भर्खरै :

“नेमकिपा फुटाउनेहरू आफैँ फुट्दै छन्”

काठमाडौँ, २५ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले फुटको राजनीति गर्नेहरू फुटेरै समाप्त हुने बताउनुभएको छ । बिहीबार योहो टेलिभिजनमा सञ्चारकर्मी जीवराम भण्डारीसँग समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी गर्नुहुँदै उहाँले हिजो नेमकिपालाई फुटाउन लाग्नेहरू आपसमा फुटेर नै सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जो आगोसँग खेल्छ, ऊ आगोमै मर्छ, जो पानीसँग खेल्छ, ऊ पानीमै मर्छ । जसले फुटको राजनीति गर्छ, ऊ फुटबाटै समाप्त हुन्छ ।”
अध्यक्ष बिजुक्छेँले देशको खराब अवस्थाको निम्ति नेपाली काङ्ग्रेस दोषमुक्त हुन नसक्ने चर्चा गर्नुहुँदै नेकाको सरकारले जनतालाई जानकारी नदिई देशघाती एमसीसी सम्झौतामा सही गरेको बताउनुभयो ।
नेकाले आफू सत्तामा रहँदा कूटनीतिक सम्बन्ध सन्तुलित ढङ्गले कायम राख्न नसकेको, बरु एकतर्फी सम्बन्ध विकास गरेको उहाँले बताउनुभयो ।
“एकतर्फी सम्बन्ध कायम गर्दै अमेरिका र भारततिरै लागेको देखियो । त्यही कारण चीनले बनाएका कलकारखाना पनि एकपछि अर्को गर्दै ध्वस्त बनायो”, उहाँले भन्नुभयो ।
एमसीसीले नेपाल शक्ति देशहरूको रणमैदान हुनसक्ने र अमेरिकी सेना नेपालमा आउने बाटो खोल्ने चर्चा गर्नुहुँदै एमसीसी पारित भए देशको अवस्था अफगानिस्तान हुनसक्ने उहाँले स्पष्ट पार्नुभयो ।
“अमेरिकाको पैसा जहाँ – जहाँ जान्छ, अमेरिकी सेना पनि त्यहाँ त्यहाँ पुग्छ । आफूलाई पढेलेखेका भन्ने, राजदूत भइसकेका मानिससमेत यो कुरालाई बुझ पचाइरहेका छन्”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
उहाँले नेपाल कमजोर भए भारत स्वतन्त्र भएपछि नेपाल, भुटान र सिक्किमलाई भारतमा गाभ्ने भारतीय शासकवर्गको योजना ब्युँतिन सक्ने चर्चा गर्नुहुँदै शासक दलका केन्द्रीय सदस्यमध्ये को को विदेशी एजेन्ट हुन्, छानबिन हुनुपर्ने बताउनुभयो ।
सत्तारूढ नेकपाका नेताहरूबीचको झगडा सिद्धान्त र विचारको लागि नभई पद र सत्ताको लागि भएको प्रस्ट पार्नुहुँदै उहाँले यस्तो झगडाले देश र जनताको निम्ति कुनै हित नहुने बताउनुभयो ।
उहाँले वर्तमान सरकारको ठाउँमा अझ खराब सरकार आउन सक्ने विषयमा सजग हुनुपर्ने धारणा राख्नुभयो । “अहिलेको सरकारको ठाउँमा योभन्दा खराब र विदेशी शक्तिलाई रिझाउने सरकार बन्ने सम्भावनाबारे सजग हुनुपर्छ”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
नेपाली शासकहरू आपसी झगडामा फस्दै गरेको बेला दक्षिणको पेलाइ अझ बढ्न सक्ने उहाँको भनाइ थियो ।
पुँजीपतिवर्गको दबाबमा सरकारले लकडाउन खुकुलो बनाइरहेको चर्चा गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले महामारी फैलिँदा गरिब जनताको जीवन थप समस्यामा पर्ने बताउनुभयो ।
कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नेपाली नक्सा प्रकाशित गर्नु सकारात्मक पाइला भएको चर्चा गर्नुहुँदै उहाँले नक्साअनुसार भूमि लिने बेलामा ‘घर झगडा’मा फस्नुको अर्थ शत्रुलाई सहयोग गर्नु रहेको स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *