भर्खरै :

निर्णय नेपाली जनताको हातमा

            संरा अमेरिकी विदेशमन्त्री माइक पम्पेओले जर्मनीमा तैनाथ आफ्नो देशको सेनाको सङ्ख्या घटाएर हिन्द–प्रशान्त क्षेत्रमा परिचालन गर्ने अभिव्यक्ति दिएका छन् । यसअघि संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि स·ठन (नाटो) का सदस्य देशहरूलाई आफ्नो कुल बजेटको २ प्रतिशत नाटोमा खर्च गर्न भनेका थिए । त्यसो नगरे अमेरिकाले नाटोका सदस्य देशको सुरक्षाको लागि संरा अमेरिकाले परिचालन गरेको आफ्नो सेना फिर्ता गर्ने उनले बताएका थिए । नाटोका अरू सदस्य र संरा अमेरिकाबीच अहिले यो विषयमा विवाद फराकिलो बनेको छ । एसिया, अफ्रिका, दक्षिण अमेरिकाका देशमाथि प्रभुत्व जमाउन एकै मोर्चामा लामो समयदेखि बाँधिएको संरा अमेरिका र युरोपेली देशहरूबीच हाल मतान्तर बढ्दै जानुका धेरै कारणमध्ये एउटा प्रमुख कारण यही हो । युरोपमा सबभन्दा धेरै सङ्ख्यामा अमेरिकी सेना जर्मनीमा छन् ।
            माइक पम्पेओको पछिल्लो अभिव्यक्तिले युरोपसँग मतभेदमात्र उजागर गरेको छैन, बरु संरा अमेरिकाको निशाना हिन्द–प्रशान्त क्षेत्रमा केन्द्रित हुँदै गएको प्रस्ट छ । हिन्द–प्रशान्तमा अमेरिकी सेनाको सङ्ख्या बढाउनुको उसको मूल ध्येय चीन, रुस र प्रजग कोरियालाई घेर्नु हो । एकधु्रवीय विश्व व्यवस्थाको पक्षधर संरा अमेरिका संसारमा कुनै पनि साना–ठुला शक्तिले चुनौती दिएको सहन सक्दैन । आजको विश्वमा संरा अमेरिकाको प्रभुत्ववादलाई चीन, प्रजग कोरिया र रुसले लगातार चुनौती दिँदै आएका छन् । शीतयुद्ध यता संसारमा एकछत्र प्रभुत्व जमाउँदै आएको संरा अमेरिकाले आफूमाथिको चुनौती सहन सकेको छैन । त्यसकारण अमेरिकी शासक वर्गको आजको प्राथमिकता यी देशहरूको राजनीतिक र आर्थिक अवसान हो । हिन्द–प्रशान्त रणनीति संरा अमेरिकी शासक वर्गले यही हेतुले डिजाइन गरेको रणनीति हो । पुँजीपति वर्गबीच नाफा बाँडचुँडमा हिस्सेदारी नमिल्दा नहुने युद्धको भार अब एसियातिर धकेल्ने विश्व पुँजीवादको डिजाइनअनुसार पनि आज हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी सैनिकको सङ्ख्या क्रमशः बढाइएको छ ।
            संसारकै सबभन्दा ठुलो र बढी जनसङ्ख्या भएको देशमा पर्ने भारतलाई युद्ध र आक्रमणको लागि उक्साउँदै आज संरा अमेरिका यो क्षेत्रलाई युद्धको मैदान बनाउन खोजिरहेको छ । भारतको मोदी फासीवादी सत्ताले संरा अमेरिकी युद्धपिपासु शासनलाई अझ बढावा दिइरहेको छ । नेपालमा अहिले चर्चामा रहेको अमेरिकी सहस्राब्दी चुनौती परियोजना (एमसीसी) पनि हिन्द–प्रशान्तमा द्वन्द्वको बिजारोपण गर्ने संरा अमेरिकी योजनाकै हिस्सा हो । पश्चिमा शक्तिहरूले डलर र बाइबल बोकेर संसारभर आफ्नो साम्राज्य फैलाएका थिए । अहिले पश्चिमा शक्तिले बोक्ने हतियार फरक भएको छ । आज ती देशहरू आर्थिक सहायता, पूर्वाधार विकास, सांस्कृतिक सम्बन्धको नाममा संसारमा आफ्नो प्रभावलाई निरन्तरता दिन खोजिरहेका छन् । एमसीसी अमेरिकाले नेपालमा आफ्नो प्रभुत्व बलियो बनाउन र आफूलाई आवश्यक पर्दा नेपाली भूमिलाई आफ्नो शत्रु देशविरुद्ध प्रयोग गर्न नेपाललाई देखाएको डलर हो । बलि दिनुअघि बोकालाई हरियो घाँस खान दिएजस्तै आफ्नो नवउपनिवेश बनाउन अमेरिकी शासक वर्ग नेपाललाई ५० करोड अमेरिकी डलरको हरियो घाँस देखाइरहेको छ ।
            अब नेपाली जनताले निक्र्योल गर्नुपर्नेछ– अमेरिकी डलरको लोभमा बलि बन्न तयार हुने वा देश हितविपरीतको सो रणनीतिको खारेज गरी संसारभर साम्राज्यवादविरोधी सन्देश प्रवाह गर्ने । विश्व इतिहासबारे जानकार जो कोहीलाई थाहा छ, साम्राज्यवादी शक्तिले बिना कुनै प्रभुत्ववादी उद्देश्य कुनै पनि देशको नाममा कति पनि पैसा सहयोग गर्दैन । बकुला तपस्या बसेको कुरामा माछाले विश्वास गर्नु र अमेरिकाले नेपालको विकासको निम्ति अनुदान दिएको विश्वास गर्ने नेपाली एउटै हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *