भर्खरै :

जनताको सहभागितामा विकास

भक्तपुर, १८ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको बजेटबाट चानपा ८, सुडालको ऐतिहासिक ठुली ब्रम्हायणी मन्दिर परिसरमा निर्माण हुने सत्तलको शिलान्यास गर्नुभयो ।
सांसद सुवालले स्थानीय विकास पूर्वाधारको बजेट जनताको करबाट जम्मा भएको स्पष्ट पार्नुहुँदै राज्यकोषबाट विनियोजन हुने बजेटलाई सत्तापक्षका सांसद र नेता कार्यकर्ताले आफ्नो बपौती ठानेको र आफ्नो गोजीको रकमजस्तै मैले ल्याएको भनी जनतामा भ्रम फैलाएको बताउनुभयो ।
उहाँले कमिसनको लागि ठेकेदारको पछि लाग्ने मन्त्री, सांसद, मेयर र वडाध्यक्षलाई जनताले दूधमा परेको झिँगाजस्तै फाल्नुपर्ने उल्लेख गर्नुभयो ।
सांसद सुवालले लोकसेवा परीक्षा पास गरेका निजामती कर्मचारीहरूले भ्रष्टाचार रोक्न नसकेको उल्लेख गर्नुहुँदै एनसेलको ६२ अर्ब, फोरजी सेवामा १२ अर्ब, सेक्युरिटी प्रिन्टिङ प्रेस वाइडबडी जहाज खरिद, गोकर्ण रिसोर्ट, तारागाउँ विकास समितिको जग्गा बहाललगायतमा भएको अर्बाँै भ्रष्टाचार गर्नेहरू र विराटनगर जुटमिलको कुरुवाघर भत्काएर इँट्टासमेत बेचेका पूर्वमन्त्रीहरूलाई कारबाही नभएको बताउनुभयो ।
विदेशीले दिएको सहयोग बहुदलका शासक दलहरूले बेचेर खाएको प्रसङ्गबारे चर्चा गर्नुहुँदै उहाँले शासक दलका नेताहरूले सिद्धान्तका आधारमा नभई चुनाव जित्ने हिसाबले एकता गरी जनतालाई धोका दिइरहेको बताउनुभयो ।
सांसद सुवालले काठमाडौँ उपत्यकामा स्थानीय तहले नै स–साना सहर विकास गरेर खेतीयोग्य जमिन जोगाउनुपर्ने आवश्यकता औँल्याउनुहुँदै देशको सन्तुलित विकासको निम्ति पश्चिम नेपालमा व्यवस्थित ठूला सहरको विकास जरुरी भएको स्पष्ट पार्नुभयो ।
एमसीसी हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धन नै भएको हुँदा असंलग्न परराष्ट्र नीतिविपरीतको एमसीसी सम्झौता खारेज गर्नुपर्ने उल्लेख गर्नुहुँदैै उहाँले दक्षिण एसियामा भारतको शत्रुतापूर्ण  र आक्रामक नीति भएकोले नेपाली जनता सचेत हुनुपर्छ भन्नुभयो ।
उहाँले सन् १९६२ मा भारतले चीनको तिब्बतमा आक्रमण गर्दा पराजित भएझँै अहिले पनि त्यही स्थिति दोहोरिने उल्लेख गर्नुहुँदै सुगौली सन्धिअनुसार काली नदीको मुहान लिम्पियाधुरा भएकोले नेपाली भूमि फिर्ता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले महाकाली सन्धि गर्दा नेका, एमालेलगायतका शासक दलले महाकाली नदीलाई साझा नदी भनेर गल्ती गरेको पनि बताउनुभयो ।
सांसद सुवालले सन् १९४७ सेप्टेम्बर ९ मा भएको गोर्खा भर्तीसम्बन्धी त्रिदेशीय सन्धि खारेज गर्नु जरुरी रहेको बताउनुभयो ।
नेमकिपा भक्तपुरका अध्यक्ष न्हुछेभक्त फोजूले नेमकिपाका कार्यकर्ताले गर्ने योजनाहरूमा इमानदारीपूर्वक काम हुने र काम सम्पन्न भइसकेपछि जनतामाझ पारदर्शी ढङ्गले हिसाब देखाइने गरिएको बताउनुभयो ।
नेमकिपा चाँगुनारायण नगर समितिका उपाध्यक्ष केशवप्रसाद तिमिल्सेनाले जनताकै सहभागितामा हुने कामले भ्रष्टाचारलाई निरुत्साहित गर्र्ने बताउनुभयो ।
ठुली ब्रम्हायणी विकास समितिका अध्यक्ष भीमबहादुर खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेमकिपा सुडालका नारायणप्रसाद दुलाल, अर्जुन कार्कीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *