भर्खरै :

कोभिड–१९ नियन्त्रणमा केरला मोडल

कमरेड केरला सम्मानित !
कोभिड–१९ विरुद्धको लडाइँमा प्राप्त उल्लेखनीय सफलताको निम्ति भारतको केरला राज्यका स्वास्थ्यमन्त्री एवम् शैलजा शिक्षकको रूपमा ख्यातिप्राप्त विज्ञान विषयका पूर्व शिक्षिका के. के. शैलजालाई संयुक्त राष्ट्रसङ्घले गत असर १० गते (जून २४ तारिख) सम्मानित ग¥यो । राष्ट्रसङ्घको ‘सार्वजनिक सेवा दिवस’को अवसरमा आयोजित भर्चुअल सम्मेलनमा शैलजा वक्ताको रूपमा निम्ताइएकी थिइन् । सम्मेलनमा उनले कोभिड – १९ सङ्क्रमण फैलिन नदिन केरलाले अपनाएका रणनीतिबारे बोलिन् । कोभिड–१९ नियन्त्रणमा ‘केरला मोडल’ले थप चर्चा पायो ।
भारतमा कोरोना भाइरसको पहिलो केस सन् २०२० को जनवरी ३० मा केरलामा देखिएको थियो, चीनको उहानबाट फर्किएका विद्यार्थीमा । संयोगवश सोही दिन विश्व स्वास्थ्य सङ्गठनले कोभिड – १९ कै कारण विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो । मार्च महिनासम्म सबभन्दा बढी कोरोना केस देखिएको राज्य केरला रह्यो । अप्रिलदेखि नै केरलाको कोरोनाको ग्राफ सीधा हुन थाल्यो जबकि अन्य राज्यमा कोभिड–१९ को सङ्क्रमण अचाक्लि बढ्दै थियो । आजसम्म कम ‘केसलोड’ र उच्च ‘रिकभरी’ दर भएको राज्यमा पर्छ केरला ।
विश्वमा सबभन्दा धेरै कोभिड–१९ बाट सङ्क्रमित देशमध्ये भारत तेस्रो स्थानमा पुगेको बेला केरला भने कोरोना भाइरस सङ्क्रमणलाई धेरै हदसम्म नियन्त्रण गर्न सकेकोमा सन्तोषको सास फेर्दै छ । भारतमा जुलाई ६, सोमबार बिहानसम्ममा करिब ७ लाख सङ्क्रमितमध्ये २.८ प्रतिशतको मात्र मृत्यु भएको छ । साढे ३ करोड जनसङ्ख्या भएको केरलामा कोरोना सङ्क्रमितमध्ये ०.२८ प्रतिशतको मृत्यु भएको छ । तर, भारतको राजधानी नयाँ दिल्लीमै कोभिड–१९ को मृत्युदर ३.०९ छ भने प्रधानमन्त्री मोदीको गृहराज्य गुजरातमा ५.४५ प्रतिशत छ ।
केरलामा कोरोना भाइरसको सङ्क्रमणको कारण मृत्युदर किन कम भयो ? सङ्क्रमण फैलिने दर उल्लेखनीयरूपमा घटाउन कसरी सफल भयो केरला ? कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन केरलाले के कस्ता रणनीति अपनायो ? यसमा केरला राज्य सरकारको नेतृत्व गरिरहेको भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) को भूमिका के कति छ ? भारतमा सबभन्दा पहिले कम्युनिस्ट पार्टीले निर्वाचनमा विजय प्राप्त गरी शासन सञ्चालन गरेको केरलाको इतिहासले कतिको साथ दियो ? यी प्रश्नमा एकक्षण घोत्लििऔँ !
केरलाको सफलताको आधारशिला
भारतको १ प्रतिशतमात्र भूमि ओगटेको दक्षिणपश्चिम भारतको एक समुद्र तटीय राज्य हो केरला । केरला करेलाजस्तै लाम्चो (५८० किमी लम्बाइ र चौडाइ ३० देखि १२० किमी) आकारको राज्य हो । वैदेशिक व्यापार मार्गको एउटा ठूलो ‘हब’ एवम् पहिलोपटक युरोपियनले भारतमा पाइला राखेको भूमि हो यो । ३९ हजार वर्ग किमी क्षेत्रफल भएको राज्यमा चारवटा अन्तर्राष्ट्रिय विमानस्थल छन् । वर्षमा १० लाखभन्दा बढी त्यहाँ पुग्छन् । यसको अर्थतन्त्रमा रेमिटेन्सको ३५ प्रतिशत योगदान छ ।
विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ लाई विश्वमहामारीको घोषणा गरेदेखि नै केरला सरकारले कोभिड–१९ लाई रोक्ने वा भाइरसको प्रभाव कम गर्ने योजना बनाएको थियो । भारत सरकारले लकडाउन घोषणा गर्नुअगाडि नै केरला सरकारले लकडाउन घोषणा गरेको थियो । केरला राज्य सरकारले तत्काल राज्यतहमा ‘कन्ट्रोल सेल’ बनायो र केन्द्र सरकारभन्दा अगाडि नै कोभिड–१९ को नियन्त्रणको प्रोटोकल (आचारसंहिता) तयार पा¥यो । केरलाले सङ्क्रमणका सम्भावित व्यक्तिले २८ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम सार्वजनिक ग¥यो, विश्व स्वास्थ्य सङ्गठनले भने १४ दिन भन्ने सिफारिस गरेको छ । केरलामा सन् २०१८ मा निपाह भाइरस फैलिँदाको अनुभवले पनि काम गरेको छ । त्यस्तै केरला सरकारले कोभिड–१९ को उपचारको निम्ति १२ सय ९६ सरकारी र ८ सय ६६ निजी अस्पतालमा १ लाख ३१ हजारभन्दा बढी बेड तयार ग¥यो । साथै, २४ सय भेन्टिलेटर तत्काल तयारी अवस्थामा राखियो । आवश्यक पर्दा तत्काल बेडहरू थप्न उपयुक्त भवनहरूको खोजी गरियो । सरकारी मेडिकल कलेज र अस्पतालहरूमा आइसोलेसन वार्डहरू बनाइए ।
कोभिड–१९ को महामारी नियन्त्रणको नाममा भारत सरकारले ४ घन्टाको समय दिएर लकडाउन घोषणा गर्दा करोडौँ आप्रवासी मजदुरहरू अलपत्र परे । तर, केरलामा त्यस्तो भएन । राज्य सरकारले लकडाउन घोषणा गर्नुअगाडि नै २ खर्ब भारतीय रुपियाँको राहतको घोषणा गरेको थियो । लकडाउनअगाडि नै ५४ लाख लाभग्राहीलाई पहिल्यै निवृत्तिभरण बाँडियो । कुनै पेन्सन नपाउने ७३ लाख मजदुरलाई १–१ हजारको राहत दिइयो । स्वास्थ्यउपचारको निम्ति ५० अर्ब भारु घोषणा गरियो । सर्वसाधारणको निम्ति २० अर्ब बराबरको सस्तो ऋणको व्यवस्था गरियो । ग्रामीण क्षेत्रमा रोजगारी सृजनाको निम्ति २० अर्ब भारु छुट्याइयो । प्रत्येक गरिब परिवारलाई १५ केजी चामल बाँडियो । अत्यावश्यकीय सामग्रीसहितको ८७ लाख कीट बाँडियो । कोही पनि भोको बस्न नपरोस् भन्नेमा राज्य सतर्क थियो । त्यसको निम्ति लाखौँलाई निःशुल्क रासन बाँडियो, सामुदायिक भान्साको व्यवस्था गरियो । नगरपालिका तथा पञ्चायतहरूमा सयौँ सामुदायिक भान्सा बनाइएका थिए । कतिपयको निम्ति सस्तोमा खाना खाने बन्दोवस्त पनि गरिएको थियो ।
समाजवादी अवधारणाको परिणाम
केरलाले जनस्वास्थ्य क्षेत्रमा पाएको सफलता के एक दिनको प्रयासको प्रतिफल हो र ? सामान्यतः त्यसो हुँदैन कहीँ पनि । म्याराथन दौडको अभ्यासजस्तै केरलाको स्वास्थ्य अभ्यासको इतिहास पनि लामो छ । भारतमा कम्युनिस्ट पार्टीको स्थापनाको सतवार्षिकी मनाइसकिएको छ ।
भारत स्वतन्त्र भएपछिको सन् १९५७ को निर्वाचनमा केरलामा कम्युनिस्ट पार्टीले विजय हासिल गरेको थियो । भूमिसुधारको काम गरेपछि दुई वर्षमै नम्बुदिरिपादको नेतृत्वको केरला सरकारलाई भारतका राष्ट्रपतिद्वारा विघटन गरियो । यद्यपि, केरला सरकारले शिक्षा र स्वास्थ्यउपचार सेवालाई उच्च प्राथमिकता दिँदैआएको छ । आज संयुक्त राष्ट्रसङ्घको मानव विकास प्रतिवेदनमा केरला भारतका सबै राज्त्न्दा माथि छ । केरला सरकारले आफ्नो कुल गार्हस्थ उत्पादनको ५ प्रतिशत जनस्वास्थ्य क्षेत्रमा खर्च गर्छ, केन्द्र सरकारले भने १.२९ प्रतिशतमात्र खर्च गर्छ । केरलामा ५३५ नागरिकको निम्ति १ चिकित्सकको सुविधा छ भने देशभरको हिसाब गर्दा १ हजार४४५ नागरिकको निम्तिमात्र १ चिकित्सक उपलब्ध छ । चिकित्सक उपलब्धताको हिसाबमा भारतभरमा केरला चौथो राज्यमा पर्दछ । सन् २०१९ को स्वास्थ्य सूचकाङ्क (इन्डेक्स) मा केरला नै सबभन्दा माथि छ । शिशु मृत्युदर, मातृ मृत्युदर, अस्पतालको बेड सङ्ख्या, खोप, चिकित्सकको सङ्ख्या आदि विभिन्न २३ सूचकाङ्क सो इन्डेक्समा समावेश हुन्छन् ।
केरलाको शिशु मृत्युदर १२ (प्रति १००० जीवित जन्ममा) मात्र छ, सम्पूर्ण भारतभरमा यो ४० छ । त्यस्तै केरलाको मातृ मृत्युदर प्रति १० हजारमा ६६ छ भने भारतभरमा १७८ छ । साक्षरता दरमा पनि राष्ट्रिय प्रतिशतभन्दा केरलाको राम्रो छ । भारतको साक्षरता दर ८२ प्रतिशत छ भने केरलाको ९६ प्रतिशत छ । शिक्षा र स्वास्थ्यमा उच्चस्तरको लगानीको कारण सर्वसाधारणको जीवनस्तर तुलनात्मकरूपमा अन्य राज्यहरूभन्दा राम्रो छ । धनी र गरिब बीचको खाडल पनि कम छ । स्रोतको समानुपातिक वितरणमा राज्यसरकारले ध्यान दिएको पाइन्छ ।
भारतमा सन् १९२० को दशकमै कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । भारत स्वतन्त्र भएपछि केरलामा भारतीय कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सरकारले भूमिसुधारको घोषणा ग¥यो । शिक्षा र स्वास्थ्यलाई राज्यको दायित्वको रूपमा स्वीकार गरियो । विभिन्न नागबेली बाटो लिई कहिले जीत र कहिले हार व्यहोर्दै आएको भारतीय कम्युनिस्ट पार्टीका विभिन्न घटकसहितको वामपन्थी प्रजातान्त्रिक मोर्चाले सन् २०१६ को निर्वाचनमा विजय हासिल ग¥यो । कोभिड–१९ को नियन्त्रणमा केरलामा प्राप्त सफलतालाई यही दृष्टिले हेर्नसकिन्छ । सन् १९५७ देखिका जनकेन्द्रित योजना नै आजको सफलताको रहस्य मानिन्छ ।
जनसहभागिताको सूत्र
राज्यप्रति जनताको विश्वास र सहभागितामा कुनै पनि सरकारको सफलता सन्निहित हुन्छ । जनस्वास्थ्यको सन्दर्भमा पनि जनसहभागिताले अहम् भूमिका निर्वाह गर्छ । जनसहभागिता भएमा जनस्वास्थ्य क्षेत्रमा कुनै पनि काम गर्न असम्भव हुँदैन । जनतामाथि नियन्त्रण वा दबाब सृजना गरी जनस्वास्थ्य क्षेत्रमा यथोचित सफलता हासिल गर्न सकिन्न ।
कोभिड–१९ को नियन्त्रणको निम्ति केरलामा एक सयदेखि दुई सय व्यक्ति सम्मिलित १६ सय स्वयम्सेवक समूह बनाइयो । क्वारेन्टिनमा बसेकालाई सहयोग गर्ने काम तिनै स्वयम्सेवक समूहले गर्छन् । ती समूहहरू कल सेन्टरमा बस्छन् र क्वारेन्टिनमा बस्नेको लागि आवश्यक खाना, रासन अथवा औषधी पु¥याउने गर्छन् । आवश्यक पर्दा घरघरसम्म सेवा पु¥याउँछन् ।
सरकारले गर्ने हरेक निर्णय तल्लो तहका जनतासम्म पुग्नु केरलाको सफलताको कडी हो । सरकारले घोषणा गरेको सङ्क्रमणको सिक्री चुँडाल्ने ‘बे्रक द चेन’ अभियान सफल पार्न नागरिकले ठूलो सहयोग गरे । यसको निम्ति कोरोना भाइरसको परीक्षणलाई विशेष जोड दिइयो, त्यसमा नागरिकले साथ दिए । सम्भावित सङ्क्रमितलाई क्वारेन्टिनमा राख्ने, सङ्क्रमितलाई अलग्याउने (आइसोलेसनमा राख्ने), नागरिक घरघरमै बस्ने, अत्यावश्यक बेला घरबाट निस्किँदा मास्क लगाउने, साबुनपानीले नियमित हात धुने, सामाजिक दूरी कायम गर्नेलगायतका आचार नागरिकले खुसीसाथ अपनाए । सङ्क्रमितमाथि कुनै कलङ्क लगाइएन, उनीहरूलाई सामान्य व्यक्तिलाई जस्तै व्यवहार गरियो । आफू स्वस्थ रहनु भनेको समाजलाई नै स्वस्थ बनाउनु भन्ने आदर्श नागरिकमा देखिन्छ । आफूलाई समाजको एक एकाइ ठान्नु नै समाजवादी अवधारणा हो । नागरिकलाई राज्यको सहयोग र राज्यलाई नागरिकको सहयोग नै केरलाको सफलताको सूत्र हो भन्ने यो पङ्क्तिकारलाई लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *