुरिया पल्टन नोर्बुलिङ्कामा रहन्छ । माथि लेखिएबमोजिमको फौज रद लबदल भए गरेका बखत खामतर्फ र ल्हासामा घटीबढी हुँदै रहन्छ ।
यी सिपाहीँहरूलाई खाकी रङको नम्बुको सुट बनाएको छ । भोटका तयारी उनी मोजा र व्यापारीसँग खरिद गरेको देशी बूट वा ल्हासा–तयारी बूट लगाउँछन् । जाडोको बखत देशी गरम कोट वा नम्बुको कोट पनि दिइन्छ । उनीहरुले १÷१ पाखी लिएका हुन्छन् । त्यो मार्च भएका बखतमा बोक्छन् । यिनलाई लाग्ने लुगा सिपाहीँले दिने रैतीबाट लिने दिलाउने गर्छन् ।
खानालाई मुख्य चिया चप्पा खान्छन् । जरुरी परेका बखत चप्पा र फुरू भए चिसोपानीमा चप्पा मुछी काँचो मासु खाई जीविका हुनसक्छ । सुकुटी काँचो मासु हरहमेसा खाने दस्तुर छ । जाडोको मौसममा भने चिसो पानीबाट २÷४ छाकबाहेक काम चल्न मुस्किल हुन्छ । खामतर्फ गएको फौजमा १० जनाको १ चुलो गरी सो चुलोमा चिया पकाउने एउटा ठुलो बाटो हुन्छ, खानालाई साथसाथमै काठको फुरू हुन्छ । चिया र नुन सिपाहीँको साथमै हुन्छ । मौका परेका बखत चप्पा मुछी डल्लो पारी खोकिलामा हालेका हुन्छन् ।
हतियार
बुटिसतर्फबाट पाउने भएका नाल तोप, लुइस, मिसिनगनमध्ये लियेनफिल्ड भन्ने नाल अन्दाजी ५०००, तोप गोटा ४, लुइसगन गोटा १०, मिसिनगन पोताला लामाज्यूलाई दिएको १ समेत २ आइसकेको थियो । पछि आउँदै छ भन्थे । जम्मा २० लुइसगन र ८ तोप ल्याउने पूरा नियत थियो, ल्याए होलान् ।
सिलिङ्तर्फबाट बराबर व्यापारीहरूले किसिम–किसिमका बन्दुक ल्याएको महागुरुकहाँ लैजानुपर्ने हुनाले चाहिएसम्म खायस भएको निगाहबाट केही मोल दिइलिन्थे । कोही ठुला लामा व्यापारीले अन्दाजी ५१ उँटमा लादी ल्याएको माल र उँटसमेत चढाएकोमा १० गोटाका दरले भएको २५ हातेबम बाकस अरू केही नाल बन्दुक र टोटासमेत चढाए । लेखिएका बन्दुकहरू रसियन र चिनियाँहरुको हो । त्यसको नमुनासमेतको ब (यान ?) मे.क. लालबहादुर बस्नेत क्षेत्रीले चढाएको जाहेरी जैसीकोठामा छ । हरसाल व्यापारी सोकपूहरूले महागुरूको चाहना छ भनी हतियार चढाउँछन् । सोकपूतर्फ २ मिसिनगन हात परेको छ भन्ने सुनिन्थ्यो । भए आजसम्म दाखिला भयो होला । यस्तै तवरसँग पटक–पटक गरी आएको पिस्तोलसमेत रसियन र चिनियाँ गरी कम्तीमा पनि १५०० नाल बन्दूक र २ या ३ मिसिनगनसमेत सिलङ् सोकपूतर्फबाट आयो होला । बन्दुकैपिच्छे १००÷१५० को दरले खजाना पनि होला । नपुगेको व्यापारीसँग बराबर झिकाउने हुनाले ती बन्दुकलाई खरखजाना पूरै हुने बुझिन्छ ।
गुम्बा–गुम्बामा र भोटे अफिसर भारदार ठुल–ठुला खम्बा व्यापारी, भोटे व्यापारी र रैतीहरूसँगै भएको भोटे बोलीले साचीखा भन्ने ७÷१० गोली जाने पेस्तौल, माछाङ् भन्ने ५ गोली जाने ठुलो बन्दुक, ग्यामिउस्याङ् भन्ने १÷५ गोली जाने ठुलो बन्दुक, सिलिङउस्याङ् भन्ने १ गोली जाने ठुलो बन्दुक, सिसिकान्दे भन्ने ६÷७ गोली जाने ठुलो र सिसिलेण्डु भन्ने १० जाने सिलिङ, चिनियाँ देशी माजरसमेत अन्दाजी कमसेकम नाल–– ३५००

Leave a Reply

Your email address will not be published. Required fields are marked *