भर्खरै :

विभिन्न जिल्लामा सलह फट्याङ्ग्रा, प्रकोपको सन्त्रास

बुटवल, १२ असार । शनिबार देशका विभिन्न जिल्लामा विनाशकारी सलह फट्याङ्ग्रा देखिएको छ । झन्डै दुई महिनाअघि पाकिस्तान र भारतका विभिन्न प्रदेशमा प्रकोपको रूपमा फैलिएको सलह शनिबार नेपालमा आइपुगेको बुझिएको छ । शनिबार दिउँसो बुटवलको आकाशमा सलह कीरा देखापरेको छ । आकाश छपक्कै ढाकिएर उडेका सलह उत्तर पाल्पातिर गएको छ । साँझपख पातलो गरी सलह दक्षिणतिर गएको छ ।
बुटवल बजारका हरियाली ठाउँहरूमा केही सलह कीरा तल तल झरे पनि बुटवल दक्षिण भैरहवा मणिग्रामतिर तलतिर नझरेको बताइएको छ । साथै, सलह बुटवल पश्चिम गाउँका आकाशतिर देखिएका छैनन् ।
सलहले बाली नष्ट गर्न सकिने भएकोले जनजीवनमा त्रास छाएको छ । यद्यपि सलहले के कति नोक्सान गरेको छ विवरण आएको छैन । यता बुटवल उपमहानगर पालिकाले प्रतिकेजी सलह मारी सङ्कलन गरेबापत २० रूपैयाँ राहत दिने जनाएको छ ।
त्यस्तै सर्लाही जिल्लाको लालबन्दीमा सलह कीरा भित्रिएको पाइएको छ । लालबन्दी नगरपालिका–२ को तेलबाली अनुसन्धान केन्द्रको फर्ममा करिब एक हजारको हाराहारीमा सो कीरा भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख देवानन्द राय यादवले जानकारी दिनुभयो ।
जिल्लाको लालबन्दी नगरपालिका–२ स्थित तेलबाली अनुसन्धान कार्यक्रममा लगाइएको विभिन्न बालीमा सलह कीराको प्रवेश देखिएको हो । “आज बिहान फिल्ड भिजिट गर्ने क्रममा बदाम, घैँचा, धानको बेर्नालगायतमा सलह कीराले झ्याप्पै छोपेको देखियो ।”, तेलबाली अनुसन्धान कार्यक्रमका संयोजक वरिष्ठ वैज्ञानिक डा. विशेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । सलह कीरा हजारौँको सङ््ख्यामा रहेको उहाँले बताउनुभयो ।
“शुक्रबार राति छिमेकी देश भारतबाट करिब एक हजार फट्याङ्ग्राजस्तो देखिने जातको सलह नामक कीरा नेपाल प्रवेश गरेको बुझिएको” उहाँले भन्नुभयो । जिल्लाका किसान चिन्तित बनेका छन् ।
फट्याङ्ग्रा वर्गको कीरामा पर्ने सलह अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो । नेपालमै पहिलोपटक शनिबार बिहान सलह कीरा देखिएको केन्द्रले जनाएको छ ।
सलह कीराले बालीमा अमेरिकी फौजी कीराले भन्दा अनेकाँै गुना बढी क्षति पु¥याउने जानकारले बताएका छन् । विज्ञका अनुसार करोडौँको सङ्ख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठदेखि असोजसम्म बढी प्रकोप हुने सलह कीरा एकै दिनमा १५० किलोमिटरभन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पु¥याउने विज्ञले बताएका छन् ।
प्राविधिक टोली खटिएको छ, त्यसको क्षतिको प्रकृति जातलगायतका बारेमा चाँडै पत्ता लगाउने उहाँले बताउनुभयो । सलह कीराको जातको पहिचान र व्यवस्थापनलगायतका काममा प्राविधिक टोली परिचालन भएको जनाएको छ ।
सलह सिन्धुलीका विभिन्न क्षेत्रमा देखिएको स्थानीयले बताएका छन् । सलहले त्यहाँ मकै, धानको बीउलगायत बालीनालीका साथै जङ्गल विनाश गरेको बताइएको छ ।
नेपालकै प्रमुख कृषि बाली धान रोप्ने समयमा सलहको प्रकोप देशभर फैलिए देशमा भोकमरीको समस्या आउने विज्ञहरू बताउँछन् । कोरोनाको महामारीले थिलथिलो बनेको देशको अर्थतन्त्रलाई सलहको प्रकोपले अझ कमजोर बनाउनेछ । भारत र पाकिस्तानमा प्रकोपको रूपमा फैलिएको बेलामा नेपालमा पनि यो प्रकोप आउनसक्ने अनुमान गरिएको थियो । सलह आउन सक्ने देखेर जेठको पहिलो–दोस्रो सातामा सरकारले रोपाइँ गर्न हतार नगर्न र धानको बीउ झुल वा कुनै जालीले छोप्न सूचना जारी गरेको थियो । पछि सरकारको सम्बन्धित निकायले ‘यो पटकको लागि सलहको डर ट¥यो’ भनी सार्वजनिक जानकारी दिएपछि किसानहरू ढुक्क भएका थिए । तर, देशैभरि रोपाइँले उचाइ लिइरहेको समयमा शनिबार सलह देखिएपछि किसानहरू अलमलमा परेका छन् ।
हावाको दिशा र गतिमा आएको परिवर्तनले सलह भित्रिएको अनुमान
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको सानो झुन्ड भित्रिएको अनुमान गरेको छ ।
नेपालमा मनसुन सुरु भइसकेको सन्दर्भमा यस कीराको प्रवेश हुने सम्भावना न्यून रहेको आँकलन हुँदै गर्दा मौसममा आएको परिवर्तन (खासगरी हावाको दिशा र गतिमा अचानक आएको परिवर्तन) ले सलहको सानो झुन्ड छरिएर आएको हुनसक्ने मन्त्रालयले प्रारम्भिक अनुमान गरेको हो ।
यस विषयमा जल तथा मौसम विज्ञान विभागसँग पनि निरन्तर समन्वयमा रही कीराको सम्भावित प्रवेशको सम्बन्धमा अनुगमन गरिरहेको मन्त्रालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ । आज बिहान सलह कीरा नेपाल प्रवेश गरी बारा, पर्सा, सिन्धुली, सर्लाही, रुपन्देहीलगायत जिल्लामा यसको उपस्थिति देखिएको छ ।
सलह लामो समयदेखि भारतको विभिन्न स्थानमा देखिएको थियो । नेपालमा पनि सम्भावित प्रवेशलाई दृष्टिगत गर्दै त्यसको अध्ययन गरी आवश्यक तयारी कार्य गर्न कृषि मन्त्रालयले जेठ १३ गते प्राविधिक कार्यदल गठन गरेको थियो । कार्यदलले अध्ययन गरी आवश्यक कार्ययोजनासहित प्रतिवेदन तयार पारिसकेको छ ।
मन्त्रालयले उक्त प्रतिवेदनका आधारमा सबै सम्बद्ध निकाय तथा प्रदेश, स्थानीय तहमा पर्याप्त संवाद र सहकार्यको काम भइरहेको जनाएको छ । यस बीचमा विश्व खाद्य तथा कृषि सङ्गठनका विज्ञसँगको परामर्श गरी सलहका सम्बन्धमा प्राविधिक जानकारी तयार पारी प्रकाशन गरिएको र विभिन्न सञ्चारमाध्यामबाट प्रचारप्रसार गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले सलह कीराको सङ्ख्या, अवस्था, फैलावट, क्षतिको आँकलन लगायतको विषयमा जानकारी लिन सङ्घीय निकाय र प्रदेशअन्तर्गतका प्राविधिकहरु परिचालित भइसकेको जनाएको छ । सङ्घ सरकारमातहत रहेको प्राविधिक कार्यदल र सम्बन्धित निकाय पनि सक्रिय भएका छन् । मन्त्रालयले प्राविधिकको सम्पर्क र समन्वयमा यस कीराको व्यवस्थापनमा सक्रिय रहन तीनै तहका सरकारका सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *