भर्खरै :

किम जङ उनकी बहिनी किम यो जङको अर्थपूर्ण वक्तव्य

धेरै साताको मौनतापछि प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनकी बहिनी किम यो जङले अन्ततः प्रजग कोरियाली सञ्चारमाध्यममा देखापरेकी छिन् । गत शुक्रबार प्रजग कोरियाको आधिकारिक समाचार संस्था केसीएनएले किम यो जङको झन्डै दुई हजार शब्दको लामो वक्तव्य सार्वजनिक ग¥यो । उनको वक्तव्य संरा अमेरिका लक्षित थियो । प्रजग कोरिया र संरा अमेरिकाबीच यो वर्ष अर्को शिखर सम्मेलन हुनसक्ने सम्भावनाबारे अमेरिकी पक्षबाट आएको पछिल्लो टिप्पणीबारे उनले सो मन्तव्य दिएकी हुन् ।
छोटोमा भन्दा, उनी यो वर्ष शिखर सम्मेलनको विचारसँग त्यत्ति खुसी छैनन् । किम यो जङको भनाइमा यो बेला संरा अमेरिकासँग अर्को शिखर सम्मेलन ‘अव्यवहारिक हुने र त्यसको कसैको सेवा नगर्ने’ हुन्छ । उनले गत साता प्रजग कोरियाका उपविदेशमन्त्रीले सार्वजनिक गरेको टिप्पणीलाई नै दोहो¥याए । उपविदेशमन्त्रीले गत साता तेस्रो शिखर सम्मेलनलाई संरा अमेरिकाले ‘राजनीतिक हतियार’ को रूपमा मात्र प्रयोग गर्ने टिप्पणी गरेका थिए । उनले भनिन्, “संरा अमेरिकाले यो वर्ष शिखर सम्मेलन चाहनुको कारण हामीलाई शान्त बनाएर आफ्नो समय सञ्चय गर्न र प्रजग कोरियासँगको सम्बन्धमा कुनै राजनीतिक विपत्ति ननिम्त्याउने उनीहरूको योजना छ । साथै उनीहरू दुई उच्च नेताहरूबीचको मैत्रीपूर्ण सम्बन्धको लाभ उठाउन चाहन्छन् ।”
प्रजग कोरियाका उच्चपदस्थ सरकारी अधिकारीहरूले सार्वजनिकरूपमै संरा अमेरिकासँग अर्को शिखर सम्मेलनको आवश्यकता नभएको भन्दै एक सातामा निकालेको यो तेस्रो वक्तव्य हो । प्रजग कोरियाली अधिकारीहरू कूटनीतिमा संलग्न हुन नचाहेर यस्तो अभिव्यक्ति पक्कै दिएका होइनन् । बरु यतिबेला शिखर वार्तामा जानु प्रजग कोरियाको तर्फबाट रणनीतिकरूपमा बुद्धिमत्तापूर्ण नहुने भएकोले यस्तो अभिव्यक्ति सार्वजनिक भएको देखिन्छ ।
“प्रजग कोरिया र संरा अमेरिकाबीच गम्भीर अन्तरविरोध र नसुल्झिने समस्या कायम नै छन् । यस्तो परिस्थितिमा प्रजग कोरिया र संरा अमेरिकाबीच शिखर सम्मेलन मेरो विचारमा यो वर्ष र त्यसपछि पनि आवश्यक छैन । संरा अमेरिकाले आफ्नो अडानमा ठुलो परिवर्तन नगरेसम्म यो हाम्रो लागि लाभदायक छैन”, किमको वक्तव्यमा उल्लेख छ । प्योङयाङबाट आएको सन्देश चर्को र स्पष्ट छ ः यदि संरा अमेरिका प्रजग कोरियासँग अर्को शिखर सम्मेलनमा बस्न चाहन्छ भने उनीहरूले फरक कोणबाट त्यो वार्तामा आउने तयारी गर्नुपर्छ । संरा अमेरिका थप लचिलो बन्नुपर्छ ।
नाकाबन्दी थोपरेर प्रजग कोरिया ध्वस्त हुने दिनको प्रतिक्षा गर्ने अमेरिकी रणनीतिले काम गर्दैन । किम यो जङले आफ्नो वक्तव्यमा जोडका साथ भनेकी छिन्,“हामी कुनै पनि खालका नाकाबन्दी सामना गर्न सक्षम छौँ । त्यसकारण संरा अमेरिकाले भनेजस्तो बस्नु हामीलाई कुनै जरुरत छैन ।”
संरा अमेरिकाले अब आफ्नो अडानमाथि पुनर्विचार गर्ने समय आएको छ । अमूर्त आश्वासनको फलाको लगाएर प्रजग कोरियाबाट सबै आणविक हतियार र कार्यक्रम हत्याउने संरा अमेरिकी मागले नै भियतनामको राजधानी हनोइमा भएको शिखर वार्ता असफल भएको थियो । त्यो गल्ती अब अमेरिकाले गर्नु हुन्न । “हनोई शिखर सम्मेलनको वार्ताको टेबुलमा जस्तै संरा अमेरिकाले अझै सपना बाँडेर मोलमोलाइ गर्नेछैन भन्नेमा म आशा गर्छु”, उनले भनिन् ।
यद्यपि किमले आफ्नो वक्तव्यमा प्रजग कोरिया खास के चाहन्छ भन्ने विषयमा संरा अमेरिकी अधिकारीहरूलाई धेरै सङ्केत दिएका छन् । “हामीसँग भएका आणविक हातहतियारलाई ध्वस्त बनाउनमा भन्दा आफ्नो लागि कसरी खतरा नबनाउने विषयमा संरा अमेरिकी अधिकारीहरूले बढी दिमाग घोटे राम्रो हुनसक्छ ।” उनले अघि भनिन्,“आणविक निःशस्त्रीकरण असम्भव नै होइन । तर, अहिले त्यो सम्भव छैन भन्ने हाम्रो भनाइ हो ।”
अर्को शब्दमा भन्दा, संरा अमेरिकाले आणविक निःशस्त्रीकरणलाई आफ्नो माग नबनाउने अवस्थामा वाशिङ्टनसँग वार्ता गर्न प्योङयाङ खुला छ । निःशस्त्रीकरण हुन्छ भने क्रमिकरूपमा हुनेछ । संरा अमेरिका थप लचिलोरूपमा आफूलाई प्रस्तुत गर्न तयार हुँदैन । प्रजग कोरिया आणविक हतियार त्याग्ने त के वार्ताको लागि समेत हात बढाउन तयार देखिंदैन ।
तत्काललाई दुईपक्षीय वार्ता हुने सम्भावना नभएको अवस्थामा किम यो जङले आफ्नो देशले चाल्न सक्ने कदमबारे पनि सङ्केत गरेकी छिन् । “संरा अमेरिकाबाट आउने दीर्घकालीन खतराको सामना गर्न हामीले दीर्घकालीन योजना बनाउनुपर्छ । हामीले हाम्रो व्यवहारिक क्षमता अझ बढाउनुपर्नेछ ।”
यसो हेर्दा प्रजग कोरिया अहिले प्रतिरक्षात्मक अवस्थामा छ । तर, यो नराम्रो कुरा होइन । उनीहरू आगामी महिनामा संरा अमेरिकाको राजनीतिक घटनाक्रम कसरी अघि बढ्छ भन्ने कुरा पर्खेर हेर्ने पक्षमा छन् । संरा अमेरिकाका अधिकारीहरूले प्रजग कोरियासँग अर्को रणनीतिक अवलम्बन गर्छन् वा गर्दैनन्, उनीहरू हेर्न चाहन्छन् । यी र यस्ता बहुपक्षको आधारमा नै दुई नेताबीच तेस्रो शिखर सम्मेलन हुने नहुने कुराको टुङ्गो लाग्नेछ ।
वक्तव्यको समग्र आशय जे जस्तो भए पनि अन्त्यमा किम यो जङले मैत्रीपूर्ण सन्देशसहित टुङ्ग्याएका छन् । उनले टीभीमा संरा अमेरिकाको जुलाई ४ मा स्वाधीनता दिवसको अवसरमा आयोजित समारोह हेरेको उल्लेख गर्दै सो समारोहको डीभीडी उपलब्ध गराउन आग्रह गरेकी छिन् । तीन वर्षअघि जुलाई ४ को दिन प्रजग कोरियाले अन्तरमहादेशीय बालास्टिक मिसाइल (आइसीबीएम) प्रक्षेपण गरेको थियो । त्यसकारण किमको वक्तव्यमा जुलाई ४ को उल्लेख हुनु अर्थपूर्ण छ ।
कूटनीतिमा यस्ता साना साना कुराले पनि धेरै अर्थ बोक्ने गर्छ । दुई देशबीचको सम्बन्ध कहाँ पुग्यो र के कुरा अझै अल्झेको छ भन्ने बुझ्न यस्ता कुराबाट अर्थ निकाल्न सकिन्छ ।
स्रोत ः सीजीटीएन
नेपाली अनुवाद ः अञ्जना

Leave a Reply

Your email address will not be published. Required fields are marked *