भर्खरै :

इजरायलमा सरकारविरोधी प्रदर्शन

तेल अभिभ, १२ जुलाई । कोरोना भाइरसको कारण अर्थतन्त्रमा परेको क्षतिपूर्तिमा सरकारले ध्यान नदिएको भन्दै शनिबार इजरायलमा हजारौँ जनताले सरकारविरोधी प्रदर्शन गरेका छन् । तेल अभिभको रविन चोकबाट निकालिएको जुलुसले सहर परिक्रमा गरेको थियो । प्रदर्शनकारीहरूले मुखमा मास्क लगाएका थिए ।
स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार इजरायली दोबाटोमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप भएको थियो । सो क्रममा तीनदेखि पाँच जना प्रदर्शनकारीहरूलाई प्रहरीले गिरफ्तार गरेको छ ।
प्रहरीले सकेसम्म थोरै मानिसलाई मात्र जुलुसमा सहभागी बन्न दिने प्रयास गरेको थियो । तर, उनीहरूको प्रयास विफल भयो ।
“मेरो कम्पनीमा चालिस जना मजदुर काम गर्छन् । उनीहरूको न कुनै आय छ न पैसा छ”, इजरायलको साउन्ड र लाइट कम्पनीका मालिक मेचल गैस्ट–कासिफले भने ।
“हामी सामान्य अवस्थामा नफर्किंदासम्म सरकारले व्यवसायको लागि राहत दिनुपर्छ । मध्य मार्चदेखि अप्रिल, मे, जून र जुलाईमा हामीले काम गर्न पाएनौँ । अगस्टमा थप सङ्कट आउनेछ”, उनले भने ।
इजरायलमा मार्च महिनादेखि लकडाउन घोषणा भएयता बेरोजगारी दर बढेर २१ प्रतिशत पुगेको छ । सरकारले दिने भनेको आर्थिक सहायता निकै ढिलोमात्र वितरण गरिएको छ । आर्थिकरूपमा टाट पल्टिने अवस्थामा पुगेका इजरायलीहरू निराश छन् ।
अर्थतन्त्रमा परेको प्रभावलाई ध्यानमा राखी इजरायल सरकारले लकडाउन केही खुकुलो बनाउँदा कोभिड–१९ का सङ्क्रमित बढेपछि यो साता सरकारले महामारी नियन्त्रण गर्न थप लकडाउनको घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *