प्योङयाङ, ८ जुलाई । कोरियाली क्रान्तिका नेता किम इल सङको स्मृति दिवसको अवसरमा बुधबार प्रजग कोरियामा विशेष समारोहको आयोजना गरिएको त्यहाँको सञ्चारमाध्यमले जनाएका छन् । प्रजग कोरियामा ‘देशका सुर्य’ मानिने नेता किमप्रति श्रद्धा व्यक्त गर्न त्यहाँका सर्वोच्च नेता किम जङ उन प्योङयाङको कुमसुसन सौर्य दरबारमा पुग्नुभएको थियो । कुमसुसन सौर्य दरबारमा किम इल सङ र प्रजग कोरियाका अर्का नेता किम जङ इलको पार्थिव शरीर जोगाएर राखिएको छ ।
प्रजग कोरियाको आधिकारिक समाचार संस्था केसीएनएको समाचारअनुसार किम इल सङको बुधबार २६ औँ स्मृति दिवस हो । उहाँको सन् १९९४ मा निधन भएको थियो ।
“सर्वोच्च नेता अन्य पदाधिकारीहरूसँग त्यहाँ पुगेर राष्ट्रपति तथा कोरियाली मजदुर पार्टीका अध्यक्ष किम इल सङप्रति भावपूर्ण श्रद्धा अर्पण गर्नुभयो”, केसीएनए समाचारमा उल्लेख छ । प्रजग कोरिया सरकारले राष्ट्रपति पद र कोरियाली मजदुर पार्टीले अध्यक्ष पद सधैंको लागि किम इल सङको लागि मात्र प्रयोग गर्ने निर्णय गरेको छ ।
श्रद्धा व्यक्त गर्ने समारोहमा सहभागीहरूले नेता किमसामु उनका क्रान्तिकारी विचार र योगदानलाई सदैव उँचो राख्ने प्रतिबद्धता व्यक्त गरे । उनीहरूले कोरियालाई शक्तिशाली र स्वाभिमानी समाजवादी देशको रूपमा संसारसामु उभ्याउने दृढता व्यक्त गरे ।
श्रद्धा व्यक्त गर्ने समारोहमा प्रजग कोरियाका अर्का नेता छोइ ¥योङ हे, राज्य मामिला आयोगका प्रथम उपाध्यक्ष पाक पोङ जु, प्रधानमन्त्री किम जाए ¥योङलगायतका उच्चपदस्थ अधिकारीहरू पनि सहभागी रहेको केसीएनएले जनाएको छ ।
संरा अमेरिकासँग आणविक मामिलामा कुनै थप वार्ता नगर्ने घोषणासँगै सर्वोच्च नेता किमले राष्ट्रपतिको स्मारकमा भ्रमण गर्नुभएको हो । प्रजग कोरियासँग वार्ताको लागि संरा अमेरिकाले गठन गरेको कार्यदलका संयोजक संरा अमेरिका परराष्ट्र उपसचिव स्टेफन बेइगम यही बेला सोलस्थित अमेरिकी सैनिक आधार क्षेत्रमा पुगेका छन् । त्यहाँ उनले दक्षिण कोरियाली अधिकारीहरूसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *