भर्खरै :

दुईदिने प्राथमिक उपचार तालिम सुरु

भक्तपुर, १८ असार । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिशु स्याहार तथा बालबालिका केन्द्रको आयोजनामा केन्द्रमा कार्यरत शिक्षिकाहरूको लागि दुईदिने प्राथमिक उपचारबारे तालिम सञ्चालन भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार उक्त तालिमको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले शिक्षालाई उच्च प्राथमिकतामा राख्दै सञ्चालित भक्तपुर नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूले अरू संस्थाको तुलनामा गुणस्तरीय र सस्तोमा शिक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो । असल गुरु बन्न असल शिष्य बन्नुपर्छ भन्दै उहाँले प्राथमिक उपचार भनेको जीवन उपयोगी हुने हुँदा तालिमको व्यवहारिक प्रयोगको निम्ति जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाका हरेक गतिविधिमा भक्तपुरवासीहरूको स्वतः स्फूर्त साथ र सहयोग रहँदै आएको बताउँदै नगर प्रमुख प्रजापतिले शिक्षिकाहरूमा समयअनुसारको प्राविधिक ज्ञानको खाँचो आवश्यक हुने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नपाद्वारा सञ्चालित शिशु स्याहार केन्द्रहरूको स्तरोन्नति गर्दै बालबालिकाहरूलाई असल व्यवहार र भाषाहरू सिकाउन अभिप्रेरित गर्नुभयो । उहाँले भन्नुभयो “अभिभावकले आफ्ना कलिला बालबालिकाहरू हुर्काउने जिम्मा शिक्षिकाहरूलाई दिएको हुन्छ । त्यसैले अभिभावकमा सकारात्मक छाप छोड्ने राम्रो माध्यम शिशुस्याहार केन्द्रहरू हुनुपर्छ ।”
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले शिशु स्याहार केन्द्र बालबालिकाको सर्वाङ्गीन विकास गर्ने थलो भएको हुँदा अभिभावकलाई नजिक राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्रका डा. बालकृष्ण चाँगुभारीले प्राथमिक उपचारबारे जानकारी दिनुभयो भने शिशु स्याहार तथा बालबालिका केन्द्र प्रमुख दीपेन्द्र प्रजापतिले पनि आफ्नो धाराणा व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *