भर्खरै :

नेपाल–भारत सम्बन्धको एउटा कालखण्डबारे बताउने ‘अप्ठ्यारा साझेदारहरू’ – २

यही अवधिमा भारतीय प्रम र उच्चपदस्थ अधिकारी तथा नेपाली प्रम र मन्त्रीहरूको बरोबर भ्रमण, भेटघाट तथा आदान–प्रदान सघन ढङ्गमा चल्यो । नेपालको मन्त्रिमण्डल गठन, पुनःगठन, मन्त्री हेरफेर आदि कार्यमा भारतले चासो देखायो र हस्तक्षेप ग¥यो । ती कार्य नेहरूले सकभर आफूलाई अपजस नआउने गरी तर आफ्नो उद्देश्य पूर्ण ढङ्गमा पूरा हुने गरी सम्पन्न गर्ने चलाखी गरे ।
नेपाललाई आर्थिक सहयोग उपलब्ध गराई आफ्नो प्रभुत्व जमाउने नीति नेहरूले अपनाए । सोहीबमोजिम सन् १९५३ डिसेम्बर ११ को दिन नेपाल–भारत जोड्ने पहिलो राजमार्ग त्रिभुवन राजपथ उद्घाटन गरियो । भारतीय सहयोगको चौतर्फी आलोचना भयो । विशेषगरी त्रिभुवन राजपथ र गौचर हवाई मैदान निर्माण गर्दा भारतले राजनीतिक, आर्थिक तथा सैन्य स्वार्थलाई उच्च प्राथमिकतामा राखेको स्वयम् संरा अमेरिकीहरूले आरोप लगाए । यसैबिच २७ फेबु्रअरी १९५२ मा नेपालमा भारतीय सैन्य मिसन पठाइयो । सुरुमा त्यस टोलीमा १९७ जना सेना तथा अधिकारीहरू समाहित थिए । नेपालका १८ वटा उत्तरी सीमा नाकामा ती तैनाथ गरिए । परिणामस्वरुप भारतविरोधी भावना नेपालमा तीव्र ढङ्गमा फैलियो । भारतीय सैन्य टोली फिर्ता पठाइनुपर्ने आवाज पनि बढ्दै गयो ।

नारायणी नदीमा निर्माण गरिएको गण्डक व्यारेज शिलान्यास कार्यक्रममा राजा महेन्द्र र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु ।


नेहरूले बारम्बार नेपाल–भारतबीचको सम्बन्धलाई विशेष सम्बन्धको रूपमा चित्रण गरे । भारतको इच्छाविपरीत अन्य कुनै पनि देशले प्रवेश नपाउने घोषणा गरे । सन् १९५२ फेबु्रअरी २८ को एक–दुई दिनपछि जवाहरलाल नेहरूले भने – “… जब भारतको सुरक्षाको सवाल उठ्छ हामी हिमालयलाई नै सीमा मान्छौँ ।” उनले १८ मई १९५४ मा नेपालको परराष्ट्र मामिला भारतको मातहत रहने घोषणा गरे । नेपालमा राणा शासन ढल्नेबित्तिकै चिनियाँ प्रधानमन्त्री चाउ एनलाइले के. एम. पानिक्करसँगको अन्तर्वार्तामा चीन नेपालसँग प्रत्यक्ष सम्बन्ध गाँस्न इच्छुक रहेको र त्यसका लागि भारतको यथोचित सहयोग चाहेको अभिव्यक्ति दिँदा भारतले बेला भइनसकेको र नेपालको स्थिति ‘अझै अलि अलमल खालको र अस्पष्ट’ रहेको जवाफ दियो । यसप्रकार भारतले नेपाललाई झन्झन् आफ्नो मुट्ठीमा कैद गर्दै लगेको र आफ्नो एउटा प्रान्तको रूपमा व्यवहार गर्न खोजेको यस खण्डमा अनेक कोणबाट व्याख्या गरिएको छ ।
नेपाल– चीन सम्बन्ध ः भारतको टाउको दुखाइ
यस पुस्तकको चौथो खण्डको शीर्षक हो – चीनसँगको समझदारी । सन् १९५५ देखि १९५९ को अवधिमा नेपालले बाह्य दुनियाँसँग गर्न खोजेको अन्तरक्रिया, सहयोगको आदानप्रदान र प्रगाढ सम्बन्धको विकास आदिबारे चर्चा गरिएको छ । यस क्रममा भारतबाहेक नेपालले आफ्नो अर्को छिमेकी देश चीनसँग पनि आपसी सम्बन्धको विकासका निम्ति राजकीय भ्रमण तथा मैत्रीपूर्ण भ्रमणको आदान–प्रदान सुरु ग¥यो । नेपाली कूटनीतिक इतिहासमा यो दीर्घकालीन महत्वको परिवर्तन थियो । बन्द कोठा र सीमित घेरामा बसेको नेपालले बिस्तारै बाहिर निस्कन पाउँदा स्वतन्त्रताको अनुभूति गर्नु आश्चर्य होइन ।
१९५५ देखि ५९ को पाँच वर्ष नेपाली राजनीति तीव्रगतिमा परिवर्तन भयो । दुःखद तथा सुखद कैयौँ घटनाहरू यस अवधिमा घटे । सन् १९५५, १३ मार्चको दिन राजा त्रिभुवनको देहान्त भयो र महेन्द्र राजा बने । तत्पश्चात् नेपाली राजनीतिले नयाँ मोड लियो । नेपालको बाह्यनीतिमा पनि क्रमशः फेरबदल देखाप¥यो ।

सन् १९६० को मार्चमा चीन भ्रमणको क्रममा बीपी कोइराला चीनका प्रधानमन्त्री चाउ एन लाईसँग ।


सन् १९५५ अगस्ट १ को दिन नेपाली र चिनियाँ प्रतिनिधिबीच काठमाडौँमा भएको बैठकले दुई देशबीच दौत्य सम्बन्ध स्थापना गर्ने निर्णय ग¥यो । सोही वर्षको १४ डिसेम्बरमा नेपाल संयुक्त राष्ट्र सङ्घको सदस्य बन्न सफल भयो । सन् १९५५ कै नोभेम्बर ६ देखि डिसेम्बर १८ सम्म राजा महेन्द्रले भारतको लामो भ्रमण गरे । भ्रमणबाट फर्किनेबित्तिकै चीनसमर्थक मानिएका टङ्कप्रसाद आचार्यको नेतृत्वमा मन्त्रिमण्डल पुनःगठन भयो । २९ जनवरी १९५६ मा प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले सबै देशसँग बराबरी मित्रताको नीति नेपालले अवलम्बन गर्ने घोषणा गरे । चीन र सोभियत सङ्घलगायतका देशबाट आर्थिकलगायतका सहयोग स्वीकार्ने पनि बताए ।
प्रम टङ्कप्रसाद आचार्यले सन् १९५६ को सेप्टेम्बर–अक्टोबरमा जनवादी गणतन्त्र चीनको भ्रमण गरे । दुई देशबीच सम्बन्ध थप प्रगाढ बनाउन यो भ्रमण सहयोगीसिद्ध भएको देखिन्छ । त्यतिखेर पनि भारतीय राजदूत भगवान सहायले नेपाली प्रमको पहिलो विदेश भ्रमण भारतबाट सुरु हुनुपर्ने भनी दबाब दिएका थिए । त्यसको निम्ति सक्दो प्रयास गरे तर सफल हुनसकेनन् । प्रम आचार्य नेपाल फर्किनेबित्तिकै भारतीय राष्ट्रपति राजेन्द्रप्रसाद नेपाल भ्रमणमा आए । सन् १९५६ को अक्टोबर २१ मा काठमाडौँ पुगेका भारतीय राष्ट्रपतिले चार दिने भ्रमणको सिलसिलामा नेपाली पक्षलाई विकासमा सहयोग गर्ने आश्वासन दिए र अनेक किसिमले फकाउने प्रयत्न गरे । तर, उनका केही अभिव्यक्तिले विवाद निम्त्यायो । नेपाली प्रम टङ्कप्रसाद आचार्यले सन् १९५६ डिसेम्बर २ देखि भारतको १६ दिने औपचारिक भ्रमण सुरु गरे । प्रम आचार्यले विश्व शान्ति तथा क्षेत्रीय स्थिरताका निम्ति चीन–भारतबीच सुमधुर सम्बन्ध आवश्यक भएको विचार व्यक्त गरे । भ्रमणको क्रममा उनी जहाँ जहाँ पुगे त्यहाँत्यहाँ नेपाल–चीन र भारतबीच असल मित्रता अपरिहार्य भएको बताए ।
चिनियाँ प्रधानमन्त्री चाउ एन लाइले सन् १९५७ जनवरी २५ देखि नेपालको चारदिने औपचारिक भ्रमण सुरु गरे । उनले पहिलो किस्ताको रूपमा ६ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरे । नेपालले आफ्नो आवश्यकताबमोजिम खर्च गर्न मिल्ने गरी त्यो सहयोग प्रदान गरिएको थियो । प्रम चाउ एन लाइले महत्वपूर्ण अभिव्यक्ति सार्वजनिकरूपमा दिए – “नेपाल र चीनबीच रगतको नाता छ र यो सम्बन्धलाई कसैले पनि तोड्न सक्नेछैन ।” यसप्रकार यो अवधिमा भ्रमणको आदानप्रदान छिटोछिटो हुँदै थियो । विशेषगरी छिमेकी देशहरूसँग सम्बन्ध सुमधुर बनाउने र सहयोग आदानप्रदान गर्ने नेपालको चाहना रहेको प्रस्ट थियो ।
टङ्कप्रसाद नेतृत्वको मन्त्रिमण्डल १४ जुलाई १९५७ मा विघटन गरियो । मन्त्रिमण्डल गठन र पुनःगठनको यो एउटा अर्को सिलसिला थियो । २७ जुलाई १९५७ मा के. आई. सिंको नेतृत्वमा मन्त्रिमण्डल पुनःगठन भयो । तर तीन महिना पनि पूरा नहुँदै डा. के. आई. सिंको मन्त्रिमण्डल विघटन गरियो । मन्त्रिमण्डलमा राजनीतिक दलका प्रतिनिधिहरू समाहित भए तापनि राजाकै प्रत्यक्ष शासन कायम रह्यो । राजा महेन्द्रले सन् १९५८ को जूनमा सोभियत सङ्घ, युरोप र पूर्वी अफ्रिकाको भ्रमण गरे । सोभियत सङ्घको भ्रमण सफल मानिन्छ । कारण, नेपालको विकासका निम्ति आर्थिक सहयोग प्रदान गर्न सोभियत सङ्घ राजी भयो । त्यसपछि सोभियत सङ्घले नेपालका विभिन्न क्षेत्रको विकासको निम्ति ठुलो धनराशी सहयोग ग¥यो । चीन–सोभियत सङ्घबीचको बलियो सम्बन्धबाट पनि भारत त्रसित बन्दै गइरहेको थियो ।
यसप्रकार यो पुस्तकको चौथो खण्डमा नेपालले अन्तर्राष्ट्रिय जगतसँग गर्न खोजेको सम्पर्क, अन्तरक्रिया तथा सम्बन्धको विकास र त्यसप्रति भारतको उच्च सतर्कताबारे चर्चा गरिएको पाइन्छ । अवरोधका अनेकौँ भारतीय प्रयासलाई नाघेर नेपाल–चीनबीच सम्बन्धको नयाँ आयामले केही सकारात्मक भूमिका निर्वाह गरेको र भारतप्रतिको पूर्ण निर्भरता तोड्न सहायता पुगेको निर्विवाद छ । भारतले नेपालको परराष्ट्र र रक्षा मामिला आफ्नो मुट्ठीमा राख्दाराख्दै नेपालले प्राप्त गरेको कूटनीतिक सफलता एउटा उल्लेख्य उपलब्धि जरुर मान्न सकिन्छ ।
भारत – चीनबीच द्वन्द्व र नेपाल
‘चीनसँगको द्वन्द्व’ यस पुस्तकको पाँचौँ खण्ड हो । सन् १९५९–६० मा भारतको चीनसँग बढेको मतभिन्नता तथा विवादबारे यहाँ विस्तृत छलफल गरिएको छ । नेपाल–भारतबीचको सम्बन्धमा आएको उतार–चढाव तथा तिक्तताबारे पनि विभिन्न प्रसङ्गहरू उल्लेख गरिएका छन् ।
सन् १९५९ मार्च ३१ को दिन भारतले चीनबाट भागेका दलाइ लामालाई शरण दिएपछि भारत – चीनबीचको तिक्तता उत्कर्षमा पुगेको देखिन्छ । भारतको त्यस कार्यको चीनले कडा शब्दमा विरोध ग¥यो । चीनको पनि विरोध गर्न भारतलाई चौतर्फी दबाब परेको थियो ।
नेपालको राजनीतिले भने फरक बाटो लिँदै थियो । सन् १९५९ मईमा निर्वाचनमार्फत नेपाली काङ्ग्रेसको बहुमतको सरकार गठन भयो । बी.पी. कोइरालाको नेतृत्वमा सरकार गठन भएपछि नेपाल–भारत सम्बन्ध केही सजिलो भएको महसुुस गरियो । यद्यपि, बी.पी कोइरालाले नेपाल कुनै पनि सैन्य गठबन्धनमा संलग्न नहुने र नेपालले अन्तर्राष्ट्रिय दबुमा अपक्षधरताको नीति नत्याग्ने घोषणा गरे । आफ्ना वरपरका देशसँगको सम्बन्धमा समस्या आइरहेकै बेला निर्वाचनमार्फत नेपालमा नेपाली काङ्ग्रेसको सरकार गठन हुनुलाई भारतले अत्यन्त सकारात्मक ढङ्गमा लियो र खुसी प्रकट ग¥यो । पन्ध्र दिन नबित्दै सन् १९५९ जून ११ मा नेहरू तीनदिने नेपाल भ्रमणमा आए । यसबाट भारतले दिएको महत्व र भारतको अपेक्षा बुझ्न सहज बनाउँछ ।
नेपाली हवाई मैदानमा टेक्नेबित्तिकै नेहरूले भने, “यी हिमालहरू भनेका ठुला शक्ति हुन् जुन कसैबाट प्रभावित हुने छैनन् । यी हिमालहरू नेपाल र भारतका पुराना मित्रहरू हुन् र यिनले दुबैको सुरक्षा गर्नेछन् । हाम्रा देशका काव्य, साहित्य, कला र धर्ममा समेत साझा विषय बनेर हामीलाई एकआपसमा जोड्नेछन् ।” यसरी नेहरू नेपाल र भारतबीच ऐतिहासिक मित्रता रहेको र यो कसैले भत्काउन नसक्ने बताउँथे । यस बोलीमा भय लुकेको थियो भन्ने बुझ्न कठिन थिएन । त्यतिखेर चीनले हिमाली अधिराज्यहरूलाई मिलाएर एउटा महासङ्घ गठन गर्दै छ भन्ने हो–हल्ला चलाइएको थियो । यही पृष्ठभूमिमा जवाफस्वरूप या पूर्वतयारीस्वरुप नेहरूका यी अभिव्यक्ति आएका हुन् भन्ने अनुमान लगाउन गा¥हो छैन ।
नेहरूको भ्रमणले नेपाल–भारतबीच विकसित भइरहेको असमझदारी मेट्न सफल भएको बताइयो । साझा समस्याबारे मित्रवत् ढङ्गमा कुराकानी गरी नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ चरणमा पु¥याउने काम भएको विश्वास गरिन्छ ।
भारत र चीनबीचमा सीमा समस्या बल्झिँदै थियो । नेहरू उत्तरी सिमानाबारे चिन्तित थिए र एकपछि अर्को सङ्कटमा फस्दै गए । नेपाल र चीनबीच बढ्दो आदानप्रदान र घनिष्ठताप्रति नेहरू आशङ्काको दृष्टिले हेर्थे । त्यसलाई उनले कूटनीतिक धरापको रूपमा बुझ्न थाले । फलत ः २७ नोभेम्बर १९५९ मा संसदलाई सम्बोधन गर्ने क्रममा भने, “भुटान र नेपालमाथि हुने कुनै पनि हस्तक्षेपलाई भारतमाथिको हस्तक्षेपको रूपमा हामी बुझ्नेछौँ ।” जनसङ्घ समर्थित एउटा पत्रिकाले आफ्नो सम्पादकीयमा लेख्यो, “… हामीले नेपाललाई अलग्ग देश या राष्ट्रको रूपमा कहिल्यै मानेका छैनौँ । … यदि चीनले कोरियाको रक्षा गर्न मिल्छ भने हामीले नेपालको सुरक्षा गर्न किन नमिल्ने ?”

सन् १९५६ मा पेइचिङमा चीनका प्रधानमन्त्री चाउ एन लाईसँग प्रधानमन्त्री टङ्कप्रसाद आचार्य ।


नेपालका प्रम बी.पी. कोइरालाले सन् १९५९ नोभेम्बर २९ को दिन एक वक्तव्यमार्फत नेहरूको भनाइको खण्डन गर्दै नेपाल पूर्णरूपमा सार्वभौम तथा स्वतन्त्र देश भएको बताए । साथै, बाह्य तथा घरेलु मामिलामा निर्णय लिन नेपाल स्वतन्त्र रहेको स्पष्ट पारे । यसैबीच प्रम नेहरू र प्रम कोइरालाबीच गम्भीर कुराकानीहरू भए । नेहरूले आर्थिक सहयोग दिएर फकाउने प्रयत्न गरे ।
सन् १९६० मार्च ११ देखि २३ सम्म प्रम कोइरालाले चीन भ्रमण गरे । नेपाल र चीनका बीच पछिल्लो समय उत्पन्न समस्या, असमझदारी र विवादबारे छलफलहरू भए । चीनले दश करोड रुपैयाँ (भारतीय मुद्रा) सहयोग गर्ने बतायो । त्यो सहयोगमा कुनै सर्त राखिएको थिएन । नेपाललाई भारत निर्भरताबाट अलग्याउने चीनको उद्देश्य रहेको स्पष्ट थियो । अप्रिल ४ को दिन चीन भ्रमणपश्चात काठमाडौँ पुग्दा प्रम कोइरालाले सगरमाथामाथि चीनको दाबी रहेको बताए । प्रम कोइराला नेपाल फर्केको महिना दिन नबित्दै चिनियाँ प्रम चाउ एन लाइ नेपाल भ्रमणमा आए । चिनियाँ प्रमले नेपालले सगरमाथा क्षेत्र पूरै चाहेको खण्डमा चीनले दाबी छोड्ने बताएर ठुलो सदासयता देखाए । चिनियाँ उच्च संवेदनशीलताको नेपालमा चारैतिरबाट स्वागत तथा प्रशंसा भयो ।
‘अप्ठ्यारा साझेदारहरू’ का लेखक झा सन् १९६० को अन्त्यतिर नेपाल र भारतबीच मित्रता तथा सहकार्य अगाडि बढेको मात्र होइन केही समय अगाडि जोडतोडले चलिरहेको भारतविरोधी हावाहुरी पनि त्यस समय शान्त रहेको बताउँछन् । उनी भन्छन्, “तर कसैले अनुमान गर्न सकेन कि त्यो त आँधी आउनु अगाडिको सन्नाटामात्र हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *