भर्खरै :

“मास्क लगाउनु सामाजिक दायित्व हो”

वाशिङ्टन, ११ असार । संरा अमेरिकाका सङ्क्रामक रोगविज्ञ डा. एन्थोनी फाउसीले मुखमा मास्क लगाउनु ‘विशुद्ध स्वास्थ्यसँग सम्बन्धित विषय भएको’ भन्दै उक्त विषयलाई राजनीतिकरण गर्न नहुने बताएका छन् ।
मुखमा मास्क लगाउने विषयलाई समेत संरा अमेरिकामा राजनीतिकरण गरिएको विषयमा बुधबार एउटा अन्तर्वार्तामा सोधिएको जिज्ञासाबारे संरा अमेरिकामा कोभिड–१९ महामारीविरूद्ध अग्रमोर्चामा सक्रिय विज्ञ डा. फाउसीले भने, “सबैले सार्वजनिक स्थानमा बस्दा मुखमा मास्क लगाउनुपर्छ । मास्क लगाउनु सामाजिक जिम्मेवारी हो । कुनै एक व्यक्तिलाई जोगाउन होइन, सम्पूर्ण मानिसको रक्षाको लागि मास्क लगाउनुपर्छ ।”
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको सरकारका अन्य पदाधिकारीहरूले सार्वजनिक स्थल, मानिसको हुल हुने चुनावी ¥याली र ह्वाइट हाउसका कार्यक्रममा मुखमा मास्क लगाउन आवश्यक नभएको भनी विरोध गरेका थिए । उनीहरूले आफ्ना समर्थकहरूलाई मास्क नलगाउन सार्वजनिक आह्वान गर्ने गरेका छन् ।
“मास्क लगाउनु कुनै राजनीतिक विषय होइन । यो विशुद्ध जनस्वास्थ्यको मुद्दा हो । राजनीतिलाई एक छेउमा राख्नुस् । तथ्याङ्कलाई ध्यानमा राख्नुहोस्”, उनले भने ।
“एक जना व्यक्ति सङ्क्रमित हुँदा उसले अरू आफूभन्दा कमजोर मानिसलाई रोग सङ्क्रमण गर्नसक्छ”, फाउसीले भने ।
संरा अमेरिका आज संसारमै सबभन्दा बढी कोरोना सङ्क्रमण फैलिरहेको देश हो । तथापि, त्यहाँको ट्रम्प सरकारले कोरोना सङ्क्रमणलाई लगातार न्यूनाङ्कन गर्दै छ । ट्रम्प सरकारले नै पत्याएको विज्ञ डा.फाउसीले भने यसबीच धेरै पटक ट्रम्प सरकारका पदाधिकारीहरूको मतप्रति विमति राख्दै मास्क लगाउनु कोरोनाबाट जोगिन शतप्रतिशत प्रभावकारी नभए पनि प्रभावकारी भएकोमा सन्देह गर्न नहुने बताएका छन् ।
“मलाई लाग्छ, मास्क लगाउनु अरू व्यक्तिको सम्मान गर्नु हो । साथै अरूबाट आफू सम्मानित हुनु पनि हो । तपाईंले मास्क लगाए, अरूले पनि मास्क लगाउनेछन् । अनि सबैले सबैको सुरक्षा गर्नेछन्”, फाउसीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *