भर्खरै :

अपराध घटाउन सांस्कृतिक स्तर उठाउनुपर्ने

काठमाडौँ, ३० असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकको सांस्कृतिक स्तर उँचो बनाई अपराधको सङ्ख्या घटाउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको मङ्गलबारको बैठकमा कारागार सुधार तथा कैदीबन्दीको व्यवस्थापनसम्बन्धी छलफलमा आफ्नो भनाइ राख्दै सांसद सुवालले ७२ जिल्लामा ७४ वटा कारागारको व्यवस्था पञ्चायती निरङ्कुशतालाई सुहाउँथ्यो होला, अहिले प्रजातन्त्र र गणतन्त्र दाबी गरेका सरकारहरूलाई नसुहाउने उल्लेख गर्नुभयो ।
सांसद सुवालले कारागारभित्र विद्यालय र कलेज तहको शिक्षा प्रदान गर्नुपर्ने र व्यवस्थित पुस्तकालय बन्दोबस्त गर्नुपर्ने आवश्यकता औँल्याउँदै बन्दीलाई सीप र तालिम प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
कारागार र अस्पतालको सङ्ख्या बढ्नुले अपराध र बिरामी बढेको देखाउने भएकोले नयाँ पुस्तालाई कलेज र कारखानामा केन्द्रित गर्नु आवश्यक छ, उहाँले भन्नुभयो ।
सांसद सुवालले कोभिड–१९ सङ्क्रमणसँगै धेरै मानसिक तनाव बढेको बेरोजगार र आर्थिक समस्या बढेको, अपराधको सङ्ख्या पनि बढेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
गैरकानुनीरूपमा कुम्ल्याउनेहरूले कारागारभित्रबाटै सरकारमा प्रभाव पार्ने र ठुला उद्योगी–व्यापारीको सम्पत्ति सार्वजनिक भएअनुसार तिरेको कर सार्वजनिकीकरण नभएकोमा सांसद सुवालले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुवालले लागूपदार्थ दुव्र्यसनी दैनिक ६ जना थपिने र कुल १ लाख ३० हजार दुव्र्यसनी पुगेको समाचारतर्फ सरकारको ध्यानाकर्षण गराउँदै त्यसबारे पनि समितिमा छलफल हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
डिल्लीबजार कारागार एक सय वर्षभन्दा पुरानो भएकोले सम्पदाको रूपमा संरक्षण गर्नुपर्ने उल्लेख गर्दै सांसद सुवालले पञ्चायतविरुद्ध सङ्घर्ष गरेकाहरूको ३० वर्षको शासनमा कारागार सुधार गृह हुन नसकेको खेदको विषय भएको बताउनुभयो ।
गृहमन्त्री रामबहादुर थापाले कारागारभित्र चौकीदार नाइकेको बन्दोबस्तले अन्य बन्दीमाथि शोषण भएको बताउनुभयो ।
महान्यायाधिवक्ता अग्नी खरेलले जन्मकैदका बन्दी आजीवन कारागारमा बस्नुपर्ने कानुनलाई संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बैठकमा सहभागी सांसदहरूले चौकीदारको सट्टा तीन–तीन महिनामा परिवर्तन हुने कैदी नेताको व्यवस्था गर्नुपर्ने, कैद मिनाहाको मापदण्ड बनाउनुपर्ने र बन्दीलाई मानवीय व्यवहार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कारागार व्यवस्थापन विभागका महानिर्देशकले नयाँ आार्थिक वर्षसँगै कारागारका नाइके परिवर्तन हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *