भर्खरै :

नेपालमा भोट युद्धको तयारी – ५

चढाउको याम विचार राख्नुपर्ने
आफ्ना मौकामा फौज चलाउन पाए भोटमा पानी कम पर्ने र ठण्डी हटी सबै टिप्पाको बरफ पग्ली दिशा विदिशा खुला रहेकोले बाटो गौंडो सबै ठाउँबाट काम लिन सकिने भई साउन, भदौ, आश्विन महिनामा सजिलो हुन्छ ।
वैशाख, जेठ, असारमा पानी ज्यादा पर्ने र भर्खर बरफले छाड्दै गएको नयाँ पानी भई हावापानीले विदेशीलाई उत्तिको फाइदा गर्दैन । नयाँ पालुवा खाएका जनावर दुब्लो र मासु खाँदा उत्तिको असल हुँदैन ।
कार्तिकदेखि नै पानी जम्दै जाने, कोही बखतमा अचानक हिउँ पर्ने, बेसरी प¥योभने सो हिउँ चैत, वैशाख नभई नपग्लने, त्यस्तामा कोही बीच लङ्गुर हिमालमा फौज रहेको बखत पर्न गयो भने धेरै नोक्सान पर्दछ । तसर्थ कार्तिक, मंसिर, पुस, माघमा चढाउन बहुतै कठोर छ । जाडो ठण्डी त्यस बखतमा नदी नाला पनि जम्ने हुनाले फागुन, चैत महिनामा ज्यादा हावा चल्छ, चैतमा अचानक हिउँ पनि पर्छ । परिरहेको हिउँ पग्ली बगी सबै पानी धमिलो हुन्छ । त्यो पानी खानाले छाती दुख्ने रूघाखोकी लाग्ने हुन्छ । माथि टिप्पाटिप्पामा बरफ रहेको पग्ली पहिरो जाँदा नोक्सान पार्ने जोखिमी हुन्छ । त्यसको बचाउ पूरा गर्नुपर्छ । त्यस बखतमा परेको हिउँ गर्मी काल भइसकेकोले २÷४ दिनभित्रैमा पग्ंिलदै जान्छ । हावा चल्छ तापनि गर्मीको याम भइदिएकोले भित्रसम्म ज्यादा ठण्डी घुम्न सक्तैन, तैपनि असलै बखत होइन । लेखिएको जोखिमी यो २ महिनामा पनि पर्छ ।
भोटमा हिँड्दा दम बढ्ने, हातगोडा गल्ने हुन्छ । मानिसले भारी बोकी हिँड्ने चलन छैन । नुन लिन जानेहरू तातोपानीबाट जानेले कुतीसम्म र रसुवातर्फबाट जानेले केरुङ्, सातसय, अठारसय खोलाबाट जानेले झुगासम्म भारी बोक्छन् । खोम्बुले टिङ्री र ओलाङ्चुङ्हरू टङ्केसम्म जान्छन् ।
रासिनतर्फ
दाउरा नपाइने भई गुइँठा, घोडाको लिदी, भेँडाबाख्राको जुतो, केही पाइने ठाउँमा काँडाको सानु–सानु बुट्टा खुर्की बाल्ने । त्यसैबाट खाना तयार गरी खुवाउने रीत दस्तुर छ तापनि बासिन्दाले आफ्नो कालअनुसार मौकामौकामा सोज गर्ने हुनाले काम चलेकै छ । त्यस्ता भरले फौजलाई काम चल्न मुस्किल पर्न जाने हुँदा तयारी रासिनको इन्तिजाम हुनुपर्छ । कुती, केरुङ्, टिङ्री लिइसकेपछि आरामी मौकामा बुट्टा खुर्कन र याममीयामले गुइँठा टिप्न पनि पाइन्छ । तसल्ल रहन सके गोठालाहरूबाट पनि गुइँठा पाइन्छ । गाउँ–गाउँमा सोज गरी राखेबाट पनि काम आउँछ । सारै कम्ती होइन ।
भोटमा जग्गा–जग्गामा हिमाल टापुमा भात पाक्न मुस्किल हुन्छ, पाके तापनि ठुलो फाइदा दिँदैन । मुवा, करू र केराउको सत्तु खाने दस्तुर छ । केराउको सत्तुले फाइदा गर्दैन । नेपालमा उब्जा हुने गहुँको सत्तु खानु हुँदैन । झाडा लाउने हुन्छ । सो गहुँको नलले घोडा खच्चडलाई सूल गराउने हुन्छ । यो गहुँ भोटमा पनि हुन्छ । यसको मैदा पिठो गराई खोले रोटी खाने दस्तुर छ । चिया खान नपाई चिसो पानी खाए भने एकदम बेमारी गराउला भन्ने जोखिमी हुन्छ । जाडोको याममा कोदोको पिठोको खोले, ढिँडोले पूरै फाइदा दिन्छ । मकैको सत्तु र ढिँडोले केही सर्दी गर्छ । १÷२ छाकमा रदलबदल गराई ख्वाए सर्दी गर्मी मिल्न गई फाइदा देला । मकैको सत्तु हाम्रो सरदमा पिनिएको चाँडो भोटमा पुग्न सकेन भने १ महिनामा बिग्रन्छ । बिग्रन्न गयो भने सडेकोले बेफाइदा गर्ने भई त्यसतर्फ पनि विचार राख्नुपर्छ । भुटेको मकै बिग्रँदैन तापनि आधासम्म काम दिन्छ । बराबर खुवाउनाले नातागत गर्छ । पु¥याउन सके भँेडाको नसके च्याङ्ग्राको मासु रोजै पाए खुवाउनुपर्छ । भोटमा मासुकै चलन छ । अफिसर फौजलाई भात नख्वाए खालि सुख्खाले हावा पनि मिली नसकेकाले कमजोर गराउँछ । अन्दाजी चार भागमा १ भाग चामल पनि पु¥याउनुपर्छ । पानी बढी हाली भात छड्किसकेपछि पानी फाली ढाकिदिएपछि भात पाक्छ । लेखिएका रासिनको भरले मात्र पूरै तागत दिन नसक्ने हुँदा यसभन्दा पनि तागत दिनसक्ने चीज भए लडाकीलाई फाइदा गर्नेछ । बृटिसको मिसिनमा चिया, दूधका टिन, चिनी सक्खर, सिग्रेट, रहरको दाल, किसिम किसिमका चटनी, उसिना चामल, आलुको भुजुरी, खुर्सानी, सुठो, गहुँको आटा लगेका थिए । घिउ, मासु, आटाबाट खूब तागत दिँदोरहेछ भन्थे ।
लुगा
भोटमा ठण्डी याममा सुती काम दिँदैन । गरम ऊनी कपडा चाहिन्छ । भोटमा श्रीफ नम्बु पाखी चुक्टुको चलन छ । जाडोलाई भेँडाको छाला हालेको कोट चुस्ता टोपी लाउने चलन छ मंसिर, पूरा माघसम्मलाई । अरू याममा बाक्लो नम्बु । असार, साउन, भदौमा कटराई, फलालैन, भुतुङ्खली भन्ने भोटो चलनलाई बनेको मजबुती कपडाबाट काम लिन्छन् । चिनियाँहरूले फौजलाई यसै कपडाको कोट चुस्ता उपरकोट दिन्थे । यी कपडाहरू कलकत्तामा पाइन्छ । इटालीमा बन्छ भन्ने सुनेको, भोटेले पनि चलन गर्थे । जाडोमा भित्र पाक्ल्या भन्ने छाला हाली लाउने । गर्मी याममा त्यो छाला झिकी त्यही कोट लाउने दस्तुर छ । फलालैनभित्र लाउने र भित्रीलाई काम दिने हो । भोटमा बराबर लुगा धुने दस्तुर छैन । त्यसो हुनाले धोइरहन नपर्ने गरी गर्मी याममा भित्रीको लागि रङ्गीन सिठन् भन्ने माकिन रङ्गाया नरङ्गायाको दुवै किसिमको चलन छ ।
चलनलाई
नङ्गा कहिल्यै बस्न हुँदैन । खाँदा चिया खान्छन्, चिसो पानी खाँदैनन् । घ्यू नभएको खालि चियापानी धेरै खानाले नातागत गराउँछ । घ्यूका साथ खाए फाइदा गर्छ । भोको बस्न हुँदैन । सबेरै चियामा सातु हाली एक दुई कटौरा खोले बनाई पिए फाइदा हुन्छ । कदाचित सबेरै हिँड्नु परी खानाको बन्दोबस्त मिलेन भने खालि सतु आधा मुठी वा एकै मुठी फुको खाई त्यसका पछि घ्यू हालेको तातो चिया खानू । त्यसो नभई भोको हिँड्यो भने हावा घुस्न गई सारै खराबी भई खाना खाएपछि पनि जीउ फूर्तिलो हुँदैन । रोगको जोखिमी रहन्छ । चिया पनि चिसो खान हुँदैन, बेफाइदा गर्छ । एकदम धेरै खानुभन्दा बखत बखतमा खानुपर्छ । भोटमा हावा बचाउको लागि दिनको ४÷५ पटक खाने कुल्ली खेतालासमेतको दस्तुर छ ।
मासुलाई
टिङ्री, कुतीदेखि भित्र र झुगादेखिभित्र ठाउँ–ठाउँमा ठुलठुला गोठ छन् । गोठालाहरूसँग तसल्ल रहे खरीदी पाइएला । नभए नाका मिलाई लुट्नुपर्छ । सबैका घरमा सुकुटी राखेको हुन्छ । काम दिन्छ तापनि टिङरीसम्मलाई बन्दोबस्त हुनुपर्छ । त्यसदेखि माथिलाई यसतर्फको लागि काम चलाउनलाई उति फाइदा, जरूरत पर्दैन तापनि हर्जा नहवस् भन्नको निमित्त केही पठाउनुपर्छ ।
मद्दती रासिन
सेकार गुम्बामा धेरै अन्न, सत्तु खाने गहुँ, केराउ र मासुको सुकुटी हुन्छ । सेकार, साके, लम्बङ्का इलाकामा धेरै घट्ट छन्, गोठ छन् । सो गोठ घट्टका अन्न हात पारी भोटेका रैती भोटेनीहरूबाट काम लिए त्यसदेखि माथिलाई रासिनको जोखिमी होला भन्ने शङ्का लिनुपर्दैन । ज्यादा मिचिएका रैती हुनाले थोरै बक्सिस् मजदुरी दिनाले खुसी हुन्छन् । चिढिए भने बिना कारणै पछिको बाटो नहेरी हलबल गर्ने भोटे भोटेनीको दस्तुर छ । मिलजुल बसउठ भए तापनि बाँडाहरूले बीचबीचमा धोका दिन बेर लाउँदैनन्, यिनीहरू अन्धविश्वासी हुन्छन् ।
चढाउभन्दा अघि विचार गर्नुपर्ने
साकाझुङ पश्चिम भोटको फौज छैन तापनि हुकुम उर्दीसाथ उठ्न बेर नलाउने रैती हुनाले हाम्रातर्फका रैतीहरूमा जोखिमी पर्न नजावस् भन्नको निमित्त मस्ताङ, ताग्लाखार, जुम्ला, हुम्लातर्फका र ७÷१८ सय खोलातर्फका भोटमा खुलिरहेको बाटो गौंडामा १००÷२०० जवानका दरले सिपाहीँ राख्नाले फाइदै होला ।
नेपाल पूर्वमा लामाबगरलगायतका बाटा गौंडामा मौकाअनुसार १÷२ सय र ओलाङचुङ गोलामा टङ्केमा उसको फौज हजार रहेकाले बेतालिमी छ तापनि कमसेकम पनि ५०० फौज राख्नुपर्छ । काम परे दिगर्चा तोड्नालाई ठुलो फौज चाहिएला । त्यसको मद्दत बचाउलाई चाहिने रासिन बोक्ने खच्चड, घोडा, चौरी, गधा रासिन बोकाई त्यसै बाटाबाट लान इन्तिजाम पु¥याई नराखे कुतीको बाटो टाढा पर्न गई बोकोलाई बेफाइदा हुने हुनाले ओलाङचुङगोलामै इन्तिजाम गर्नाले फाइदा होला । टङ्केमा भोटेको फौज रहेकोले ओलाङको सो बाटो घोडा खच्चड निकाली टिङरीतर्फ ल्याउन नपाउने जोखिमी हुनाले र टिङरीमा फौज रासिनको अड्डा राख्नुपर्ने जरुरी भयो भने मानिसबाट काम लिन मुस्किल पर्ला । तसर्थ पूर्वतर्फका घोडा, खच्चड, चौरी, गधा, रासिन मद्दतलाई चाहिने फौजसमेत सोलुखुम्बुमा मजबुत पुयोइराख्नाले ठुलो फाइदाबेगर नोक्सान हुनेछैन ।
पश्चिम १÷२ नम्बरतर्फका चौरी, घोडा, खच्चड रसुवाको बाटो गरी १८÷७÷५ सय खोलातर्फका चौरी, गधा झोंगामा पुग्ने बाटो चौरी लैजाँदा हावापानीको पूरा बचाउ नगरी औलको बाटो पर्न गयो भने नोक्सान हुन्छ । अघि बृटिसका लडाइँमा बाटो फरक पर्न गई चौरी मरेकाले त्यसबाट काम लिन सकेनन् । त्यसकारण हावापानी चरनको पूरा हिफाजत पु¥याउनुपर्छ । तयारी रहे टापु हिमालहरूमा पनि भारी बोकी जानसक्छ तर घोडा, खच्चड जत्तिको चाँडो हिँड्दैन ।
अब चढाउलाई
भोटेको कुतो केरुङबाट तीन तीन हजार फौज आएको छ भन्ने सम्झी चढाउ गर्नुपर्ने हुनाले धेरै दिन रोकिए नोक्सानीको शङ्का रहने हुनाले एकदम मिची चढौला भन्ने हेतु लिई सो बाटोबाट ३÷३ हजार अर्थात् ६००० फौज चढाउ गरेमा भोटेको पछाडिबाट मद्दतगार फौज धेरै छ भन्ने सम्झी हाम्रो फौजको मद्दतलाई ३ हजारको पछि ३ हजार मद्दतगार फौजसमेत १२ हजार फौजको चढाउ भए एकदम मार्च भएको फौजले टिङरी मैदानमा जब आफ्नू टिपा लेलान् तब भोटे जितियो भन्ने प्रस्टै पर्न गई प्रफुल्लित भएको गोर्खा सरकारका फौजतर्फ ह्याउ गर्न नसकी मलिन भई झुकेको भोट सरकारले मिलनको इरादा गर्नुपर्ने कारण पर्न आउनेहोला । तसर्थ जति कोशिशले हुन्छ हाम्रोतर्फबाट भोटेले खबरै नपाई कुती, केरुङमहाँ तै जोड्न नपरी टिङरी लिनसके ठुलो फाइदा देखिन्छ ।
टिङरीसम्म पुगेपछि भोटेले सन्धि गर्नाको कोशिश गर्ला तैपनि आफ्ना बहादुरीसाथ सेकार, लचि फिजोलिङ, साके गुम्बा मिची दिगर्चा भित्रसम्मको जग्गा हात परेपछि भोटको मुख्य मुटु ठाउँ हुनाले रासिन पानी बन्द भई सबैतर्फबाट कसिन गई भोटलाई ह्याउ गर्न मुस्किल होला । त्यस्तो जग्गा हुनाले अघि ११ सालमा पनि दिगर्चा नपुग्दै भोटेले सुलह गरेको हो ।
कदाचित पहिले यी टिङरी लिन सकिएन र भोटको फौजसँग केरुङ, कुतीका टिप्पामा भिड्नु प¥यो भने उनीहरूको लड्ने ठाउँ टापु पर्न गई अग्लो पर्न जाने र यसतर्फ सो नजीकको जग्गा बहुतै अक्कर ठाउँ र बाटो पनि कमसल, उसमाथि उनीहरू रहेको टिप्पाभन्दा ज्यादै होचो र भिड्ने ठाउँ नपरेको, उसतर्फबाट चोरी हान्न पाउने हुँदा ज्यादै जोखिमी ठाउँ छ ।
तातोपानी कोदारी चौकीबाट कुतीतर्फ जाँदा पहिलो बास खासा, दोस्रो छोस्याङ, त्यसपछि कुती हो तापनि फौज राख्ने ठीक ठाउँ नहुँदा खासादेखि छोस्याङ घट्टेकुला पुराना कुतीमा बन्डा गरी राखी त्यहाँबाट हिँडाएपछि एकदम कुती नाघी सुनागुम्बा थुलुङ लङ्गुरमा राखी त्यहाँबाट टिङरी पुग्दछ । कुतीदेखि उता मैदान हुँदा फौज बस्नलाई ठाउँ असलै छ । तर, कुतीबाट जितिएका भोटेले भैरव लङ्गुरमा आड लिनेछन्, उत्तरतर्फबाट आउने बाटो पनि छ । लड्नलाई जोखिम, भोटेको हातमाथि पर्ने, छापा दिन मिल्ने जग्गा छ । पूरा होशियार राख्नुपर्ने बिकट छ ।
रसुवाबाट चलेको फौजलाई बीचमा बास बस्ने ठाउँ असल नहुँदा केरुङमै पु¥याउनुपर्ने जस्तो छ । केरुङबाट हिँडेपछि झोंगा नपुग्दासम्ममा दुईतर्फ ठुलाठुला पहाड, हिमाल परी बीचमा खोला हिँड्ने सोताको बगर, पानीबाट हिँड्नुपर्छ । ठाउँ–ठाउँमा काठेपुल हालिराखेको छ । तर, घोडा, खच्चड, चौरीहरू केरुङदेखि टिङरीसम्म सरासरै जान सक्छन् । केरुङबाट एकदम झोंगा पुग्न नसके बीचमा फौजीलायकको बास छैन । यो लेखिएको बाटो लड्नलाई बहुतै बिकट गौंडा परेको छ ।
झुङ्गादेखि उता चढाउ गर्नलाई त्यहाँ म्याख्युङला भन्ने ठुलो बिकटको लङ्गुर चढ्नुपर्छ । सो टापुबाट हानेको तोपका फयेरले झुङ्गामा ठुला नोक्सानी पु¥याउन सक्ने नाका परेको छ । सो लङ्गुरमा हिँड्दा पनि दुवैतर्फ पहाडले छेकेको छेडोबाट हिँड्नुपर्छ । टापुमा निस्केपछि त्यस टापुका लाइनमा अनेक टापुको पत्र पर्न गई बीचमा फौज लुक्न सक्ने कति इयत्ता मिल्न नसक्ने खोल्साका खोल्सा परिरहेका, सो खोल्साहरूबाट हिँड्नु परी अर्को खोल्सामा दृष्टि नपुग्ने हुँदा ठुलो होशियारीसाथ पार हुनुपर्छ । सो पर्वत पार भएपछि झुङ्गादेखि हिँडेको लेखिएको लङ्गुर काटी सचीपोखरी भन्ने ठाउँमा बास पर्छ ।
सो सचीपोखरीकै तीरमा साना–साना गाउँ छन् । यसै ठाउँमा दिगुधाङ भन्ने ठुलो मैदान छ । त्यहाँ आवादी छैन । बीचबीचमा धाप तलाउ परेको छ । यहाँ वनघोडाहरू पनि बथानका बथान चरिरहेको देखिन्छ । यसै ठाउँबाट कुती निस्कने बाटो छ ।
सचीपोखरीबाट सो दिगुथाङ मैदान दिनभर हिँडी एकुइथाङ मैदानको झ्यामाङ्पो भन्ने ठाउँमा बास पर्छ । यसमा दुई नाम रहेको मात्र हो तर एउटै ठुलो मैदान छ । बीचबीचमा गोठहरू धेरै छन् । यसको दायाँ–बायाँ गाउँ पनि छ । चारैतर्फ सोता परेकोले बाटोको अन्जाम हुनसक्तैन ।
सो झ्यामाङ्पोबाट केही मैदान हिँडेपछि पर्वत चढी भाङकाङतोएमा बस्नुपर्छ । यहाँबाट पनि कुती निस्कने बाटो छ जसमा कि भैरवलङ्गुर काट्नुपर्दैन । यो गाउँ ठुलै छ । तर, आवादी कम छ ।
भाङकाङतोबाट हिँडी भाङकाङमेमा बास पर्दछ । सो बाटोमा केही बिकट र गाउँसमेत पर्छ ।
सो भाङकाङमेबाट बीचमा नअडाई मैदानै मैदान टिङरीमा पुगी दुवैतर्फको बाटो मिली फौज जोडिन्छ ।
टिङरी सर भएपछि चाकुरा भन्ने मैदानका गाउँमा बस्न सक्तछ तर पहाडको काखमा परेकोले पहाडबाट हान्ला भन्ने ठुलो जोखिम छ । त्यहाँबाट सेकार गुम्बामा पुगिन्छ । यस ठाउँबाट खोलैखोला टङ्केतर्फ जाने बाटो छुट्छ ।
टिङरी छुटेका पक्षमा भोटेले सेकारको आड गरी बहुतै जोड दिई लड्नेछ । यस ठाउँमा मूल–बाटोबाहेक उत्तरतर्फबाट आउने ठाउँ–ठाउँमा बाटो छ । यहाँ गाउँ छन् । गुम्बा र झोङ छन् ।
सेकारसर भयो भने लोलास्या भन्ने ठाउँमा आड लिन्छन् । यहाँ ग्याछोला भन्ने लङ्गुर यही बीचमा छ । लोलोबाट दिनभर ग्याछोला लङ्गुर हिँडी ढाक्वा भन्ने ठाउँमा बास पर्छ । यो ग्याछोला लङ्गुर सारै बिकट, ठाउँ–ठाउँमा पर्वतका पर्वत भई खण्ड परेको छ । यहाँ भेँडा च्याङ्ग्रा चौरीहरूको गोठ ज्यादै छ । ठाउँ–ठाउँमा वन घोडा पनि देखिन्छ । पर्वत काटिसकेपछि खोलाखोलै हिँड्नुपर्छ । यस पर्वतमा भोटेले ठाउँ–ठाउँमा टिप्पा टिप्पा लिई जोड दिई लड्नेछ ।
त्यहाँबाट ढउयाल्हचीमा बास पुग्छ । ल्हचीमा ठुलो गाउँ र गुम्बा झोङ छन् । यहाँ पनि भोटेले जोडै गर्नेछ । यहाँबाट साकेगुम्बा जाने र फिंजोलिङ जाने बाटो छुटिन्छ ।
ल्हचीबाट टासी भन्ने ठाउँमा बास पर्छ । ब्रह्मापुत्रको किनारै किनार हिँड्नुपर्ने बिकटको बाटो छ । त्यहाँबाट फिजोलिङ झोङमा पुगिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *