पढाइको राजनीति – २
- असार ६, २०८३
खोकनाको रुद्रायणी मन्दिरबाट सुरु भएको जुलुसमा स्थानीय किसानहरू हातमा कोदाली, कोदालोजस्ता कृषि औजार बोकेका थिए । जुलुसमा सहभागीहरूले हातमा रोपो (धानको बीउ) बोकेका थिए । जुलुसमा सहभागी महिलाहरूले घरमा बसेका अन्य महिलाहरूलाई पनि सहभागी बन्न बोलाउँदै अघि बढेका थिए । बाटो – बाटोमा खेतमा जाने झोला र औजार बोकेका किसानहरू जुलुसमा मिसिएका थिए । धिमे बाजाको तालले जुलुस वास्तवमै कुनै लडाइँमा जान लागेको भाव दिन्थ्यो । विभिन्न नारा लगाउँदै हिलाम्ये गोरेटो बाटो छिचोल्दै प्रदर्शनकारीहरू सिकाली मन्दिर पुगेका थिए ।

सिकालीको उचाइबाट असार १५ गते धान रोपेको खेत वरपर प्रहरी पर्खाल बनेर उभिएको देखिन्थ्यो । तर, जुलुस नाराबाजीसहित अर्कोतिरको खेततिर गएपछि प्रहरीहरू जिल्ल परेका थिए । जुलुस पीडित किसानहरूका खेतमा पुग्दा धिमे बाजाको स्वर निकै उत्साहप्रद र चर्को सुनिएको थियो ।
जुलुसको बीचमा मिसिएको ट्र्याक्टरले खेत जोत्न थालेपछि नारासँगै जुलुसमा सहभागी सबैले ताली बजाए । खेत जोत्दाजोत्दै किसानहरूले खेतको वरपर ड्याङ बनाउन थाले । अरू सहभागीहरूले ड्याङ कुल्चिएर बलियो र गठिलो ड्याङ बनाए ।

ट्र्याक्टरले जोत्न सकिँदा नसकिंदै किसानहरू कोदालीले बाउसे गर्न थाले । महिलाहरू धान रोप्न थाले । केही किसानहरूले नजिकै थुपारिएको माटोको ढिस्कोमा भटमास रोप्नतिर लागे ।
रोपाइँ चलिरहेकै समयमा प्रहरी र सशस्त्र प्रहरीको सङ्ख्या थपियो । बिहान अर्कै खेतमा पहरा दिइरहेका प्रहरीहरू पनि उनीहरूसँग मिसिए । प्रहरी र सशस्त्र प्रहरी धान रोपिरहेको खेततिर आउन खोज्दा प्रदर्शनकारीहरूले रोके । केही बेर आन्दोलनका नेतृत्व गरिरहेका अगुवाहरूसँग कुराकानी भयो । प्रहरी भन्दै थियो, “तपाईँहरूको साङ्केतिक कार्यक्रम हो । प्रदर्शन भइहाल्यो । केही धान पनि रोप्नुभयो । अब जानुहोस् ।” प्रहरीले पछि बल प्रयोग गर्ने धम्की दियो । माइकले पनि फुक्यो । तर, नाराबाजीको कारण केही सुनिएको थिएन ।

प्रदर्शनकारीहरूको बढ्दो सङ्ख्याले प्रहरी घेरिए । प्रहरी लाठीचार्ज गरेर केही अश्रुग्यास प्रहार गरेर भिडलाई तितरबितर बनाउने सोचमा थियो । चारैतिर प्रदर्शनकारीहरूबाट घेरिएपछि प्रहरीले लाठीचार्ज गर्न थाले । केही प्रदर्शनकारीहरूले प्रतिकार गरे । हवाई फायर भयो । अश्रुग्यासको वर्षा भयो । चारैतिर अश्रुग्यासको धुवाँ उडिरहेको त्यो फाँट इजरायल र प्यालेस्टाइनको सीमा क्षेत्रजस्तो देखिएको थियो ।

केही प्रदर्शनकारीहरूलाई लखेटेपछि प्रहरी पुनः रोपाइँ रोक्न अघि सरे । बाँकी प्रदर्शनकारीहरूले प्रहरीलाई रोके । अन्ततः प्रहरीले हार खायो र दुवै पक्ष अघि नबढ्ने गरी सहमति भयो । केही प्रहरी दोहोरो झडपमा घाइते भएका थिए ।
प्रहरी र प्रदर्शनकारीबीच झडप चल्दै गर्दा खेतमा भने धान रोप्ने काम एक क्षण पनि रोकिएन । रोपाहारहरू धान रोपिरहेका थिए । ट्र्याक्टर चलिरहेकै थियो । बाउसे गर्नेहरूले पनि आफ्नो काम रोकेका थिएनन् ।

केही प्रदर्शनकारीहरूको ध्यान रोपाइँतिर भन्दा रोपेको अभिनय गरेर तस्वीर खिचाउनमा थियो । कोही भने सेल्फी खिच्नमै व्यस्त थिए । मानिसको सङ्ख्या धेरै जम्मा भएपछि केही मानिस भने सबैलाई ‘आफ्नै समूह’को भनी देखाउने ध्याउन्ना देखियो । कोही भने उत्तेजित नारा र कुरा गरिरहेका थिए । तर, खेतमा धान फलाउन जानेका किसानहरूलाई भने के गर्दा धान फल्छ भन्ने कुरा राम्रो थाहा थियो । उनीहरूको पसिना र सिमसिम पानी पोखिएको खेत सबै फर्किदासम्म हरियो भएर नाच्न थालिसकेको थियो ।

Leave a Reply