भर्खरै :

“नेपालका राजदूतहरूले जिम्मेवारी पूरा गरेनन्”

काठमाडौँ, २८ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विभिन्न देशमा रहेका नेपाली राजदूतहरूले पत्रकार भेटघाटको आयोजना गरी नेपालको अवस्थाबारे संसारका जनतालाई जानकारी दिनुपर्ने बताउनुभएको छ । आइतबार एभरेस्ट अनलाइन टीभीका सञ्चारकर्मी उमेश सुवेदीसँग कुराकानी गर्दै उहाँले राजदूतहरूले पदअनुसारको जिम्मेवारी पूरा नगरेको बताउनुभयो ।
“आराम गर्न, खानपिन गर्न र त्यत्तिकै बस्न राजदूत बनाइएको होइन । राजदूतहरूले कसरी नेपालको हित गर्ने भन्ने विषयमा चिन्तन र गतिविधि गर्न आवश्यक छ”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
विदेशी राजदूतहरूले आफ्नो सरकारलाई यहाँको अवस्थाबारे रिपोर्टिङ गर्न विभिन्न व्यक्तिहरूसँग भेट्नु सामान्य अभ्यास भएको चर्चा गर्दै उहाँले कुनै दलको आन्तरिक मामिलामा चिनियाँ राजदूतले निर्देशन गरेको भन्ने प्रचारबाजी सही हुननसक्ने बताउनुभयो ।
सत्तारूढ नेकपा ‘कम्युनिस्ट पार्टी’ भन्ने बुझाइमा नै गल्ती भएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले व्यवहारबाट नेकपाले नेकाकै पदचिह्न पछ्याइरहेको बताउनुभयो ।
उहाँले नेकपाको सरकार पनि यसअघिका सरकारजस्तै पुँजीपतिवर्गकै स्वार्थमा बनेकोले व्यापक मजदुर–किसानको पक्षमा कुनै काम नगरेको बताउनुभयो ।
पुरानो घोडा नेका थाकेकोले नेपालमाथि आफ्नो प्रभुत्व कायम राख्न भारतीय विस्तारवादले नेकपालाई नयाँ घोडाको रूपमा अघि सारेको अध्यक्ष बिजुक्छेँको भनाइ थियो ।
“पच्चीस वर्षअघि नै हामीले एमालेलाई भाइकाङ्ग्रेस भनेका थियौँ । हाम्रो विश्लेषण अझसम्म फिर्ता लिनुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भारतीय सञ्चारमाध्यमले प्रयोग गर्ने अशिष्ट र अभद्र शब्द तथा विश्लेषणको प्रतिरोधमा भारतीय टीभी च्यानल बन्द गर्नु ठीक भएको तर्क गर्नुभयो ।
सत्तारूढ दलका नेताहरूले आधाआधा अवधि प्रधानमन्त्री चलाउने भनी सहमति गर्नु गलत भएको भन्दै उहाँले बरू हिजो आफू प्रधानमन्त्री हुँदा भएका के के काम अहिलेको सरकारले गरेन र कस्ता काम गर्नुपर्ने भन्ने आधार प्रस्ट पार्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेकपाभित्रको चालू झगडा विचार र सिद्धान्तको निम्ति नभई पद र सत्ताको लागि हो ।”
उहाँले अरू राजनीतिक पार्टी फोड्नमात्र जान्नेहरू कहिल्यै आफू पनि मिलेर बस्न नजान्ने भन्दै सत्तारूढ दलका नेताहरूबीचको पद र सत्ताको झगडाले नेपाली जनताबीच कम्युनिस्टहरूकै बदनाम गरेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *