भर्खरै :

अमेरिका र भारत चीनको प्रगतिमा बाधा हाल्दै

संयुक्त राज्य अमेरिका र भारत जनगणतन्त्र चीनविरुद्ध खनिएका छन् । साम्राज्यवादी अमेरिका र विस्तारवादी भारत समाजवादी देश चीनविरुद्ध खनिनु स्वाभाविक हो । चीनले गरिरहेको प्रगति सहन नसकेरै ती देशका शासकहरू चीनको प्रगतिमा अनेक बाधा हाल्दै छन् । वास्तविकता तोडमरोड गर्दै कोरोना भाइरस जानाजानै चीनले उत्पादन गरेको दोष लगाउन पनि अमेरिका पछि परेन । अमेरिकामा आयात हुने चिनियाँ सामानमा अचानक कर बढाउने, अमेरिकामा सञ्चालित चिनियाँ कम्पनीहरू बन्द गराउनेदेखि चिनियाँहरूमाथि प्रतिबन्ध लगाउने काम पनि अमेरिकाले ग¥यो । यसरी नै भारत पनि चीनको विरोधमा लागेको लागेकै छ । मानौँ, चीनको विरोध गर्न पाएपछि अमेरिका र भारतलाई हाइसञ्चो हुन्छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो, कालापानीबाट भारतीय सेना फर्काउनुपर्छ भन्ने नेपाल र नेपालीले उठाइरहेको आवाजलाई चीनले उक्साएको भनी भारतले बोल्यो । गनवनमा भएको भिडन्तबारे पनि भारतीय सरकार र भारतीय सञ्चारमाध्यमले एकतर्फी ढङ्गले चीनविरुद्ध सत्यको तोडमरोड गरी विरोध गरिरहेका छन् । अमेरिकाले नेपाली भूमि प्रयोग गरेर चीनलाई घेर्ने जाल बुनिरहेको छ । अमेरिकी कम्पनीले अघि सारेको एमसीसीको अवधारणा नेपाल र नेपालीको अहितमात्र होइन चीनविरुद्ध लक्षित छ । त्यस्तो अवधारणा ल्याउने काममा सत्ताका केपी ओली पक्षधर र नेकाको समर्थन र दबाब रहेको छ । सत्तारुढ दल र नेका जसरी भए पनि एमसीसी पास गर्नुपर्ने पक्षमा उभिएका छन् । छिमेकी र आफ्नो देशलाई असर पर्छ कि पर्दैन भनी केही नसोची सर्तै सर्तको एमसीसी योजना नेपालमा लागू गर्न अमेरिकी दबाब जति छ त्यतिकै भारतको दबाब पनि रहेको छ ।
भारतका अन्धभक्त बुद्धिजीवी र कति भारतका राजनीतिज्ञहरू भारतले जे चाहेको हो, त्यही नेपालमा हुन्छ भनी फलाक्छन् । भारतको आर्थिक सहयोग र विकासमा भुलेकै कारण नेपाल र भारतबिच असमान सन्धि गर्न बाध्य भएको हो । भारतको विरोध गरेपछि नेपालको विकासमा सहयोग गर्दैन, सहयोगमा बाधा हाल्छ भनेरै भारतले नेपालमा जे गरे पनि नेपाल सरकार मौन भएको देखिन्छ । अमेरिकी एक कम्पनीले ल्याएको एमसीसी सम्झौता पनि आर्थिक सहयोगको नाउँमा नेपालमा मन्दविष छर्ने एक खेती हो । यस्तै यस्तै कारणले नेपाल सरकार अलोकप्रिय बनेको हो र नेपाल पराधीन तथा दास मानसिकता बोकेको देश बनेको हो । फसेपछि मात्रै ब्युँतिने काम सरकारले छोड्नुपर्छ । नेपाल कुनै पनि देशको परेड खेल्ने भूमि बन्नु हुँदैन, बनाउनु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *