भर्खरै :

कोभिड–१९ विरुद्ध भेनेजुयलाको लडाइँ

‘कठिनाइहरूदेखि रुने जीवन
मेरो लागि होइन,
होइन मेरो आँधीजस्तो मनलाई
यो स्वीकार्य छैन
मलाई त एउटा महान् र उँचो लक्ष्य चाहिन्छ
र त्यसको लागि आजीवन सङ्घर्षको
अटुट सिलसिला चाहिन्छ ।’
यतिखेर कार्ल माक्र्सको प्रसिद्ध कविता ‘जीवन सङ्घर्ष’ को उद्धृत एक अंशले भेनेजुयलाका कैयौँ नागरिकहरूलाई सङ्घर्षको निम्ति ऊर्जा दिइरहेको हुनुपर्छ । एकातिर संसारको महाशक्ति संरा अमेरिकाको कठिनतम नाकाबन्दी, अर्कोतिर कोभिड–१९ महामारीको सङ्कट ¤ महामारीको विपत्बीच संरा अमेरिका भेनेजुयलामाथिको नाकाबन्दी झन् कडा गरिरहेको छ, ‘स्याःलय् तियेगु’ (दुखेकै ठाउँमा घोच्ने) काम गरिरहेको छ । अत्यावश्यकीय औषधी खरिदमा समेत प्रतिबन्ध लगाउने संरा अमेरिकाका राष्ट्रपतिलाई ‘राक्षस’ को संज्ञा दिनु नै सबभन्दा सुहाउँदो उपमा हुन्छ, जसरी भेनेजुयलाका पूर्वराष्ट्रपति ह्युगो चाभेजले सन् २००६ मा संयुक्त राष्ट्रसङ्घको महासभामा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसलाई राक्षसको संज्ञा दिएका थिए ।
भनिन्छ, ‘कि आँटले खान्छ, कि ढाँटले ।’ भेनेजुयलाले आफ्नै आँटले खाइरहेको छ भने संरा अमेरिका ढाँटले । समस्याको अजङ्ग पहाडसामु रहेर पनि भेनेजुयला झुकेको छैन । नाकाबन्दी होस् या जस्तोसुकै आक्रमण, समाजवादतर्फको यात्रा रोकिएको छैन । भेनेजुयला महाकवि देवकोटाले भनेझैँ ‘साग र सिस्नु’ आनन्दी मनले खाइरहेको छ, संरा अमेरिका भने जतिसुकै कुचेष्टा गर्दा पनि भेनेजुयलालाई झुकाउन नसकेकोमा लज्जित छ । ‘सत्य डग्दैन, झूटो टिक्दैन’ भनेझैं भेनेजुयलाको नैतिक विजययात्रा जारी छ ।
स्वाभिमान के हो भन्ने जान्न भेनेजुयलाका क्रान्तिकारी नागरिकसँग सोधे हुन्छ । स्वाधीनता कति मिठो हुन्छ ? भेनेजुयलाको स्वतन्त्रताको निम्ति रगत र पसिना बगाउने वीरविराङ्गनाहरूलाई सोधे हुन्छ । आफ्नो खुट्टामा उभिएर बोल्नेको शब्दमा कत्तिको दम हुन्छ भन्ने बुझ्ने मन कसैको छ भने साहसी भेनेजुयलाका योद्धाहरूका आवाजहरूमा खोजे हुन्छ । धैर्य र साहसको हतियार नै चाहिँदो रहेछ विजयको निम्ति !
एक्लो छैन भेनेजुयला
संसारका सबै देश एकैखाले छैनन् । चीन, क्युवाजस्ता देशले मित्रता र सहयोगको अनुपम उदाहरण प्रदर्शन गरिरहेका छन् । आफै सङ्कट झेलिरहेको सन्दर्भमा ‘बाँच र बचाऊ’ को विशेष कर्म गर्नेको उदाहरणमा चीन र क्युवाभन्दा राम्रो अरू कोही छैनन् भेनेजुयलाको निम्ति ¤ भेनेजुयलाको हकमा रसिया र इरानले पनि साथ दिएको यहाँनिर बिर्सन सकिन्न । संरा अमेरिकी प्रतिबन्धविरुद्ध चीन र क्युवाले विश्वभर औषधीलगायत स्वास्थ्य उपकरणमात्र होइन विशेषज्ञ चिकित्सक सहयोग गरिरहेका छन् । मार्च १५ कै दिन १३० जना चिकित्सकसहितको क्युवाली टोली भेनेजुयला पुग्यो । यसरी सन् २००३ देखि भेनेजुयला रहेका ‘क्युवाली चिकित्सा मिसन’ का चिकित्सकमा नयाँ टोली थपियो । त्यस्तै, मार्च २३ को दिन विभिन्न चिकित्सा उपकरण तथा औषधीसहित चीनको चिकित्सक टोली भेनेजुयला पुग्यो ।
भेनेजुयलाका देशभक्त चिकित्सकहरू आफै पनि अनेक खतरा मोलेर जनताको उपचारमा जुटिरहेका छन्, र त भेनेजुयला महामारी नियन्त्रणमा सफल छ । छिमेकी ब्राजिल कोरोना सङ्क्रमित सङ्ख्या संरा अमेरिकापछिको दोस्रो बन्न विवश भएको बेला भेनेजुयलामा सङ्क्रमितको सङ्ख्या तुलनात्मकरूपमा न्यून नै छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ब्राजिलमा जुलाई १३ आइतबारसम्ममा १८ लाख ६६ हजार ८२७ सङ्क्रमित भए, ७० हजार ३९८ को मृत्यु भयो भने भेनेजुयलामा ८ हजार ८ सय ३ सङ्क्रमित भए ८३ को मृत्यु भएको छ । भेनेजुयलामा कोभिड–१९ को महामारीको मृत्युदर ०.९४ प्रतिशत छ भने ब्राजिलको ३.८ प्रतिशत छ । भेनेजुयलाको अर्को छिमेकी कोलम्बियामा १ लाख ४० हजार ७७६ सङ्क्रमितमध्ये ३.५ प्रशितको मृत्यु भएको छ । यसबाट पनि भेनेजुयलाको रणनीति सफल ठहरिन्छ ।
‘चोट मलाई पर्दा दुख्छ भने यदि तिम्रो ज्यान, त्यही हो त्यही राष्ट्रियताको मूल निसान’ भन्ने कवि दुर्गालालको कविता÷गीतमा थोरै परिमार्जन गरी राष्ट्रियता शब्दको ठाउँमा अन्तर्राष्ट्रियता राख्ने हो भने त्यही गीतले चीन, क्युवा, भेनेजुयलाको एकताभाव उजागर गर्छ । एउटालाई परेको चोटले अर्कोलाई दुख्नु नै सही मित्रताको पहिचान बन्छ । समाजवादी आदर्श यहाँ पनि अभिव्यक्त भएको भन्न सकिन्छ ।
‘मौकामा चौका हान्ने’ प्रवृत्ति त पुँजीवादी व्यवस्थामा मात्र लागू हुन्छ । अर्काको दुःखमा रमाउने, गरिबलाई कागतीजस्तै निचोरेरै सिध्याउने, चोक्टा आफू खाने र अरूलाई झोल पनि नदिने वा कविशिरोमणिको शब्दमा ‘मै खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरूँ म बाचूँ मै नाचूँ अरू सब मरून् दुर्बलहरू’ भन्ने प्रवृत्ति पुँजीवादमै फैलिन्छ ।
भेनेजुयलाको बेग्लै प्रयास
फेब्रुअरी २६ मा ल्याटिन अमेरिकामै कोरोना भाइरसको पहिलो बिरामी ब्राजिलमा भेटिएलगत्तै भेनजुयला सरकारले ‘कोभिड भाइरस नियन्त्रणको निम्ति राष्ट्रपतीय परिषद्’ गठन ग¥यो । सन् २०२० को मार्च १३ मा सङ्क्रमण फैलिएका देशबाट आएका दुई नागरिकमा कोभिड–१९ को पहिलो लक्षण भेटियो । तत्काल भिडभाड हुने स्थानलगायत विद्यालय तथा कलेजहरू बन्द गरिए । भेनेजुयलाका राष्ट्रपति माडुरोले भेनेजुयलाका जनताको ऐक्यबद्धता र सहकार्यसाथ महामारीविरुद्ध लड्न देशले तयारी गरेको घोषणा गरे । उनले विश्व स्वास्थ्य सङ्गठनका निर्देशनअनुसार नै योजना बनाएको र सँगै मिलेर विजय प्राप्त हुन्छ भनेर जनतालाई आश्वस्त पारे ।
मार्च १५ को दिन ‘स्टे होम अर्डर’ जारी गरियो । आदेशमा अत्यावश्यकीय काममा बाहेक घरमै बस्न भनिएको थियो । मार्च १७ को दिन बन्दाबन्दी (लकडाउन) आदेश जारी गरियो । चरणबद्ध आदेशले तयारीको वातावरण सहज बनायो । २३ मार्चको दिन राष्ट्रपति माडुरोले जनताको नाममा सम्बोधन गर्दै जनमुखी योजना सार्वजनिक गरे । उनले सबै व्यापारिक तथा आवासीय भवनको भाडालगायत सबै ऋणको ब्याज ६ महिनाको निम्ति खारेज गरिएको घोषणा गरे । त्यस्तै सार्वजनिक तथा निजी क्षेत्रका मजदुरहरूले सरकारबाट विशेष भत्ता पाउने र साना तथा मझौला कम्पनीका कामदारको निम्ति पनि राज्यले नै सेप्टेम्बरसम्म पारिश्रमिक वितरण गर्ने घोषणा गरियो । वर्षको अन्तसम्म कुनै संस्थाले कसैलाई कामबाट निकाल्न नपाइने कानुन पारित गरियो । साना तथा मध्यम व्यापारिक संस्थाको निम्ति ‘फास्ट ट्रयाक’मा ऋण वितरण गर्ने र ७० लाख परिवारलाई खाना पु¥याउनको निम्ति विशेष कृषि लगानी योजना घोषणा गरियो । कुनै पनि दूरसञ्चार कम्पनीले ६ महिनासम्म कुनै पनि ग्राहकको टेलिफोन सेवा विच्छेद गर्न नपाउने घोषणा भयो । नागरिकको रोजगारीको सुरक्षा कायमै राख्ने वचनबद्धता माडुरोले प्रकट गरे । यी निर्णयले भेनेजुयला कामदारवर्गको पक्षमा रहेको बताउँछ ।
कोभिड–१९ को महामारी फैलिएदेखि भेनेजुयलाले सङ्क्रमणको ग्राफलाई तेर्सो नै राख्ने योजना बनायो । त्यसको निम्ति सङ्क्रमण फैलिन नदिनु नै अचुक उपाय हो । क्वारेन्टिन, परीक्षण, आइसोलेसन र उपचार विधिको विकल्प पनि छैन । सरकारले स्वास्थ्यउपचार क्षमता विस्तार गर्ने कामलाई प्राथमिकतामा राख्यो । सरकार जिम्मेवार हुँदामात्र जनतामा अनुशासनको अपेक्षा गर्न सकिन्छ । सार्वजनिक स्थलमा फेस मास्कलाई अनिवार्य गरियो, जनताले साथ दिए ।
मुख्यतः हरेक घरघरमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पुगे । करिब ३ करोड जनसङ्ख्या भएको देशमा १३ हजार स्वास्थ्यकर्मीको समूह परिचालित गरियो । समूहमा स्थानीय स्वास्थ्य समितिका सदस्य र सामुदायिक परिषद्का सदस्यसहित चिकित्सक, नर्स, चिकित्साशास्त्रका विद्यार्थी र थेरापिस्ट रहेका हुन्छन् । घरघर पुग्ने अभियानबाट सङ्क्रमित व्यक्तिलाई छिटोभन्दा छिटो अलग राख्ने बाटो खुल्छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने प्रतिरोधात्मक विधि सबभन्दा उपयुक्त विधि हो भन्ने कुरालाई व्यवहारमा लागू गर्ने प्रयासमा भेनेजुयलाले धेरै सफलता प्राप्त ग¥यो । घरघर पुग्ने स्वास्थ्यकर्मीले व्यक्तिगत सरसफाइ र रोगबाट सुरक्षित हुने उपायबारे शिक्षित पार्ने काम पनि गरे । तिनीहरूले सबैको यात्रा विवरण लिने, कुनै लक्षण देखिएमा तत्काल द्रुत परीक्षण (आरडीटी) र आवश्यकताअनुसार पीसीआर परीक्षण गर्न सिफारिस गर्ने काम गर्छन् । प्राथमिक तथा मध्यम स्वास्थ्यउपचार केन्द्रहरूमा रोग परीक्षणका उपकरण थप्ने काम तत्कालै गरियो । तेस्रो तथा चौथो तहका स्वास्थ्य केन्द्रका रूपमा लिइएका अस्पतालहरूमा थप सघन उपचार कक्ष (आईसीयू) लगायत बेडहरू थप्ने काम गरियो । परीक्षण र औषधोपचार सबै निःशुल्क गरियो ।
स्वास्थ्य – समाजवादको आधारशिला
यस्तो कठिनाइबीच भेनेजुयलाको सफलताको रहस्य के होला ? एउटै शब्दमा उत्तर दिँदा आउँछ – समाजवाद । भेनेजुयला सरकार सर्वसाधारण जनताको स्वास्थ्यप्रति सबभन्दा बढी जिम्मेवार छ । जनस्वास्थ्य सरकारको प्रथम जिम्मेवारी हो । स्वस्थ जनता नै भेनेजुयलाको समाजवादी निर्माणको आधार हुन् । भेनेजुयला सरकारले स्वास्थ्यपछि शिक्षामा जोड दिएको छ । स्वस्थ व्यक्तिले शिक्षा पाए समृद्धिको यात्रा सरल र सहज हुन्छ । भेनेजुयलाले गाँस, बास र कपासलाई पनि उत्तिकै प्राथमिकता दिएको छ । राज्य सम्पन्न भए, आर्थिक असमानतालाई सम्याउन कठिनाइ हुन्न । उत्पादनका साधन राज्य वा कामदारवर्गको हातमा पर्दा आर्थिक विषमताको समस्या समाधान हुन्छ । राज्यको स्रोतसाधन समानुपातिकरूपमा वितरणको सिद्धान्त नै समाजवाद हो । भेनेजुयला समाजवादतर्फको यात्रामा अकण्टक हिँड्ने प्रयास गरिरहेको छ । साम्राज्यवादविरुद्धको युद्धलाई थाती राखेर त्यो यात्रा तय गर्न सकिन्न, भेनेजुयलाका पछिल्ला दुई दशक यसरी नै लड्दैबढ्दै बिते । साम्राज्यवादीहरूबाट परिचालित प्रतिक्रियावादीहरूसँग लड्न नपरेको भए भेनेजुयलाले आजको सर्वाङ्गीण विकासभन्दा कैयौँ गुणा फड्को मारिसकेको हुन्थ्यो ।
“निजीकरण एक नवउदारवादी र साम्राज्यवादी योजना हो । स्वास्थ्यक्षेत्रको निजीकरण गर्न सकिँदैन किनभने स्वास्थ्य मानवीय आधारभूत अधिकार हो । शिक्षा, पानी, बिजुली र अन्य सामाजिक सेवालाई पनि निजीकरण गर्न सकिँदैन । यी क्षेत्र निजी पुँजीलाई भेटी चढाउन सकिँदैन । किनभने, यो जनताको अधिकारविरुद्ध हुन्छ ।” भेनेजुयलाका पूर्वराष्ट्रपति ह्युगो चाभेजको प्रस्तुत भनाइ नै समाजवादी बाटो हिँड्ने आधार बनेको छ भेनेजुयलाको । १६ औँ शताब्दिदेखि स्पेनलगायत विभिन्न उपनिवेशवादी देशहरूको ताडनाका बीच भेनेजुयाली जनताले थुप्रै राजनीतिक उतारचढाव भोगे । भेनेजुयलाले तानाशाही, सैनिक, प्रजातान्त्रिक सबै सत्ता व्यहोरिसक्यो ।
चाभेज सत्तामा आएपछि जनताको स्वास्थ्यमा पहुँच पु¥याउन देशैभरि निःशुल्क स्वास्थ्य चौकी बनाइयो । सँगै शिक्षा पनि निःशुल्क गरियो । सन् २००४ मा क्युवासँग मिलेर अमेरिकी जनताका लागि बोलिभारियाली मोर्चा गठन गरियो । बोलिभारियाली क्रान्तिको सिद्धान्तअनुसार विकेन्द्रीकरणद्वारा जनतालाई बलियो पार्ने काम गरियो । जनतामा सामूहिक भावना तथा आत्मव्यवस्थापन गरियो । अल्बाकै कार्यक्रमअन्तर्गत क्युवाले भेनेजुयलाका लागि डाक्टर पठाउँछ, भेनेजुयलाले तेल । औषधी, खाद्यान्नलगायतमा अन्तर्देशीय सहकार्य यसले गरिरहेको छ । अल्बाले महादेशीय टीभी स्टेसन टेलिसुर र तेल कम्पनी पेट्रोक्यारिबका साथै कृषि औद्योगिक लगानीको लागि सस्तो ब्याजदरमा ऋण दिने प्रबन्ध गरेको छ । यस्तो महादेशीय साझेदारीले जनस्वास्थ्य क्षेत्रको साथै चौतर्फी विकासको निम्ति सहयोग पुगेको छ । विदेशीका तेल कम्पनीलगायत ठूला उद्योग तथा कारखानाहरू राष्ट्रियकरण र भूमिसुधार सफलतापूर्वक लागू गरेपछि प्रारम्भ भएको समाजवादी यात्रा अघि बढिरहेको छ । वास्तवमा साम्राज्यवादी देशहरूको निम्ति भेनेजुयला फलामको चिउरा बनेको छ । त्यसैले त संरा अमेरिका बरबराइरहन्छ, होस हराएको बिरामीजस्तै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *