भर्खरै :

ट्रम्पसँग मतभेदपछि फाउसीलाई लगाइयो किनारा

वाशिङ्टन, १२ जुलाई । संरा अमेरिकामा कोभिड–१९ को महामारीविरुद्ध अग्रपङ्क्तिमा नेतृत्व गर्दै आएका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउसीलाई राष्ट्रपति कार्यालय छेउ लगाएको त्यहाँको सञ्चारमाध्यमले जनाएको छ ।
आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा राष्ट्रपति कार्यालयका एक जना वरिष्ठ अधिकारीले डा.फाउसीले राष्ट्रपति ट्रम्पसमक्ष अवस्थाबारे जानकारी दिने क्रम रोकिएको र उनी राष्ट्रपतिको कार्यालय ओबल अफिसमा देखिन छोडेको बताएका छन् ।
वाशिङ्टन पोस्टको समाचारअनुसार जून महिनाको पहिलो साताबाटै फाउसीले ट्रम्पलाई भेटेका छैनन् ।
कोभिड–१९ को सङ्क्रमण सुरु भएदेखि नै फाउसीले महामारीबारे गम्भीर बन्नुपर्नेमा जोड दिँदै आएका थिए । तर, राष्ट्रपति ट्रम्पले भने महामारीलाई गम्भीरतापूर्वक लिन नहुने अनेक तर्क गर्दै आएका थिए । ट्रम्प र फाउसीबीच धेरै विषयमा मतभेद हुँदै आएको थियो ।
पछिल्ला अन्तर्वार्ताहरूमा फाउसी महामारी नियन्त्रणमा ट्रम्प सरकारको कमजोरीप्रति आलोचक रहेका थिए । सरकारको आलोचना गर्नथालेपछि ह्वाइट हाउसले उनलाई टीभीमा अन्तर्वार्ताको लागि जान रोक लगाएको थियो ।
पछिल्लो एक अन्तर्वार्तामा उनले ट्रम्पले दाबी गरेजस्तो संरा अमेरिकामा नोबेल कोरोना भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या नघटेको भन्दै त्यस्ता झूटा विवरणमा विश्वास नगर्न भनेका थिए ।
उनले संरा अमेरिकामा अझै पनि महामारीको जोखिम बढेकोले सार्वजनिक ठाउँहरू तत्काल खोल्न नहुने बताएका थिए । यो कुरामा पनि उनको र ट्रम्पको मतभेद रहँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *