ललितपुर, १५ असार । जनसरोकार समिति खोकनाको संयोजनमा खोना र बोङ्गाका स्थानीय किसानले प्रहरी र सशस्त्र प्रहरीसँग घण्टौँ घम्साघम्सीबीच सोमबार आफ्नो जग्गामा रोपाइँ गरे । सरकारले फास्टट्रयाक बनाउनको निम्ति अधिग्रहण गरिराखेको तर मुआब्जा लिइनसकेको आफ्नै जग्गामा किसानहरूले रोपाइँ गरेका थिए ।
रोपाइँमा १ सय ५० जना प्रहरी र सशस्त्र प्रहरीले अवरोध गरेका थिए । धान रोप्न नदिने सरकारको आदेश छ भन्दै प्रहरीहरूले जोतिराखेको ट्रयाक्टर रोक्ने र कसैलाई काम गर्न नदिने भनी रोक्ने प्रयास गरेका थिए । करिब ४÷५ सय स्थानीय किसानको उपस्थिति रहेको रोपाइँमा प्रहरीसँग लामो घम्साघम्सीपछि रोपाइँ सम्पन्न भएको थियो । रोपाइँमा व्यस्त महिलाहरूले प्रहरीलाई घेरा हालेका थिए ।
किसान र प्रहरीबीचको घम्साघम्सीमा ‘प्रहरी दमन मुर्दावाद ¤’, ‘बाँझो जग्गामा रोपाइँ गर्न पाउँ ¤’ भनी स्थानीय किसानहरूले नारा लगाएका थिए ।


सरकारले कुनै पनि जग्गा बाँझो नराख्न निर्देश गरेको थियो । कसैले बाँझो राखेमा जहाँ जस्तो बाली लगाउन मिल्छ त्यहाँ उपयुक्त बाली लगाउन सरकारले आग्रह गरेको थियो । एकातिर सरकार जग्गा बाँझो नराख्न आग्रह गर्ने अर्कोतिर बाँझो जग्गामा रोपाइँ गर्न जाँदा प्रहरी खटाएर सरकारले किन द्वैधचरित्र अपनाएको भनी किसानहरूले प्रश्न उठाएका थिए ।
रोपाइँको संयोजन जनसरोकार समिति खोकनाका अध्यक्ष नेपाल डंगोल, स्थानीय कवीन्द्र डंगोल, नरेश महर्जन, कृष्णशरण डंगोल, महेन्द्र ब्रम्हाचार्यलगायतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *