भर्खरै :

भक्तपुर नगरपालिकाको सातौँ नगरसभा चालू

भक्तपुर, १२ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सातौँ नगरसभाको बैठक शुक्रबार बस्यो ।

सभामा नगर प्रमुख प्रजापतिले नागरिकता विधेयक, एमसीसी सम्झौता, नेपाली भूमि अतिक्रमण र कोरोना भाइरसको जोखिमलगायतका राष्ट्रिय- अन्तर्राष्ट्रिय विषयबारे छलफल हुनु सकारात्मक भएको बताउँदै देश सङ्कट परेको समयमा जनप्रतिनिधि तथा कर्मचारीहरूले इमानदारीपूर्वक जनताको सेवा गर्नुपर्ने बताउनुभयो ।

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्सा सार्वजनिक गर्नु राम्रो पक्ष भएको उल्लेख गर्दै उहाँले खुला सिमानाका कारण नागरिकता विधेयक नेपालको लागि निकै संवेदनशील विषय भएको बताउनुभयो । विवाह गर्नेबित्तिकै सजिलै अङ्गीकृत नागरिकता पाउने र अङ्गीकृत नागरिक प्रशासनिक र राजनैतिक पदहरूमा प्रतिस्पर्धा गर्न पाउने बन्दोबस्तको अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो ।

प्रमुख प्रजापतिले कम्युनिस्टहरूले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउँदै भक्तपुर नगरपालिकाले  कोरोना भाइरस सङ्क्रमणबाट नगरवासीहरूलाई जोगाउन विभिन्न गतिविधिहरू गरेको बताउनुभयो ।

सभाको विशेष समयमा सभासद्हरू गोविन्द दुवाल, हरिरत्न गोर्खाली, सिद्धिराम अवाल, सूर्यप्रसाद श्रेष्ठ, इन्द्रबहादुर प्याठ, राजेन्द्र माक, रञ्जना त्वाती, श्यामसुन्दर मातां, जितेन्द्र मुनंकर्मी, सम्झना खाइजु र शिवप्रसाद बालाले कोरोना बिरामीको लागि सरकारले राम्रो उपचार नगर्दा नेपाली जनतामा मानसिक तनाव बढेको बताउनुभयो ।

कोरोना सङ्क्रमितको उपचार गर्न र पीडितलाई राहत दिन जनताबाट अर्बौँ रुपैयाँ सङ्कलन गरी खडा गरेको कोरोना कोषको रकममा भ्रष्टाचार भएकोमा ध्यानाकर्षण गर्दै उहाँहरूले विपद्को समयमा भ्रष्टाचार गर्नेहरू जनताका शत्रु भएको, सरकारले स्मार्टसिटी, अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्ने नाममा जलाधार क्षेत्र, सिमसार क्षेत्रलाई म्हास्ने काम गरिरहेको,  पोखरीमा नौका बिहार तथा माछापालन सञ्चालन गर्नुपर्ने, नागरिकता सिनेमा हलको टिकटजस्तै सजिलै वितरण गर्न नहुने, एमसीसी सम्झौता नेपालको हितविपरीत भएको हुँदा त्यसको खारेजी गर्नुपर्ने बताउनुभएको थियो ।

विनियोजन विधेयकमाथिको छलफलमा सभासद् गोविन्द दुवालले पर्यटन शुल्क नउठ्ने भएकोले जनप्रतिनिधिहरूले यो आर्थिक वर्षमा विदेश भ्रमण नगर्ने र बैठक भत्ता आधा लिने निर्णय समयसापेक्ष भएको र खानेपानी व्यवस्थापनको लागि खानेपानी बोर्डलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो ।

सभासद् हेरा ख्याजूले उद्योग तथा व्यवसाय कर समयअनुसार बढाउनुपर्ने र दर्ता नभएकालाई करको दायरामा ल्याउनुपर्ने बताउनुभयो । विनियोजन विधेयकमाथिको छलफलमा सभासद्हरू इन्द्रबहादुर प्याथ, हेरा ख्याजु, शिवप्रसाद बाला, बलराम न्हिसुतु, राजेन्द्र माक, तुल्सीलक्ष्मी दुमरु, सूर्यप्रसाद श्रेष्ठलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

नगरसभाको अर्को बैठक असार १४ गते दिनको १ बजे बस्ने गरी स्थगित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *