भर्खरै :

कोभिड–१९ महामारीबीच संरा अमेरिकाले त्याग्यो विश्व स्वास्थ्य सङ्गठनको सदस्यता

वाशिङ्टन, २४ असार । संरा अमेरिकाले गएको मङ्गलबार संयुक्त राष्ट्र सङ्घका महासचिवसमक्ष विश्व स्वास्थ्य सङ्गठनको सदस्यताबाट फिर्ता हुने औपचारिक जानकारी दिएको छ । कोभिड–१९ महामारीबीच संरा अमेरिकाको ट्रम्प सरकारले जनस्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठनबाट फर्किने निर्णय गरेको हो ।
संरा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको सरकारले महिनौँअघिबाट पटक पटक विश्व स्वास्थ्य सङ्गठनको विरोध गर्दै आएका थिए । उनीहरूले बारम्बार सो सङ्गठनसँग सम्बन्धविच्छेद गर्ने धम्की दिँदै आएका थिए । ट्रम्पले अप्रिल महिनाको मध्यतिर विश्व स्वास्थ्य सङ्गठनलाई आफ्नो सरकारले दिँदै आएको पैसा बन्द गर्ने घोषणा गरेका थिए ।
विश्व स्वास्थ्य सङ्गठनबाट फिर्ता हुने ट्रम्पको निर्णयलाई विज्ञ र डेमोक्रेटिक पार्टीका नेताहरूले कोभिड–१९ महामारी नियन्त्रणमा असफल भएपछि अन्यत्र दोषारोपण गर्न गरिएको बताएका छन् । उनीहरूले ट्रम्पको सो कदम जनस्वास्थ्यको लागि प्रत्युपादक हुनसक्ने बताएका छन् ।
“संरा अमेरिकाले जुलाई ६ देखि विश्व स्वास्थ्य सङ्गठन छोड्नेछ । संरा अमेरिकाले अब यो सङ्गठनलाई २० करोडभन्दा बढी अमेरिकी डलर तिर्न बाँकी छ”, विश्व स्वास्थ्य सङ्गठनको वेभसाइटमा लेखिएको छ ।
संरा अमेरिकी सरकारको पत्र प्राप्त भएपछि संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिओ गुटरेजले विश्व स्वास्थ्य सङ्गठनको सन् १९४६ को विधानअनुसार सदस्यता फिर्ताको लागि आवश्यक सबै प्रावधान पूरा भए नभएको जाँच गर्ने महासचिवका प्रवक्ता स्टेफन डुजारिकले भने ।
सदस्यता पूर्ण खारेजीको लागि संरा अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनसँग सबै हिसाबकिताब पूरा गर्नुपर्ने हुन्छ । संरा अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई वार्षिक ४५ करोड अमेरिकी डलर दिँदै आएको थियो । त्यसमध्ये उसले स्वास्थ्य सङ्गठनलाई २० करोड डलर भने चुक्ता गर्न बाँकी छ ।
जोन हप्किन्स विश्वविद्यालयको बुधबारको तथ्याड्ढअनुसार कोभिड–१९ रोगले संरा अमेरिकामा सङ्क्रमितको सङ्ख्या २९ लाख ९६ हजारभन्दा बढी पुगेको छ । हालसम्म मर्ने अमेरिकीहरूको सङ्ख्या १ लाख ३१ हजार ४८० पुगेको छ । संसारका कुनै पनि अरू देशको तुलनामा यो अड्ढ बढी हो ।
संरा अमेरिकामा केही राज्यमा लकडाउन खुकुलो बनाएपछि कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्न सरकारलाई हम्मेहम्मे भएको छ ।
“हरेक दिन झन्डै २० हजार नयाँ सङ्क्रमित हुने अवस्थामा हामी छौँ”, संरा अमेरिकी राष्ट्रिय सरुवा रोग प्रतिष्ठानका निर्देशक एन्थोनी फाउसीले दुःख व्यक्त गरे ।
यस्तो परिस्थितिमा विश्व स्वास्थ्य सङ्गठनबाट हात झिक्ने ट्रम्पको निर्णय गलत दिशाउन्मुख भएको र कोभिड–१९ महामारीविरुद्ध खोप र औषधिको विकासमा लागिरहेको संस्थाको निम्ति अप्ठ्यारो भएको भनी आलोचना भएको छ ।
संरा अमेरिकी तल्लो सदन प्रतिनिधिसभाका सभामुख नान्सी पोलेसीले ट्रम्पको सो कदमप्रति विमति राखेकी छिन् । उनले यो कदम ‘वास्तवमै विवेकहीन’ भएको बताइन् ।
पूर्वउपराष्ट्रपति र डेमोक्रेटिक दलको तर्फबाट आगामी निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले आफू निर्वाचित भएको पहिलो दिन ट्रम्पको यो निर्णय उल्टाउने प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *