भर्खरै :

भक्तपुर नगरपालिकाले निकाल्यो स्थानीय पाठ्यपुस्तक ‘ख्वपको पहिचान’

भक्तपुर, २३ असार । भक्तपुर नगरपालिकाबाट नगरपालिका क्षेत्रभित्रका विद्यालयमा लागू गर्ने गरी स्थानीय पाठ्यक्रम प्रभावकारी ढङ्गले पाठपाठनको निम्ति ‘ख्वपको पहिचान’ नामक पाठ्यपुस्तक प्रकाशनमा ल्याएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख एवम् भक्तपुर नपाद्वारा गठित शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका संयोजक सुनिल प्रजापतिले ‘ख्वपको पहिचान’ नामक पुस्तक मङ्गलबार एक समारोहबीच सार्वजनिकीकरण गर्नुभयो ।
उहाँले एसईई विद्यार्थी लक्षित भर्चुअल कक्षा व्यवस्थापनको निम्ति सहयोग गर्ने व्यवस्थापक र १८ वटा विद्यालयका २५ जना शिक्षक–शिक्षिकाहरूलाई धन्यवाद पत्र र मायाको चिनो पनि वितरण गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले कम्प्युटरको माध्यमबाट पठनपाठन गरिने भर्चुअल कक्षा भक्तपुर नगरपालिकाको लागि नयाँ विषय भएको र नगरपालिकाले सञ्चालन गरेको कक्षा र प्रसारणले देशभरिका विद्यार्थीहरू लाभान्वित भएको बताउनुभयो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएअनुसार भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरी कक्षा १ र ६, २ र ७ समेत गरी चारवटा कक्षामा स्थानीय पाठ्यक्रम तयार गरी सोहीअनुसार अध्ययन अध्यापन भइरहेको र आगामी दिनहरूमा थप कक्षाहरूको पाठ्यक्रम निर्माणको तयारी भइरहेको बताउनुभयो ।
क्युवा, कोरियालगायतका समाजवादी देशहरूमा सङ्कटको समयमा कसरी काम ग¥यो, कस्तो नीति अवलम्बन ग¥यो, त्यसको पनि अध्ययन गरी त्यसबाट प्रेरणा लिन आवश्यक भएको बताउँदै उहाँले नगरको सरसफाइमा विद्यालयहरूले पनि आवश्यक सहयोगको लागि आह्वान गर्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले स्थानीय पाठ्यक्रमलाई परिमार्जन गर्दै लाने उद्देश्यले पाठ्यपुस्तक तयार भएको बताउँदै नयाँ पुस्तामाझ भक्तपुरको संस्कृति र संस्कारबारे व्यावहारिक ज्ञान प्रदान गर्न यसको आवश्यक भएको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेटमा शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदामा विशेष प्राथमिकता दिएको बताउनुभयो ।
स्थानीय पाठ्यक्रम कार्यदल अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले पाठ्यक्रमविना नै पठनपाठन गराउन सिकाउनु स्थानीय पाठ्यक्रमको विशेषता भएको बताउँदै ‘ख्वपको पहिचान’ पाठ्यक्रमलाई सहयोग पुग्ने सन्दर्भ सामग्रीमात्र भएको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वागेश्वरी माविका शिक्षक ज्ञानसागर प्रजापति, नगर शिक्षा प्रमुख हरिप्रसाद निरौला, भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वलगायतले बोल्नुभएको थियो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको भर्चुअल कक्षा भादगाउँ टेलिभिजनले निःशुल्क प्रसारण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *