बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
कुनै अनभिज्ञ ज्ञान, सीप वा कुरा कुनै व्यक्ति वा समूहबाट अर्को व्यक्ति वा समूहलाई दिइने शिक्षण पद्धतिलाई गुरू शिक्षा र शिक्षा वा विद्या प्रदान गर्नेलाई गुरू वा शिक्षक र ग्रहण गर्नेलाई चेला वा विद्यार्थी भनिन्छ ।
गुरू पूर्णिमा
साउन शुक्ल पूर्णिमालाई रक्षा बन्धन (ऋषि तर्पणी) वा जनैपूर्णिमा भनिन्छ । भाद्र शुक्ल पूर्णिमालाई मान्यता, परम्परा र संस्कारको दृष्टिकोणबाट सोह्रश्राद्ध वा पितृहरूलाई स्मरणस्वरूप पितृ पर्वको रूपमा मनाइन्छ । आश्विन शुक्ल पूर्णिमालाई कोज्रागत व्रत पूर्णिमा वा आकाश दीप दानको हिसाबले हेरिन्छ । त्यस्तै कार्तिक शुक्ल पूर्णिमालाई गुरू नानक जयन्ती र गुरूमाश्य व्रत समाप्ति भनी मनाउने गरिन्छ ।
मार्ग शीर्ष शुक्लपक्ष पूर्णिमालाई उधौली पर्व वा धान्य पूर्णिमाको रूपमा मनाइन्छ । हिन्दू धर्मावलम्बीहरूको बाहुल्यता रहेको देशमा पौष शुक्ल पूर्णिमालाई स्वस्थानी व्रत कथारम्भ पूर्णिमाको रूपमा मनाइन्छ । त्यसैगरी माघ शुक्ल पूर्णिमालाई स्वस्थानी व्रत समाप्तिको रूपमा हामीले मान्दै आएका छौँ । नेपालभरि धूमधामका साथ फागु रङ दलेर (होली पुन्हीं) सहिष्णुता, मित्रता र सद्भावको रूपमा धूमधामसँग मनाइन्छ । वैशाख शुक्ल पूर्णिमालाई बुद्धजयन्ती, चण्डिपूर्णिमा वा उभौली पर्व पनि भनिन्छ । त्यसैगरी, जेठ शुक्ल पूर्णिमाको दिनमा हामी गुरू पूर्णिमा सम्झेर मनाउँछौँ, गुरूलाई भेटेर आशीर्वाद लिन्छौँ, अतीतका कुरा गरेर आल्हादित भई कृतकृत्य ठान्छौँ । गुरू जो कोहीलाई मार्गनिर्देश गरेर अँध्यारोबाट उज्यालोतर्फ, अप्ठेरोबाट सरलतातिर डो¥याउनुहुन्छ । गुरूविनाको स्वः अध्ययन सहज र सरल नभई कष्टकर र असहज हुन्छ ।
गुरूपूर्णिमाको महत्व
दैनिक साधना विधिको ‘प्रार्थना’ मा गुरू सम्बन्धमा यस्तो उल्लेख भएको पाइन्छ ः
गुरू ब्रह्मा गुरू विष्णुः गुरू देवो महेश्वरः ।
गुरू ः साक्षात् परब्रह्म, तस्मै श्री गुरू वे नम ः ।।
घर नै पहिलो पाठशाला हो । हिन्दू संस्कृतिलाई सिंहावलोकन गर्दा, सत्य युगदेखि गुरूकुल परम्परामुताविक शिक्षादीक्षा दिने लिने कुरा पाइन्छ । त्यो बेलाको अध्ययन अध्यापन प्रक्रियालाई हेर्दा, बच्चाको बौद्धिक विकासका साथै सामाजिक शिक्षा प्रदान गरिएको हुन्छ । सामाजिक तथा पारिवारिक नैतिकता, शिष्टता, राम्रो आचरण, धर्म–संस्कृति, रीतिरिवाज, सु–संस्कारको बारेमा शिष्यलाई शिक्षा प्रदान गरिन्थ्यो भने आत्मनिर्भरतिर उन्मुख सीपमूलक ज्ञान, अनुशासन आज्ञाकारिता, कर्तव्यपरायणता, चारित्रिक कर्मठ, योग्य, सबल र सच्चा नागरिक बनोस् भन्ने हेतुले सत्यनिष्ठ, परिश्रमी र मेहनती बन्ने सूत्रधार थियो त्यसबेलाको शिक्षा । व्यावहारिक र आत्मरक्षाको लागि घोडचढी, धनुविद्या, रथारोहणबाट गरिने युद्धकला, कुस्तीका साथै विषयगत ज्ञान तथा सानाप्रति माया–ममता सद्भाव र मान्यजन, ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान गर्ने बानी–व्यवहारले त्यसबेलाका विद्यार्थी पूर्ण दीक्षित भएको आभास सहजै हुन्थ्यो । त्यसबेला, परम्परागत भए पनि घोकन्ति विद्या र धावन्ति खेतीको प्रचलन थियो ।
विद्यार्थी काँचा माटा हुन् । खेतबारी जोत्न दाउने बहर–बाच्छाजस्तै हुन् । उनीहरूको सर्वाङ्गीण विकास गर्दै नैतिकवान बनाउन वैदिककालको शिक्षा प्रणालीको तुलनामा आजको शिक्षाले बाटो बिराएको छ । २०४६ सालको बहुदलीय व्यवस्था लागू भएपश्चात् साक्षरता दरमा वृद्धि भए पनि शिक्षामा राजनीतिग्रसित भयो भनिन्छ । स्कूले अवस्थादेखिका जेहेनदार विद्यार्थीहरू इन्जिनियर, डाक्टर बन्ने, बनाउने सोच हुन्थ्यो भने कतिपय कमजोर विद्यार्थीहरू राजनीतिक भ¥याङ्ग बनाउँदै झोले शिक्षकको रूपमा प्रवेश गरेर, नैतिक मूल्य–मान्यता स्थापित गर्न चुकेको भनेर आजकल शिक्षकमाथि दोषारोपण गर्ने गरिएको छ । तर, निजी विद्यालय होस् वा सरकारी शैक्षिक संस्थामा कार्यरत कतिपय शिक्षकहरूले स्कूल, कलेजको कद राम्ररी अग्ल्याएका छन् ।
विभिन्न दल–बलको स्वार्थले गुरूवर्ग राजनीतिले रङ्गिन गएको कारणले शैक्षिक थलो कुरुक्षेत्र बन्यो । अबोध बालबालिकामा समेत स्वार्थको बाछिटाले गाँजेर देशैभरि सङ्क्रमित तुल्यायो । यसको दोष लाखौँ कर्णधारहरूको जीवन रुपान्तरण गर्न जिम्मेवारी वहन गरेका हजारौँ शिक्षक समुदायमा प¥यो । गुरूहरूले आफ्नो राजनैतिक खोल शैक्षिक निकायको पठन–पाठनमा प्रवेश गर्नुअगावै फुकालेर फाल्नुपर्ने थियो र शैक्षिक वातावरण सदैव शान्त, सुन्दर र भयरहित बनाउनुपर्ने थियो । तर, त्यसो नभई राजनैतिक लतपतिएर फोहोर खेलमा शैक्षिक क्षेत्रलाई सदा–सर्वदा तनावग्रस्त बनाइयो । केही विषयगत योग्य शिक्षक, शिक्षिकाहरू विगतमा झन्डा, डण्डा र झोला बोकेर दलीय मुखपत्र बन्न पुगे र विद्यार्थी एवम् अभिभावकबाट पाउने मान, मर्यादा, इज्जत चरित्रहीनता, कर्तव्यबोधको अभावका कारणले पेशागत मूल्य–मान्यता गुमाउन पुगे ।
प्राचीन युगमा एकलब्यजस्ता आज्ञापालक शिष्यहरू पनि थिए । पाँचदशक अगाडिसम्म गुरू– चेलाचेलीको सम्बन्ध सुमधुर र आत्मीय थियो । साधारण साक्षर क, ख, ग सिकाउने गुरूजनलाई शिरोपर गर्थे, नैतिक शिक्षा र सामाजिक बन्धनरुपी अमोध वाणहरू रसास्वादन गर्दा कृतकृत्य ठान्थे, शिक्षाको तीर्खा प्रवल हुन्थ्यो र देउताजस्तै मर्यादित थिए, गुरू–शिष्य (विद्यार्थी) सबै आ–आफ्नो ठाउँमा थिए । तर, माथि उल्लेखित विविध घटनाक्रम, व्यवस्था र कालखण्डले यी दुईबीचको खाडलले दुरी फराकिलो भयो । शिक्षकप्रतिको विद्यार्थीको श्रद्धा, आदरभाव एवम् नैतिक मूल्यमा ह्रासोन्मुख हुँदै गयो । कहिलेकाहीँ रिस–ईवी साँधेर साङ्घातिक हमला पनि भयो । विद्यार्थी, अभिभावक र गुरूवर्गबीच हुने खेलकुद, सांस्कृतिक, साहित्यिक, नाटक, प्रहसन अािद कार्यक्रम पनि सुरक्षित र मर्यादित नभई त्रासदीपूर्ण हुन थाले । शैक्षिक परिसरमा गरिने नतिजा प्रकाशन अमैत्रीपूर्ण भए । वास्तवमा जीवनको उत्तराद्र्धमा शिक्षक पेशाले आर्जन गर्ने भनेको श्रद्धा, मर्यादा र सम्मान हो । कुनै ठाउँमा जमघट हुँदा आफ्ना चेला–चपेटाले अभिवादन गर्दा, आत्मीयता प्रदर्शन गरेर बालापनमा गुरूसँग व्यतित स्वर्णिम दिनहरूको स्मरण गराउँदा एकमुष्ट भान, शान तलब बुझेको भान हुन्छ । जीवनमा सबैभन्दा ठूलो सफलता, आल्हादित क्षण त्यहीँ हुन्छ जो ऊ मनमनै फुरूङ हुन्छ, कीर्तिमानी र दिग्विजय हासिल गरेको आभास हुन्छ ।
असल शिक्षक बन्नको लागि स्वस्थ, व्यक्तित्व, राम्रो शैक्षिक योग्यता, रूचि, चाहना, उत्साहित, मृदुभाषी, दयालुपन, धैर्यता, स्वस्फूर्त, आत्मविश्वास, हंसमुख, सुन्दर, सफा पोशाक र चेहरा आदिले पनि ठुलो भूमिका खेल्छन् । पक्षपातरहित, सेवाभाव, नेतृत्व क्षमता, सहयोगी भावना, भद्र, शालिनता, विषयवस्तुमा प्रखरता र दख्खलता, बालकला, पक्षपातविहीन, पेशाप्रतिको लगाव, अनुसन्धान, अन्वेषणमूलक, शिक्षण प्रविधिमा नवीन चासो र खोज कुशलता, पेशाप्रति बफादारिता, आत्मनिर्भरता, सिर्जनशीलता आदि छन् ।
अन्त्यमा, आत्मज्ञानको प्राप्तिको साथै गुरू प्रेरणाले मानवको हृदय परिवर्तन भई सामाजिक सद्भाव, राष्ट्र र विश्व शान्तिको भावमा जागृत हुने हुनाले, सफल शिक्षक–शिक्षिका बन्न र यहीँ पेशामा समर्पण गरेर शिक्षण पेशामा अमीट छाप छोडेर ज्वलन्त उदाहरणीय बन्न माथि उद्धृत गुणहरूको अपरिहार्य देखिन्छ ।
Leave a Reply