भर्खरै :

भक्तपुर जिल्ला फूटबल सङ्घ विघटनविरुद्ध विभिन्न जिल्लाका खेलाडी एक ठाउँमा

ललितपुर, १२ असार । गत असार २ गते अखिल नेपाल फूटबल सङ्घ (एन्फा) ले विधानविपरीत भक्तपुर जिल्ला फूटबल सङ्घ विघटन गरी तदर्थ समिति गठन गरेको विरोधमा विभिन्न जिल्लाका एन्फा नेतृत्व एक ठाउँमा आएका छन् । विघटनको निर्णय बदर गर्न माग गर्दै भक्तपुर जिल्ला फूटबल सङ्घका अध्यक्ष गौतम सुजखूसहित सङ्घका पदाधिकारी, ललितपुर जिल्ला अध्यक्ष पुरुषोतम थापा र धादिङ जिल्ला अध्यक्ष दिपक खतिवडालगायतको टोलीले शुक्रबार एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा ज्ञापनपत्र बुझाएको छ ।
एन्फालाई बुझाइएको पत्रमा भक्तपुर जिल्ला फूटबल सङ्घ विघटन गर्न प्रस्तुत गरिएका सबै आधार झूटा भएको उल्लेख छ । पत्रमा २०७४ को चैत २७ गते अखिल नेपाल फूटबल सङ्घ (एन्फा) का प्रतिनिधि सञ्जीव मिश्रलगायतको उपस्थितिमा सम्पन्न साधारण सभाबाट गौतम सुजखूको अध्यक्षतामा भक्तपुर जिल्ला फूटबल सङ्घको नयाँ कार्यसमिति निर्वाचित भएको र चितवनमा २०७५ साउन ३० मा भएको एन्फाको १७ औँ विशेष साधारणसभा र २०७६ चैत ९ गते साफ महिला फूटबल प्रतियोगिताकै क्रममा विराटनगरमा भएको साधारणसभासमेतमा सङ्घबाट प्रतिनिधित्व भएको उल्लेख गर्दै सङ्घले धारा १४(१) (क) अनुसार एन्फाको विधान, नियमावली, निर्देशिका तथा निर्णय पालना तथा दायित्व वहन गर्दै आएको उल्लेख छ ।
एन्फाको २०७६ साउन १४ को आपत्‍कालीन बैठकबाट भक्तपुर जिल्ला फूटबल सङ्घबारे छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदनमा उल्लेखित आरोप निराधार रहेको भन्दै जिल्ला लिग सञ्चालनमा क्लव दर्ताको लागि स्थानीय पत्रिकामा १० दिनको म्याद राखी सूचना पठाएको, सोही अवधिमा दर्ता गरेको टीम क्लव राखी लिग सञ्चालन गरेको र नियम प्रक्रिया नपुर्‍याई दर्ता गर्न आएका टीम क्लवलाई मात्र दर्ता नगरिएको सो पत्रिकामा बताइएको छ ।
सो सम्बन्धमा छानबिन समितिका प्रतिनिधि मधुसुदन उपाध्यायलाई विधानको धारा २१ उपधारा ३ (क) र (ट) अनुसार रहेको प्यानसहितको टीम क्लव दर्ताको कागजात पेश गरेको र सो क्रममा एन्फाको नियमावली सच्याएको वा विधान तथा नियमावलीविपरीतको कुनै पनि कार्य नभएको बताइएको छ । “लिग सञ्चालनको लागि एन्फाबाट प्रेषित प्रतियोगिता नियमावलीले जिल्ला सङ्घलाई दिएको अधिकार प्रयोग गरी जिल्ला सङ्घको निर्णयअनुसार सो नियमावलीको अन्तमा क्लवहरूको जानकारीको लागि मात्र प्रतियोगितामा क्लव दर्ता र धरौटी शुल्क र लिगको अन्तिम निर्णायक अधिकार जिल्ला सङ्घलाई हुने भनी नियमानुसार आवश्यक बुँदाहरू थप गरी टीम क्लवलाई पत्राचारसम्म गरेको हो”, महासचिवलाई बुझाइएको पत्रमा उल्लेख छ ।
भक्तपुर जिल्ला फूटबल सङ्घका पदाधिकारीहरूले एन्फा कार्यसमितिले निजी स्वार्थलाई सर्वोपरि ठानी विधानविपरीत र आर्थिक अनियमियतता गरेको तथा सदस्य सङ्घहरूलाई निषेधको व्यवहार गरेकोले छानबिन र कारबाहीको माग गरेकोमा रिसइवी साध्ने बदनियतले मात्रै एन्फाको विधानविपरीत यस भक्तपुर जिल्ला फूटबल सङ्घ विघटनको निर्णय गरेको विघटित कार्यसमितिले बताउँदै आएको छ ।
एन्फा विधानको धारा ५४ ले कार्यसमितिले आवश्यक देखेमा खास काम र निश्चित अवधिको निम्ति तदर्थ समितिहरू गठन गर्नसक्ने व्यवस्था भएको तर प्रतिस्थापन गर्ने अधिकार विधानले एन्फा कार्यसमितिलाई नदिएको भन्दै यसरी विधानविपरीत हचुवा भरमा गरेको प्रतिस्थापनको निर्णय बदर गर्न माग गरिएको छ ।
भक्तपुर जिल्ला फूटबल सङ्घलाई कुनै स्पष्टिकरणको मौका अर्थात् निष्पक्ष सुनुवाइको मौकासमेत नदिई हचुवा तथा पूर्वाग्रह राखी गरेको असार २ गतेको निर्णय एन्फा विधानविपरीत भएको उनीहरूको भनाइ छ । सङ्घका उपाध्यक्ष रामकृष्ण प्रजापतिले एन्फाको निर्णय फिर्ता गर्न माग गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई पनि ज्ञापनपत्र दिइने जानकारी दिनुभयो ।
एन्फाले जिल्ला फूटबल सङ्घ विघटन गरेको विरुद्ध टिम क्लव र फूटबल खेलाडीहरूको भेला
भक्तपुर जिल्ला फूटबल सङ्घको आयोजनामा अखिल नेपाल फूटबल सङ्घ (एन्फा) ले असार २ गतेको बैठकको निर्णय सम्बन्धमा जिल्लाका ३३ वटा टीम क्लवका प्रतिनिधि, प्रशिक्षक, रेफ्रि, फूटबल खेलाडी र खेलप्रेमीहरूको भेला भयो ।
भेलामा बाग्मती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले “विष नभएको सर्प हुँदैन, ईख नभएको मान्छे हुँदैन भन्ने आहान स्मरण गर्दै गलत ढङ्गले विघटन गरेको कार्यविरुद्ध कानुनी सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
उहाँले अरुको पछि नलागी आफ्नै खुट्टामा उभिएर खेलकुदको विकास गर्नुपर्ने बताउँदै देश र जनताको निम्ति काम गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगर खेलकुद समितिका पूर्वसंयोजक उकेश कवांले राखेप र केन्द्रीय खेलकुद सङ्घहरू गुण्डागर्दी र भ्रष्टाचारका साथै चुनावमा हत्याहिंसाको निम्ति प्रयोग गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नगर खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, भक्तपुर जिल्ला फूटबल सङ्घका अध्यक्ष गौतम सुजखू, उपाध्यक्ष रामकृष्ण प्रजापति र पूर्वराष्ट्रिय खेलाडी सुनिल प्रजापतिले एन्फाले विधानविपरीत भक्तपुर जिल्लालाई विघटन गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *