भर्खरै :

एन्टिफा आन्दोलन ः अमेरिकी संस्थापनविरुद्धको विद्रोह

डोनाल्ड ट्रम्पको निर्वाचनमा विजयको एक दिनपश्चात् मिचिगनस्थित रोयल ओक हाइस्कूलका हिस्पानियाली मूलका विद्यार्थीलाई तिनीहरूका गोरा सहपाठीहरूले – ‘पर्खाल निर्माण गर’ भनी नारा लगाएर जिस्क्याए । कार्यभार सम्हालेको केही घन्टापछि नै ह्वाइट हाउसका नयाँ हर्ताकर्ताले अहमेरिकामा मुस्लिमहरूको प्रवेश बन्देज गरेको घोषणा गरे । केही दक्षिणपन्थी उग्रपन्थी मानिसहरूले त भिक्टोरिया (टेक्सास) स्थित स्थानीय इस्लामिक केन्द्र (मस्जिद) मा आगो पनि लगाइदिए । केही हप्तापछि नयाँ अमेरिकी प्रशासनले धार्मिक, जातीय तथा लैङ्गिक अल्पसङ्ख्यकहरूविरुद्ध १ सय वटाभन्दा बढी कानुन संशोधन ग¥यो । एक दक्षिणपन्थी विचारका मानिसले त वासिङ्टन डिसीस्थित समलैङ्गिक मानिसहरूको रक्षा गरिरहेको संस्था कासा रुबीको कार्यालयको मूलद्वार नै तोडफोड गरे र त्यहाँ उपस्थित मानिसमाथि दुव्र्यवहार गरे ।
त्यसै वर्ष (२०१६) को मार्च महिनामा एक पूर्वसैनिक तथा गोरा सर्वोच्चतावादी काला मानिसहरूलाई आक्रमण गर्ने उद्देश्यले एक बस लिई न्यूयोर्क आए । उनले एक घरविहीन भई फूटपाथमा आश्रय लिइरहेका कालो वर्णका अमेरिकी नागरिक टिमोथी काउफम्यानको हत्या गरे । त्यसै महिना ब्रुकलिन, फिलाडेल्फिया र देशको अन्य भागहरूमा यहुदी समाधिस्थलहरूमाथि आक्रमण गर्ने लहर नै चल्यो । त्यतिखेर राष्ट्रपति ट्रम्पको प्रमुख सल्लाहकार एक अतिदक्षिणपन्थी, यहुदीविरोधीका रूपमा बदनाम तथा गोरा सर्वोच्चतावादी मानिस थिए । यसबीचमा ट्रम्प प्रशासनको आडमा संरा अमेरिकामा जातीय घृणाले पे्ररित असङ्ख्य घटनाहरू भए । चार वर्षपछि मिनेसोटाको मिनियापोलिसमा एक गोरा सर्वोच्चतावादी प्रहरी अधिकारीले एक अफ्रिकी अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्या गरेपछि मात्र देशव्यापी विरोध प्रदर्शनको लहर उठ्यो । विरोध प्रदर्शनमा जनताको व्यापक समर्थन र उपस्थिति देखिएपछि राष्ट्रपति ट्रम्पले आफ्नो परम्परागत साधन ट्विटरमा धम्की जारी गर्दै चालू विरोध प्रदर्शन र दङ्गाका लागि एन्टिफा आन्दोलन जिम्मेवार भएको आरोप लगाउँदै त्यसलाई आतङ्कवादी सङ्गठन घोषणा गरे । के ट्रम्पले घोषणा गरेझैँ एन्टिफा आतङ्कवादी सङ्गठन वा मोर्चा हो र ?
एन्टिफा एक अराजकतावादी आन्दोलन
एन्टिफा (Antifa) नाम एन्टिफासिस्ट (Antifacis) को छोटो रूप हो र त्यस आन्दोलनले फासीवादको विरोध गर्नुका साथै सबैखाले जातिवाद, जातीय घृणा, जातीय अहङ्कारवाद र मानिसले मानिसमाथि गर्ने हेलाको विरोध गर्दछ । यसलाई कुनै राजनीतिक पार्टी वा सङ्गठनको रूपमा लिन सकिन्न, कारण यसको कुनै संरचना, सम्बन्धन र औपचारिक नेतृत्वसमेत छैन । यस आन्दोलनमा समाजवादी, अराजकतावादी, कम्युनिस्ट वा पुँजीवादविरोधीहरू संरा अमरिकामा विकास भइरहेको अतिदक्षिणपन्थी वा गोरा सर्वोच्चतावादीहरूको फासीवादविरुद्ध आन्दोलित भएका मात्र हुन् ।
परम्परागत वामपन्थी आन्दोलन वा पार्टीहरूका विपरीत त्यस समूहले कुनै निर्वाचन जितेर कुनै शक्ति वा निश्चित सिट प्राप्त गर्न खोजेको पनि छैन वा संसद्मा कानुन पारित गर्ने बेलामा कुनै प्रभाव पार्न खोजेको पनि देखिँदैन । बलियो पुँजीवादविरोधी भावनासहित तिनीहरूको रणनीति परम्परागत वामपन्थीहरूका विपरीत अराजकतावादी समूहहरूसित नजिक देखिन्छ ।
एन्टिफा आन्दोलनका समर्थकहरूको उद्देश्य भनेको फासीवादी, जातिवादी, नवनाजीवादी र अति दक्षिणपन्थी समूहहरूको गतिविधिको विरोध गर्ने हो ताकि फासीवादी, जातिवादी, नवनाजीवादी र अति दक्षिणपन्थी समूहहरूले आफ्नो आप्रवासी, जातीय अल्पसङ्ख्यक, महिला वा लैङ्गिक अल्पसङ्ख्यकहरूविरोधी घृणाले प्रेरित क्रियाकलापलाई बढावा दिने हिम्मत नगरोस् ।
आफ्नो उद्देश्य पूर्तिका लागि एन्टिफा अहिंसात्मक क्रियाकलापमा मात्र सीमित भने छैन तिनीहरूले आफ्नो उपस्थिति देखाउनका लागि र आफ्नो उद्देश्य पूर्तिका लागि अत्यावश्यक बेलामा सामान्य हिंसाको प्रयोग पनि गर्ने गरेका छन् । त्यसको रणनीतिमध्ये एक इन्टरनेटका मञ्चहरूमा अतिदक्षिणपन्थीहरूको पहिचान गर्ने र तिनीहरूलाई उदाङ्ग्याउने पनि हो ।
पुरानो समूहहरूको पुनः सङ्गठन
गत शताब्दी तीसको दशकमा युरोपको जर्मनी, इटाली र स्पेनमा त्यहाँको नाजीवाद (हिटलर), फासीवाद (मुसोलिनी) र फ्रान्कोवाद (फ्रान्को) विरुद्ध फासीवादविरोधी समूहहरू स्थापना भएका थिए । दोस्रो विश्वयुद्धमा मित्र शक्तिको जीत भएपछि ती समूहहरू तितरबितर भए तर सन् १९८० को अन्तिमतिर नवनाजीवादीहरूको उदय र बर्लिनको पर्खाल भत्काइएपछि फेरि पुनः सङ्गठित भएका थिए ।
संरा अमेरिकामा एन्टिफा समूहहरू नयाँ सहश्राब्दीको पहिलो दशकमा मात्र देखापरेका थिए, तिनीहरू मिनिसोटाको जातिवादविरोधी कार्य समूहजस्ता जातिवादविरोधी सङ्गठनहरूसित सम्बन्धित थिए । एन्टिफा शब्द प्रयोग गर्ने पहिलो समूह २००७ मा रोज सिटीमा देखापरेको थियो, त्यस विशेष समूहले गोरा सर्वोच्चतावादी समूह–ह्याम्मरस्किनले आयोजना गरेको साङ्गितीक महोत्सव बहिष्कारको आह्वान गरेको थियो ।
डोनाल्ड ट्रम्पको ‘योगदान’
सन् २०१६ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति हुनुभन्दा अगाडि एक दुई सहरमा मात्र एन्टिफा समूहहरूको उपस्थिति देखिन्थ्यो । यस जातिवादी राष्ट्रपतिका नीतिहरू र गोरा सर्वोच्चतावादी समूहहरूलाई उनको खुला समर्थनले जातीय घृणा व्यापक भयो र अल्पसङ्ख्यक समुदायविरुद्ध ज्यादतीका घटनामा नाटकीय वृद्धि भयो । विगत चार वर्षको अवधिमा गोरा जातिवादीहरूलाई दिएको पूर्ण उन्मुक्तिले फासीवादविरोधीहरूलाई पनि सक्रिय हुन इन्धन थप्यो ।
फासीवादविरोधी वेभसाइट ‘इट्स गोइङ डाउन’ सञ्चालक समितिका एक सदस्य जेम्स एन्डरसनका अनुसार जबदेखि ह्वाइट हाउसमा दक्षिणपन्थी रिपब्लिकन चुम्बक (राष्ट्रपति ट्रम्प) आए आफूहरूको वेभसाइटका पाठकहरूको सङ्ख्या निरन्तर बढ्दै आयो । सन् २०१५ मा दैनिक करिब ३ सयले भिजिट गर्ने उक्त वेभसाइटमा अहिले दैनिक १५ हजारभन्दा बढीले भिजिट गर्ने गर्छन् । हालैका वर्षमा एन्टिफाले बार्कले विश्वविद्याालय, क्यालिफोर्नियामा भएको अतिदक्षिणपन्थीहरूको कार्यक्रम बहिष्कार गर्ने आह्वानलगायत कैयौँ बहिष्कारका अभियान चलायो । अगस्ट २०१७ मा चार्लोट्सभिल्लेमा युनाइट द राइट्स नामक गोरा जातिवादी समूहसितको भिडन्तमा एन्टिफाका ३० जनाभन्दा बढी सदस्य घाइते भएका थिए ।
तिनीहरू ‘ब्ल्याक लात््स’ म्याटर जस्ता अफ्रिकी अमेरिकीहरूको आन्दोलनमा सहानुभूति राख्छन् र मे २५,२०२० का दिन प्रहरीद्वारा जर्ज फ्लोयडको हत्या भएपछिको प्रहरी नृशंसताविरोधी आन्दोलनमा सामेल भएका थिए ।
के तिनीहरूलाई आतङ्ककारी समूह भन्न सकिन्छ ?
गत मेदेखि सुरु भएको जातिवादविरोधी आन्दोलनलाई देखेपछि ट्रम्पले ट्वीटरमार्फत उक्त आन्दोलन उठ्नुमा एन्टिफा आन्दोलनको हात रहेको भन्दै त्यसलाई आतङ्ककारी समूह घोषणा गरे । तर, यो सही र सम्भव कुरा होइन कारण उक्त आन्दोलन स्वयम् नै औपचारिक सङ्गठन होइन । त्यतिमात्र होइन, संरा अमेरिकी कानुनहरूले अन्तर्राष्ट्रिय आतङ्ककारी समूहहरूलाई मात्र सम्बोधन गर्छन्, देशभित्र आतङ्ककारी समूहको उपस्थिति नै मान्दैनन् । फेरि, एन्टिफा आन्दोलनले न स्वदेशभित्र न अमेरिकी सीमाबाहिर कतै पनि आतङ्ककारी घोषित हुने कुनै क्रियाकलाप गरेको देखिन्न ।
निष्कर्षमा ट्रम्पको घोषणा वा भनाइमा कुनै कानुनी आधार छैन र ती विरोध उठाउनका लागि के–के कुरा जिम्मेवार रहे भनी पत्ता लगाउने प्रयास पनि छैन तथा भविष्यमा यस्तो स्थिति आउन नदिने कुनै कार्यान्वयनसम्भव प्रस्ताव पनि छैन । यी सबै कुराले के सङ्केत गर्छन् भने उनी आफ्ना बलीको बोकालाई निष्पक्ष बनाउने इच्छाका साथ अवधि रहुन्जेल पदमा मात्र रहनेछन्, केही गर्ने छैनन् ।
(Antifa movement : Anti-establishment rebels)
MRonline, June 19, 2020,
अनुवाद ः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *