“नेपाल गए कपालसँगै बर्मा गए कर्मसँगै” भनेजस्तै मानिसका जीवनमा कतिपय कुराहरू एकाएक नचाहँदा नचाहँदै जोडिन आइपुग्ने रहेछन् । विज्ञान तथा प्रविधिको काँध चढेर असीमित प्रगति गर्न लम्किरहेको मानव संसार आजभोलि अदृश्य भाइरसका कारण आफ्ना गतिविधि बन्द गरी बस्न बाध्य भएको छ । सोही अदृश्य भाइरसबाट बच्नका लागि धेरै मुलुकमा बन्दाबन्दीको उपाय अवलम्बन गरिएको थियो । यद्यपि केही मुलुकमा बाहेक यो प्रायः मुलुकमा प्रभावकारी हुनसकेन । नेपालकै कुरा गर्दा करिब तीन महिनाको बन्दाबन्दीपछि पनि सङ्क्रमण झनै बढिरहेको अवस्था छ । आगामी दिनमा यो अवस्था अझै बढ्ने आकलन गर्नसकिन्छ । यो अदृश्य भाइरसबाट डराएर सारा क्रियाकलाप ठप्प पारी यसको समाधान भएपछि मात्र जनजीवन सञ्चालन गर्ने हो भने अरु विभिन्न समस्याले अर्को विकराल रूप नलेला भन्न सकिन्न । त्यसकारण अब यो भाइरसबारे सचेत र सजग भई दैनिक गतिविधि सञ्चालन गर्नुपर्ने देखिन्छ ।
यो भाइरस कसरी सर्छ भन्ने सामान्य जानकारी आम जनमानसमा अझै नपुगेको देखिन्छ । बजारमा हिँडेका कति मानिसहरूले कि त मास्क लगाएकै हुँदैनन्, लगाएकाहरूले पनि कि त नाक नछोपी मुखमात्र छोपेर लगाएको भेटिन्छ कि तन्काएर घाँटीमा लगाएको देखिन्छ । यसरी मास्क प्रयोग गर्नुको अर्थ नै हुँदैन भन्ने बुझाउनु जरुरी छ । नत्र मास्क लगाएकै छु भन्दै मानिस निर्धक्क भई भीडमा जान्छ र सङ्क्रमणको जोखिममा पर्दछ । त्यस्तै आम जनमानसलाई सामाजिक दुरीको बारेमा पनि बुझाउनुपर्ने देखिन्छ । पसल, हस्पिटल एवम् बजारमा आफ्नो पालो नपर्खी भीड लागेको देखिन्छ । केही क्षणको पर्खाइले सङ्क्रमणको जोखिमबाट जोगिन सकिन्छ भन्ने कुरा बुझाउन जरुरी छ ।
जनचेतना फैलाई जनजीवन सामान्य नबनाउने हो भने आत्महत्यालगायत अरु विभिन्न मानसिक समस्याले समाजमा अर्काे ठुलो समस्या निम्त्याउन सक्छ । केही क्षेत्रमा यस भाइरसको प्रत्यक्ष प्रभाव परेको छ । जस्तैः पर्यटन होटल आदि । यी क्षेत्रबाट रोजगारी गुमाएकाहरूलाई अन्य क्षेत्रमा लाग्ने वातावरण सरकारले तयार पार्नुपर्छ । रोजगार गुमाएकाहरूको पहिचान गरी उनीहरूलाई अन्य क्षेत्रमा लाग्न सुलभ दरमा कर्जा उपलब्ध गराउनुपर्छ र कुन क्षेत्रलाई कसरी के गर्दा जनजीवन सहज बनाउन सकिन्छ त्यसरी नै सहज बनाउँदै लानु उचित हुन्छ । उदाहरणको लागि रेष्टुराँहरूले प्याकिङ्ग गरेर घर एवम् कार्यालयमै सेवा दिने । त्यस्तै सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरूले अनलाइनमार्फत नै सुरक्षित तवरले कारोबार गर्न प्रोत्साहन गर्ने । सरकारी कर तथा राजस्व पनि अनलाइनमार्फत तिर्ने व्यवस्था गर्ने हो भने कर तथा राजस्व पनि सजिलै सङ्कलन हुन्छ । यी क्षेत्रमा हुने भ्रष्टाचार पनि न्यूनीकरण हुँदै जानसक्छ भने सङ्क्रमणको जोखिम न्यून हुने त छँदै छ ।
नेपाल सरकारले दुई हप्तादेखि बन्दाबन्दी केही हदसम्म सहज बनाएको छ तर सार्वजनिक यातायात सञ्चालन नगरेको कारणले धेरै मानिसहरूलाई समस्यामा पारेको छ । सरकारी अर्ध सरकारी एवम् उद्योग कलकारखाना सञ्चालन भएकोले आफूसँग सवारीसाधन नहुनेहरूले नियमित कार्यस्थल जान सकिरहेका छैनन् । यसलाई सहज बनाउन सहरका विभिन्न स्थानबाट ठुला सार्वजनिक बसहरू सञ्चालन गरिनुपर्दछ । जसमा भौतिक दुरी कायम हुनेगरी बस्ने स्थानको व्यवस्था गरिनुपर्दछ । सकिन्छ भने एउटा ज्वरोमापन गर्ने यन्त्र भयो भने ज्वरो नापेरमात्र यात्रा गराउँदा राम्रो हुन्छ । यदि यसो भएन भने फेरि पनि काम गरी खाने वर्गले दुःख भोग्नुपर्ने हुन्छ । निजी सवारी साधनले धेरै पैसा असुली यात्रु बोक्ने गर्छन् अनि कमाइको आधा हिस्सा यात्रामै खर्चिनुप¥यो भने हालत कस्तो होला ?
विद्यालय एवम् क्याम्पसहरू पनि बन्द भएको धेरै समय भइसकेको छ । जसको प्रत्यक्ष प्रभाव लाखौँ विद्यार्थीहरूमा परेको छ । सिर्जनशील हुनुपर्नेहरू कोरोनाको त्रासमा बसिरहेका छन् । शिक्षा मन्त्रालयले असार १ गतेबाट वैकल्पिक माध्यमबाट पठनपाठन गर्ने व्यवस्था गर्ने भनेर कार्यविधि बनाएर लागू गरेको त छ तर सबै ठाउँमा एकरुपता हुनसकेको छैन । कतै सिकाइ केन्द्रको स्थापना गरी पठनपाठन भइरहेको छ भने कतै एक एक गरेर कक्षागतरूपमा विद्यार्थीलाई विद्यालयमै बोलाई पाठ्यसामग्री र गृहकार्य वितरण भइरहेको छ । कतै भने केही पनि हुनसकेको छैन । केही निजी क्याम्पस र विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरेका त छन् तर विश्वविद्यालय एवम् सरकारको स्पष्ट निर्देशन नहँुदा शिक्षकहरू बिनापारिश्रमिक पढाउन बाध्य भएका छन् भने अधिकांश विद्यार्थीहरू इन्टरनेटको सुविधा नभएकोले कक्षा लिनबाट वञ्चित भएका छन् । इन्टरनेटको सुविधा भएकाहरू पनि क्याम्पस एवम् विद्यालयमा शुल्क बुझाउनुपर्ला भनेर कक्षामा उपस्थित हुन हिच्किचाइरहेका छन् । निजी शिक्षालयहरूमा अध्यापन गराउने शिक्षकहरूले पारिश्रमिक नपाएको ४ महिना हुन लागिसकेको छ । यही अवस्था रहिरहेमा के शिक्षकहरू आफ्नो पेशाप्रति आकर्षित भइरहलान् ? राज्यले यो समस्यालाई गम्भीर ढङ्गले लिन ढिला भइसकेको छ ।
बढ्दै गरेको कोरोना प्रकोपलाई मध्यनजर राख्दै विश्वका प्रख्यात शैक्षिक संस्थानहरूले उपलब्ध भएको प्रविधिलाई प्रयोग गरेर शैक्षिक गतिविधिलाई अगाडि बढाइरहेका छन् । यसै सन्दर्भमा भारतको क्ष्लमष्बल क्ष्लकतष्तगतभ या त्भअजलययिनथ बम्बइले यो वर्षको सम्पूर्ण कक्षालगायत परीक्षासमेत इल(ष्लिभ मै हुने जानकारी विद्यार्थीहरूलाई गराइसकेको छ । राम्रो कुराको अनुसरण जसले गर्दा पनि हुन्छ । नेपालमा हालैमात्र एसईईका विद्यार्थीको परीक्षा नै नदिलाई उत्तीर्ण गर्ने जुन निर्णय गरियो त्यो उचित थिएन । त्यहीँ परीक्षालाई वस्तुगत प्रश्न बनाएर अनलाइन माध्यमबाट औपचारिकता पु¥याउने तरिकाबाट गरिएको भए उचित हुने थियो । परीक्षा नै नलिएको कारणले कसलाई कति ग्रेड दिने अन्योल छ ।
त्यसैले नेपाल सरकारले पनि ठोस कार्ययोजना बनाई यो अवस्थाको लागि मात्र केही पाठ्यक्रम निश्चित गरी वैकल्पिक माध्यमबाटै पठनपाठन गराउने र सोको आधारमा मूल्याङ्कन गर्ने घोषणा गर्नुपर्दछ । मूल्याङ्कन हुने र कक्षोन्नति हुने कुरा भयो भने सम्पूर्ण विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरूले पठनपाठनमा ध्यान दिन्छन् । ‘सर्प पनि मर्ने लट्ठी पनि नभाँचिने’ भनाइसँग मेल खाने गरी कोरोनाबाट विद्यार्थीको स्वास्थ्यमा असर पनि नपार्ने र शैक्षिक गतिविधि पनि नरोकिने गरी नीति बनाइनु टड्कारो छ ।

भरत ढुङ्गेल image
भरत ढुङ्गेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *