भर्खरै :

डब्ल्युएचओबाट अमेरिकाको पश्चगमन

कोभिड–१९ को महामारी अझै मानिसको नियन्त्रणमा आइसकेको छैन । जोन हप्किन्स विश्वविद्यालयको तथ्याड्ढअनुसार बुधबारसम्म १ करोड १८ लाख ५० हजार ८ सय ८६ पुगेको छ । यो सङ्ख्या उक्लिने क्रम चालू छ । सङ्क्रमण नियन्त्रणमा आइसकेका देशहरूमा समेत महामारी पुनः फर्केको छ । आजसम्मको अनुभवले के कुरा प्रस्ट भइसकेको छ भने यो महामारीमाथि कुनै एउटा देशले जीत हासिल गर्दैमा त्यो दिगो समाधान हुनसक्दैन । यसको निराकरणको लागि सिङ्गो संसार एकजुट भएर लाग्नुको विकल्प छैन । यस्तो परिस्थितिमा सबै देशबीच समन्वय गर्ने एउटा निकायको खाँचो हुन्छ । आजको सन्दर्भमा त्यो भूमिका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले पूरा गर्दै आएको छ ।
संसार जनस्वास्थ्य सङ्कटमा रहेको बेला डब्ल्युएचओको भूमिकालाई अझ विस्तार गर्नु नै विश्वभरका जनताको हितमा हुनेछ । डब्ल्युएचओजस्तो बहुराष्ट्रिय संस्थाको निष्पक्ष भूमिकाले यो रोगसँग लड्न अझ मद्दत पु¥याउनेछ । डब्ल्युएचओले कोरोनाको महामारी फैलिएसँगै यो भूमिका निर्वाह गर्दै आएको छ । कोरोना भाइरसबाट जोगिने वैज्ञानिक तथ्य–तथ्याड्ढ र पद्धतिलाई डब्ल्युएचओले जोड दिँदै आएको छ । स्वाभाविकरूपमा यस्तो असामान्य परिस्थितिमा डब्ल्युएचओको निम्ति संसारका सबै देश र सङ्गठनको सहयोग र समर्थनको खाँचो हुन्छ । डब्ल्युएचओको बढ्दो खर्च धान्न विशेषतः संसारका विकसित र धनी देशहरूले बढी सहायता गर्नुपर्छ र आर्थिकरूपमा विपन्न देशहरूलाई जनस्वास्थ्य आपत्कालिन सामना गर्न मद्दत गर्नुपर्छ ।
तर, संसारको महाशक्ति मानिएको संरा अमेरिका यस्तो अप्ठ्यारो परिस्थितिमा डब्ल्युएचओको सदस्यताबाट फिर्ता भएको छ । डब्ल्युएचओ आफ्नो तखतमा बस्न नमानेकै कारण ट्रम्प प्रशासनले यस्तो रुखो निर्णय गरेको हो । डब्ल्युएचओले चीनको पक्ष लिएको भन्ने ट्रम्पको आरोप गलत हो । कोरोना भाइरस फैलिएलगत्तै डब्ल्युएचओले रोग नियन्त्रणको निम्ति सकारात्मक भूमिका खेल्दै आएको छ । उहानमा फैलिएको महामारी नियन्त्रणमा चीनले गरेको चमत्कारिक परिचालन वास्तवमै प्रशंसायोग्य थियो । विश्व जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने निकायको नाताले डब्ल्युएचओले चीनको सो भूमिकाको खुलेर प्रशंसा ग¥यो । यो कुनै देशको पक्षधरता वा विरोध थिएन । बरु यो सही कामको प्रशंसा र अरू देशलाई पनि त्यसबाट अनुकरण गर्न प्रोत्साहन थियो । त्यसलाई ट्रम्प प्रशासनले सङ्कुचित कोणबाट हेर्दा उसले जटिल परिस्थितिमा तीतो निर्णय लिएको छ । यसले स्वाभाविकरूपमा अमेरिकालाई त हानि पु¥याउने नै छ, साथै संसारभरका जनताको निम्ति पनि यो निर्णय सही कदापि होइन । संसारको जिम्मेवार देशले यस्तो गैरजिम्मेवार निर्णय लिनु संसारकै लागि दुःखद् हो ।
डब्ल्युएचओबाट फिर्ता हुने संरा अमेरिकाको यो निर्णय त्यहाँको राजनीतिक नेतृत्वको राजनीतिक विचारधारासँग अन्योन्यास्रितरूपमा गाँसिएको छ । ट्रम्प फासीवादी विचारधाराका पक्षपाती हुन् । फासीवादी शक्तिको एउटा साझा विशेषता प्रजातान्त्रिक संस्थाहरूमाथि क्रमशः हमला गर्नु हो । प्रजातान्त्रिक र सर्वपक्षीय संरचना आफ्नो स्वार्थअनुकूल चलाउन खोज्ने, नभए त्यस्ता संरचना ध्वस्त गर्नु नै फासीवादी सिद्धान्तको चरित्र हो । पहिलो विश्वयुद्धपछि बनेको लिग अफ नेसन पनि त्यत्तिबेलाका फासीवादीहरूले अस्वीकार गर्दा दोस्रो विश्वयुद्धको पृष्ठभूमि बनेको थियो । आजको विश्व परिस्थितिलाई पनि यो परिदृश्यमा हेर्न जरुरी छ । यसअघि संरा अमेरिकाले युनिसेफलाई दिँदै आएको सहयोग पनि रोकेको थियो । अन्तर्राष्ट्रिय फौजदारी अदालतका अधिकारीहरूलाई समेत ट्रम्प सरकारले निषेध गर्ने कदम चाल्यो । इरान सम्झौता, २०१५ बाट ट्रम्प सरकार फिर्ता भयो । त्यसकारण डब्ल्युएचओबाट ट्रम्पको पश्चगमन महामारीसँग लडिरहेको संसारको लागि दुःखद त छ नै । साथै यसले देखाएको सड्ढेत पनि पक्कै शुभ छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *