भर्खरै :

प्रमको अभिव्यक्तिप्रति परराष्ट्रले माग्यो माफी

काठमाडौँ, ३० असार । सोमबार आदिवासी भानुभक्त आचार्यको जन्म दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको भनाइको चौतर्फी तीखो आलोचना भएपछि मङ्गलबार परराष्ट्र मन्त्रालयले वक्तव्य जारी सो विषयमा स्पष्टीकरण दिएको छ । प्रधानमन्त्रीले रामायणमा वर्णित अयोध्या भारतको नभई नेपालको वीरगञ्ज पश्चिमको एउटा गाउँ भएको भनी दिएको अभिव्यक्तिको विषयमा नेपाल र भारतमा समेत आलोचना भएपछि परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गरेर स्पष्टीकरण दिन बाध्य भएको हो ।
वक्तव्यमा प्रधानमन्त्रीको भनाइ कुनै राजनीतिक विषय नभएको र कसैको भावना र संवेदनालाई चोट पु¥याउने मनसायले नबोलिएको उल्लेख छ ।
वक्तव्यले घुमाउरो तरिकाले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति प्रमाणिक नभएको स्वीकारिएको छ ।
“श्रीराम र उनीसँग जोडिएका विभिन्न स्थानबारे अनेकथरी मिथक र भनाइ रहेको सन्दर्भमा प्रधानमन्त्रीले सामान्यरूपमा श्रीराम, रामायण र त्यो समृद्ध सभ्यतासँग जोडिएका विभिन्न स्थानबारे तथ्य हासिल गर्न रामायणको विशाल सांस्कृतिक भूगोलबारे थप अध्ययन र अनुसन्धानमा जोड दिनुभएको थियो”, वक्तव्यमा लेखिएको छ । तर, प्रधानमन्त्रीले सोमबार भानु जयन्तीमा ‘नेपालले सीता भारतको रामलाई नदिएको’, ‘रामायणमा उल्लेखित अयोध्या नेपालकै वीरगञ्जको पश्चिमको गाउँ भएको’, ‘राम पनि नेपालकै भएको’ आदि बोलेको कार्यक्रमको श्रव्यदृश्य अभिलेखमा प्रस्ट देखिन्छ ।
परराष्ट्र मन्त्रालयको वक्तव्यमा अयोध्या र त्यसको सांस्कृतिक महत्वलाई न्यूनाङ्कन गर्ने प्रधानमन्त्रीको कुनै मनसाय नभएको उल्लेख छ ।
प्रधानमन्त्रीको भनाइप्रति विशेषतः भारतीय पक्षसँग क्षमा मागेको शैलीमा वक्तव्यमा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म हरेक वर्ष विवाह पञ्चमीको दिन ल्याइने विवाह जन्तीको कुरा पनि उल्लेख छ । प्रधानमन्त्रीको सोमबार अभिव्यक्तिबाट भारत नरिसाओस् अथवा रिसाएको भए रिस शान्त पार्ने ध्येयले नै परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गरेको त्यसको भाषाशैलीबाट स्पष्ट हुन्छ । त्यसमा भनिएको छ, “नेपाल र भारतका प्रधानमन्त्रीले सन् २०१८ को मे महिनामा घोषणा गरेको रामायण सर्किटअन्तर्गत जनकपुरदेखि अयोध्यासम्म यात्रुवाहक गाडी सेवा पनि महत्वपूर्ण हिस्सा हो । यी तथ्यले दुई देश र दुई देशका जनताबीचको समयले सिद्ध गरेको सांस्कृतिक निकटता प्रस्ट पार्छ ।”
प्रधानमन्त्रीको भनाइलाई लिएर भारतमा तीखो प्रतिक्रिया देखिन थालेपछि छवि जोगाउन परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गरे पनि प्रम ओलीले दिएको अभिव्यक्तिको पुष्ट्याइँ भने उहाँले दिनुपर्नेछ । प्रधानमन्त्रीजस्तो गरिमामय पदमा बसेका व्यक्तिले मनपरी अप्रमाणिक कुरा गर्दा देशको अन्तर्राष्ट्रिय छवि र प्रमको विश्वसनीयतामै प्रश्न उठ्ने पर्यवेक्षकहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *