सन् १९५९ अगस्तको महिना । ‘द टाइम्स’ पत्रिकाको संवाददाता बनेर एक युवक नयाँ दिल्ली आए । त्यतिबेला भारत र चीनको सिमाना लोङजुमा दोहोरो तनाव भएको केही दिनमात्र बितेको थियो । सो घटना लोङजु घटनाले चिनिएको छ । यो भारत र चीनबीच सिमानामा भएको पहिलो भिडन्त थियो । युवक यिनै घटनाका समाचारमा केन्द्रित भए । यी घटनाहरू पछि गएर सन् १९६२ को चीन–भारत युद्धको रूपमा विस्फोट भए । युवक नेहरूकालीन भारतका आरोहअवरोह छिचोल्न काबुलदेखि पूर्वी पाकिस्तान र काठमाडाँैदेखि श्रीलङ्कासम्म पुगे । उनले भारतमा ८ वर्ष बिताए । उनी थिए–नेभिल म्याक्सवेल ।
भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूको निधन (सन् १९६४) पछि नेभिल म्याक्सवेलले चीन–भारत युद्धबारे एउटा पाठ भारतसम्बन्धी आफ्नो पुस्तकमा समावेश गर्ने तयारी गरे । सुरुमा त १९५९ यता त्यस विषयमा लेखेका सामग्रीहरू पानीझैँ छर्लङ्ग छन् भनी उनले सोचेका थिए । तर, भारत सरकारका श्वेतपत्रहरूको मसिनो अध्ययन गर्दै गएपछि उनमा आफ्ना बुझाइमाथि अनेक शङ्काहरू उत्पन्न भए । यसको समाधान गर्न उनले अझै विस्तृत अध्ययन गर्नुपर्ने देखे । घटनासँग सम्बन्धित विभिन्न विचारका व्यक्तित्वसँग उनले उठबस गरिसकेका थिए । तिनका खुसी, सुस्केरा, पीडाजस्ता अनेक भावना प्रत्यक्ष देखेका थिए । पत्रकार औपचारिक दस्तावेजमा उल्लेखित कुराभन्दा भावनात्मक पक्षबारे बुझ्न र सो विषयमा अध्ययन गर्ने विज्ञभन्दा अगाडि हुने म्याक्सवेलको कथन छ ।
सन् १९६७ मा म्याक्सवेल बेलायत फर्के । त्यसअघि उनले चीन–भारत युद्धसँग सम्बन्धित राजनीतिज्ञ, सरकारी अधिकारीहरू, सैन्य नेतृत्वसँग लामा र दोहो¥याइ– तेहे¥याइ अन्तर्वार्ताहरू लिएका थिए । लन्डन गएर उनी स्कूल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिजका अनुसन्धानकर्मी बने । उनी चीन–भारत युद्धको मूल जरो वा अन्तर्यको खोजीनीति गर्न चाहन्थे । उनले ऐतिहासिक दस्तावेज र आफूले जम्मा गरेका सामग्रीको आधारमा विवादको घटनाक्रम केलाउन थाले । उनीसँग चिनियाँ सामग्रीको अभाव थियो । यसका लागि उनी चिनियाँ सरकारका वक्तव्यहरूमा सीमित हुनुप¥यो । बेलायती सामग्री लन्डनमा उपलब्ध थिए । भारतीय सामग्री उनी आफैँसँग थिए । साथै भारत सरकार र भारतीय सेनाका आफ्ना विश्वस्त मित्रहरूबाट प्राप्त फाइल र रिपोर्टहरू उनका लागि विशेष महत्वका थिए । तिनले नै घटनाको स्पष्ट चित्र उतार्न उनलाई धेरै हदसम्म सघाएका थिए । ‘हेन्डरसन ब्रुक–भगत रिपोर्ट’ नामक गोप्य प्रतिवेदनबाट उनले आफ्नो पुस्तकमा धेरै सन्दर्भहरू लिए । म्याक्सवेलको पुस्तकको मूल कथ्य यसै रिपोर्टबाट लिइएको थियो ।

नेभिल म्याक्सविल आफ्नो विख्यात पुस्तकसहित (तस्वीर– ग्लोबल टाइम्स)
सन् १९७० मा म्याक्सवेलको पुस्तक ‘भारतको चीन युद्ध’ (India’s China War) प्रकाशित भयो । पुस्तकले विश्वभर तरङ्ग ल्यायो । भारतमा व्याप्त ‘अहङ्कारी र विस्तारवादी चीन’ वा ‘पिठ्यूँमा छुरा रोप्ने चीन’ जस्ता आरोपलाई उल्ट्याइदियो । विश्वमा भारतको प्रतिष्ठा खस्कियो । आफ्ना गोप्य दस्तावेजहरू खुलासा गरेकोमा भारत सरकारले म्याक्सवेललाई भारत प्रवेशमा रोक लगायो । यो प्रतिबन्ध ८ वर्षसम्म कायम रह्यो ।
म्याक्सवेलको पृष्ठभूमिले उनको पुस्तकको आधिकारिकतामा थप प्रकाश पार्छ । म्याक्सवेल भन्छन्, “म उदार कम्युनिस्टविरोधी विचारले अन्धो बनेको थिएँ । आज अमेरिकाले शीतयुद्ध जारी राख्दासम्म म त्यस्तै छु ।” जन्म लन्डनमा भए पनि म्याक्सवेल अष्ट्रेलियाका नागरिक थिए । भारतमा रहँदा उनको सङ्गत धेरै उच्चपदस्थहरूसँग भयो । त्यसमा प्रधानमन्त्री नेहरू पनि एक थिए । उनी नेहरूलाई रुचाउँथे । युद्ध अवधिभरि पनि ‘भारतमाथिको चिनियाँ आक्रमण’ बारे उनमा कुनै शङ्का थिएन । युद्धसम्बन्धी गहिरो अध्ययन र विश्लेषणले उनलाई आफ्नो मान्यताको ठीक उल्टो बिन्दुमा लगेर छोडिदियो । एक वैज्ञानिकले जस्तै आफ्नो निष्कर्षलाई उनले कुनै मोलाहिजा वा पूर्वाग्रह नराखी सार्वजनिक गरे । यो नै एक पत्रकारको धर्म हो ।
सन् १९७१ मा बेजिङमा एक औपचारिक भोजको आयोजना गरिएको थियो । सहभागीहरू खानपान र बातचितमा लागेका थिए । चिनियाँ प्रम चाउ एनलाइ र पाकिस्तानी प्रम जुल्फिकर अली भुट्टो आ–आफ्ना स्थानबाट उठेर विदेशी संवाददातातिर गए । यस दृश्यले नेभिल म्याक्सवेल छक्क परे । यो उनका लागि अविस्मरणीय दिन थियो । दोभाषेमार्फत उनलाई धन्यवाद दिँदै चाउ एनलाइले भने, “म्याक्सवेलजी, तपाईँको पुस्तकले सत्यको सेवा गरेको छ र यसले चीनको भलो भएको छ ।”
म्याक्सवेलले आफूभित्रको इमानदार पत्रकारलाई मर्न दिएनन् । उनले सन् १९६२ को युद्धबारे भारतीय जनता जुन भ्रम र चीनविरोधी कट्टरतामा बाँचिरहेका छन्, त्यसबाट छुटकारा पाऊन् भन्ने चाहन्थे । उनले भारतलाई ‘हेन्डरसन ब्रुक–भगत रिपोर्ट’ सार्वजनिक गर्न बारम्बार गुहारिरहे । त्यसपछि उनले भारतका प्रमुख सञ्चारमाध्यमलाई उक्त प्रतिवेदन पठाएर प्रकाशित गर्ने सुझाव दिए । त्यसलाई कसैले पनि प्रकाशित गरेनन् । सरकारसँग जोरी खोज्न हिम्मत कसैले गरेनन् । भारत सरकारले आधा शताब्दीसम्म मुखमा दही जमाएर बसेपछि बाध्य भएर म्याक्सवेलले २०१४ मार्च १७ तारिखमा उक्त प्रतिवेदनको प्रथम भाग सार्वजनिक गरे । सो रिपोर्ट सन् १९६३ मा दुई भारतीय सैन्य अधिकारीले लेखेका थिए । यसै कार्यले गर्दा म्याक्सवेललाई अमेरिकी गुप्तचर संस्था सीआइएका गोप्य दस्तावेज खुलासा गर्ने अमेरिकी नागरिक एडवर्ड स्नोडेनसँग तुलना गर्ने गरिन्छ ।
सन् १९२६ मा जन्मेका नेभिल म्याक्सवेलको निधन २०१९ सेप्टेम्बर २३ तारिखमा भयो । चीन–भारत युद्धको यथार्थ बुझ्न म्याक्सवेलको पुस्तक नपढी सुखै छैन । आलोचकहरूले यसलाई खण्डन गर्नसकेका छैनन् । जसले यस्तो चेष्टा गरेका छन् तिनमा चीनविरोधी पूर्वाग्रह पाइने गरहेछ । ‘चीनको भारत युद्ध’ (China’s India War) का लेखक बर्टिल लिन्टनर यस कोटीका नमुना हुन् । चीनको आर्थिक उदयका विरुद्ध पुँजीवादी बौद्धिकहरू के गरिरहेका छन् ? बर्टिललाई हेरौँ । आज साम्राज्यवादीहरू इतिहास दोहो¥याउन उद्यत्त छन् । भारतीय शासकहरूले आफ्नो लाज छोप्न आइपुगेका विदेशीलाई तिनको साम्राज्यवादी कुटिलतासहित स्वागत गर्नुमा अस्वाभाविक केही छैन । इतिहास हास्यास्पदरूपमा दोहोरिन्छ ¤
भारत, चीन र तिनको आपसी सम्बन्ध बुझ्न जोकोहीले म्याक्सवेललाई सदा सम्झिरहनेछन् । खासगरी साम्राज्यवादपरस्त भारतीय शासकहरूको वास्तविक अनुहार हेर्न दक्षिण एसियाली, त्यसमा पनि भारतसँग सिमाना जोडिएका देशका हरेक नागरिकले उनको पुस्तक पढ्न आवश्यक छ । सचेत भारतीयहरू म्याक्सवेलको पुस्तक ‘भारतको चीन युद्ध’ उत्तिकै चाख दिएर अध्ययन गर्ने गर्छन् ।
(मजदुर दैनिकको भोलिको अङ्कदेखि म्याक्सवेलले लेखेको पुस्तक ‘भारतको चीन युद्ध’ को सङ्क्षेपिकरण धाराबाही रूपमा प्रकाशित गर्दैछौँ । शम्शेरले सो पुस्तकको सङ्क्षेपिकरण गर्नुभएको छ – सम्पादक)
Leave a Reply