भर्खरै :

हाइड्रोपोनिक्स ः एक वैकल्पिक खेती

कृषि क्षेत्रमा भएका नौला परिवर्तनहरूमध्ये हाइड्रोपोनिक्स एक महत्वपूर्ण प्रविधि हो । सन् १९३७ मा अमेरिका क्यालिफोर्नियाका प्राध्यापक विलियम एफ् गेरिक्केले पहिलो पटक यो शब्द प्रयोग गरेका थिए । हाइड्रोपोनिक्स शब्द ग्रीक शब्दबाट लिइएको हो जसको अर्थ पानीमा बिरुवालाई विनामाटो, मात्र बिरुवालाई आवश्यक खनिज र पौष्टिक तत्वमा हुर्काउने प्रविधि हो । स्रोतसाधनको अधिकत्तम उपयोग र गुणस्तरीय खाद्य उत्पादनका कारण संसारभर हाइड्रोपोनिक्स प्रविधि निकै चर्चित छ । हाइड्रोपोनिक्सलाई भविष्यको खेतीको रूपमा पनि चिनिन थालेको छ ।
विश्व आर्थिक मञ्चका अनुसार सन् २०५० सम्ममा संसारको ८० प्रतिशत खाद्यान्न सहरमा मात्र खपत हुनेछ । खाद्यान्नका धेरै भाग खेर गइरहेको हुन्छ । चाहे त्यो ढुवानीको क्रममा होस् वा छनौट बढी भएर होस् । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफ.ए.ओ.) को प्रतिवेदनअनुसार उत्पादन भएको सम्पूर्ण खाद्यवस्तुको एकतिहाइ भाग नोक्सान भएको पाइन्छ । यो भनेको १.३ अर्ब टन तौल बराबरको खाद्यवस्तु हुन जान्छ । संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक मामिला विभागका अनुसार सन् २०५० सम्ममा विश्वको जनसङ्ख्या ९.७ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ । यति जनसङ्ख्यालाई खाद्यान्न आपूर्तिको निम्ति कृषि उत्पादनलाई धेरै बढाउनुपर्ने बाध्यता संसारलाई छ । यसकारण पनि वैकल्पिक खेतीका उपायहरूको निरन्तर खोजी भइरहेका छन् । यस प्रविधिको खेतीमा पानीको पुनःप्रयोग गर्न सकिनुका साथै यसमा कम पौष्टिक तत्व भए पुग्छ र यसमा रोगकीरा लाग्ने कम सम्भावना रहन्छ । हाइड्रोपोनिक्स खेतीमा नेडरल्यान्ड, अस्ट्रेलिया, फ्रान्स, बेलायत, इजरायल, क्यानडा र संरा अमेरिकाजस्ता विकसित देशहरू अग्रपङ्क्तिमा छन् ।
बढ्दो सहरीकरण, प्राकृतिक प्रकोप, जलवायु परिवर्तन, विषादीको अनियन्त्रित प्रयोगका कारण ¥हास भइरहको माटो आदि माटोनिर्भर खेतीका लागि चुनौती बनिरहेका छन् । माटोको गुणस्तर, उर्वरता, सिँचाइ र रोग–कीराले अनेक उल्झन निम्त्याउने गर्दछ । यी सबै पक्षको राम्रो संयोजनमा मात्र राम्रो फसलका आशा गर्न सकिन्छ । हाइड्रोपोनिक्समा विभिन्न प्रकारको खेतीबाट घाँस उत्पादन गर्न सकिन्छ । जस्तै ः जौ, फापर, गहुँ, मकै आदि । यसको लागि भौगोलिक स्थिति, वातावरण एवम् बीउको उपलब्धमा निर्भर रहन्छ । यी समस्याहरू हल गर्नको निम्ति हाइड्रोपोनिक्सको अवधारणा अगाडि बढेको हुनुपर्दछ ।
आजकाल, बेमौसमी खेतीको बारेमा धेरै चर्चा हुने गरेको पाइन्छ । बढ्दो जनसङ्ख्यालाई आवश्यक मात्रामा कृषि उत्पादन बढाउन संसारका सबै देशहरूले खेतीका वैकल्पिक विधिहरूको उपयोगमा जोड दिइरहेका छन् । तर, जमिन सीमित छ । कृषि वैज्ञानिकहरूको ध्याउन भने जुन उपाय अवलम्बन गरे पनि खाद्यान्न उत्पादन वृद्धि गर्नतर्फ नै केन्द्रित देखिन्छ । यसै सिलसिलामा निस्केको प्रविधिको रूपमा हाइड्रोपोनिक्सलाई लिन सकिन्छ ।
छोटो अवधिमा बाली लिन सकिने, वर्षभरि बाली गर्न सकिने र रोग–कीरा–झारको न्यून समस्या हुनाले हाल यो प्रविधि फस्टाएको छ । यो खेती वातावरणमैत्री मात्र नभई कम लागतमा गर्न सम्भव मानिएको आधुनिक प्रविधिको रूपमा स्वीकार्न सकिन्छ । हाइड्रोपोनिक्समा गोलभेँडा, स्ट्रबेरी, भेडे खुर्सानी, हरियो साग, आलु, बन्दाकोबी, काँक्रो, लसुन, प्याज आदिको खेतीले पनि राम्रो नतिजा दिएको पाइएको छ ।
हाइड्रोपोनिक्सका लागि आवश्यक सामग्रीहरू ः
बिरुवा अड्याउने वस्तु ः
यसले बिरुवालाई पानी वा हावासँगै बग्नबाट बचाउँछ अर्थात् बिरुवालाई समाइराख्ने काम गर्दछ । कोकोपिट वा काठको धुलो, प्लाष्टिकको ग्लासजस्ता सामग्रीहरूले बिरुवालाई मजबुट बनाउन मद्दत गर्दछ ।
पानी ः
बिरुवाको लागि आवश्यक पौष्टिक तत्वहरू घोल्न र बिरुवाको लागि आवश्यक पानीको मात्रा पूर्ति गर्न यसको महत्व हुन्छ । सर्वप्रथम पानी भएकोमा पी.एच. को जाँच गरिन्छ । बिरुवाअनुसार पी.एच.को आवश्यकता फरक–फरक हुन्छ । सामान्यतया पी.एच. ५.८ देखि ६.४ अर्थात हल्का अम्लीयपनाको आवश्यक हुन्छ । पानीको तापक्रम ६८ देखि ७८ डिग्री फरेनहाइट सिफारिस गरिएको पाइन्छ ।
हावा ः
बिरुवाले नियमित शारीरिक प्रक्रिया चलाउन हावाको धेरै नै भूमिका रहन्छ । बिरुवाले पानीमा घोलिएको हावा जराको सहायताले सोस्ने गर्दछ । तर, अधिकतम बिरुवाहरू हावाको अभावमा पानीमा डुबिरहँदा मर्न सक्छन् । तसर्थ, हावा र पानीको मात्रामा सन्तुलन कायम गर्न ध्यान दिनुपर्दछ ।
खाद्य तत्वहरू ः
बिरुवालाई आवश्यक खाद्य तत्वहरू सामान्य रसायनको रूपमा प्राप्त गर्दछ । यिनीहरूको बन्दोबस्त बिरुवाको आवश्यकताको आधारमा गरिन्छ । बिरुवाको लागि आवश्यक खाद्य तत्वहरू सन्तुलित मात्रामा मिलाउनु आवश्यक छ । कहिलेकाहीँ फरक–फरक बिरुवालाई एकैथरीको व्यवस्था गर्दा एउटा बाली सप्रने र अर्काे बाली नसप्रने हुनसक्छ । खाद्य तत्वहरूको सन्तुलन मिलाउन समस्या भएमा बजारबाट खाद्य तत्वहरूको समिश्रण भएको मल प्रयोग गर्न सकिन्छ । यसर्थ, माथिका सबै सामग्रीहरू रोगबाट मुक्त हुनु अति नै जरुरी हुन्छ ।
बिरुवा ः आफूलाई चाहिएको बीउ हुर्काएर तयार भएको बिरुवालाई हाइड्रोपोनिक्स सेटमा सार्ने काम गरिन्छ । जसको फलस्वरूप बिरुवाको जराको आकार र क्षमतामा सकारात्मक परिवर्तन आएको देख्न सकिन्छ ।
हाइड्रोपोनिक्सका फाइदाहरू ः
खाद्य तत्व, पी.एच., र वातावरणमा अधिकत्तम नियन्त्रण गर्न सकिन्छ । यसमा वर्षभरि नै बाली लिन सकिन्छ । माटोमा भन्दा पानीमा पी.एच. लाई सन्तुलनमा राख्न सजिलो हुन्छ ।
पानी र खाद्य तत्वहरूको उचित प्रयोगले खर्च कम हुन्छ । जमिनमा गरिएको खेतीमा हुने पानीको १० प्रतिशतमात्र हाइड्रोपोनिक्समा खपत हुन्छ । खाद्य तत्व पनि ट्याङ्कमै रहने हुनाले माटोमा जस्तै चुहावटको समस्याबाट टाढा रहन्छ । खाद्य तत्व र पानीको पुनःप्रयोग हुनु यस विधिको सबल पक्ष हो ।
िमाटोमा हुने कीरा, ढुसी र ब्याक्टेरियाबाट बच्न मद्दत पु¥याउँछ । माटोमा भन्दा हाइड्रोपोनिक्समा उत्पादन छिट्टो हुन्छ ।
जमिनमा गर्ने खेतीमा भन्दा यस विधिमा थोरै क्षेत्रफल भए पुग्छ । साथै, अन्य उत्पादनभन्दा कृषि उपजको गुणस्तर पनि निकै राम्रो पाइएको छ ।
खाद्य तत्व प्रदान गर्दा बिजुलीको आवश्यकता रहँदैन ।
यसमा झारको समस्याबाट टाढा हुन्छ । माटोमा झैँ खनजोतको आवश्यकता रहन्न । यसरी मानवीय श्रमशक्ति न्यूनमात्र खर्च हुन जान्छ ।
यस विधिमा बालीचक्र अपनाउन वा बाँझो राख्न आवश्यक हुन्न ।
बाली एक ठाउँबाट अर्काे ठाउँमा सार्दा हुने झट्का (Transplanting Shock) कम हुन्छ ।
सामान्य अध्ययन र अनुभवको आधारमा पनि खेती गर्न सजिलो छ ।
माटोमा खेती असम्भव स्थानहरू जस्तै सुख्खा मरुभूमी वा चिसो मौसम भएका ठाउँहरूमा प्रयोग गर्न सकिन्छ । यस प्रविधिका कारण नयाँ–नयाँ कृषि क्षेत्रको विस्तार गर्न सम्भव भएको छ । यसरी विश्वभर यस प्रविधिको प्रयोग घरायसी र व्यवसायिक दुवै तहमा हुन थालेको छ ।
सूर्यको किरणको सहयोगमा कार्वनडाईअक्साइड र पानीको रासायनिक प्रक्रियाबाट ग्लुकोज र अक्सिजन उत्सर्जन हुन्छ । यस कार्यमा माटोको उपस्थितिको बारेमा कहीँ उल्लेख छैन । अर्थात् माटोविना खेती पनि सम्भव छ भन्ने यसले पुष्टि गरेको छ ।
हाइड्रोपोनिक्स र माटोमा गरिने खेतीमा बिरुवाको आन्तरिक प्रक्रिया (Physiology) मा भिन्नता हुन्न । माटोमा रसायनिक र प्राङ्गारिक दुवै तरिकाले प्रयोग हुने मलहरूको रसायनमा परिवर्तन हुन्छन् । बिरुवाले सोस्न सक्ने अवस्थामा पुगेका रसायनहरू जराले सोस्ने गर्दछ । हाइड्रोपोनिक्समा पानीमा रासायनिक मल प्रयोग गरिएको हुन्छ । यी दुवै तरिकामा बिरुवाले खाद्य तत्व सोस्ने तरिका एउटै हुन्छ । बिरुवाको लागि आवश्यक तापक्रम, प्रकाश र पानीको अवस्था हाइड्रोपोनिक्स र माटोमा एउटै हुन्छ । वायुमण्डलबाट लिने हावा पनि एउटै र फरक पनि हुनसक्छ । हाइड्रोपोनिक्सको व्यवसायिकीकरण हुन थालेसँगै संसारमा यस खेतीको निम्ति आवश्यक सामग्रीहरूको उत्पादन गर्ने कारखाना र व्यवसाय पनि ह्वात्तै बढेको छ ।
हाइड्रोपोनिक्स मानिसहरूले आफ्नो घर वा खुला स्थानहरूमा गर्नसक्छन् । सहरी क्षेत्रका केही मानिसहरूले यसको सुरुवात गरिसकेका छन् । यो खेती पूर्णरूपमा प्राविधिक भएकोले झ्वात्तै सुरु गर्न कठिन छ । व्यवसायिकरूपमा गर्न भने निकै सोचविचार गर्नुपर्दछ । कारण, माटोमा गरिने खेतीलाई कम आक्न मिल्दैन । दुवैको आर्थिक विश्लेषण गरिनु उचित हुनेछ ।
यसका चुनौतीहरू ः
हाइड्रोपोनिक्स स्थापना वा सञ्चालनको लागि पर्ने लागत सुरुमा बढी लाग्ने भएकोले धेरैले रुचि देखाउँदैनन् ।
सञ्चालनको सीप र ज्ञानको आवश्यक हुने भएकोले अनुभव नहुनेको निम्ति यो खेतीप्रति आकर्षण नहुन सक्दछ ।
किेही रोगहरू (जस्तै ःFusarium/Verticillium) लागेमा पुरै बिरुवामा चाँडै फैलिने समस्याहरू छन् । यस विधिमा पानी निरन्तर चलिरहेको हुन्छ ।
यस कार्यमा नियमित हेरचाह आवश्यक हुन्छ । तसर्थ, फुर्सद नहुनेका लागि अरूचीकर हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *