भर्खरै :

सार्वजनिक यातायातको सञ्चालन पछि

सरकारले देशैभरि क्रमशः सार्वजनिक यातायात सुचारु गर्ने तयारी थालेको छ । लकडाउनको कारण लामो समय बन्द रहेको सार्वजनिक यातायात सुचारु गर्ने तयारी सर्वसाधारण र यातायात व्यवसायी तथा मजदुरको निम्ति खुसीको कुरा हो । सार्वजनिक यातायात सुचारु भएपछि आर्थिक, सामाजिक तथा राजनीतिक गतिविधिले पनि गति पाउनेछ । तर, मनग्य सावधानी नअपनाउँदा सार्वजनिक यातायातको सञ्चालनले कोभिड–१९ को महामारीले अझ भयावह रूप लिनसक्छ ।
सार्वजनिक यातायात क्षेत्र कति भद्रगोल र अव्यवस्थित छ भन्नेमा सबै जानकार छन् । कोभिड–१९ अघि सार्वजनिक यातायातजस्तो तरिकाबाट सञ्चालन हुन्थ्यो, त्यसरी नै अबका दिनमा पनि सञ्चालन हुने हो भने महामारीलाई अझ बढी भयावह बनाउने आधारक्षेत्र सार्वजनिक यातायातका साधन बन्नेछ । साना र साँघुरा यातायातका साधनमा समेत गुन्द्रुक कोचेजसरी यात्रुलाई कोचेर सञ्चालन गरिने सार्वजनिक यातायात सिङ्गो देशको लागि प्रत्युत्पादक हुनेछ । सामाजिक दुरी कायम गर्ने अवस्था नहुने यातायातका साधनलाई तत्काल सञ्चालनमा ल्याइनु हुन्न । यात्रु आपसी सामाजिक दुरी कायम गरेर यात्रा गर्नसक्ने ठुला यातायातका साधनमात्र सञ्चालनमा ल्याइनुपर्छ ।
यातायातका साधनमा कोभिड–१९ को सङ्क्रमण रोकथामको लागि अपनाइएका नियमहरूको कडा पालना आवश्यक छ । यात्रुलाई मास्क लगाउन, हातमा स्यानिटाइजर प्रयोग गर्ने, कम यात्रु राखेर सामाजिक दुरी कायम गर्ने, यातायातका साधनको निसङ्क्रमण गर्ने आदि आधारभूत नियमको सबैलाई अनिवार्य पालना गराइनुपर्छ । यातायात मजदुरलाई यस्ता आधारभूत विषयमा केही घण्टाको तालिमको व्यवस्था गर्नुपर्छ । यातायात व्यवसायी र मजदुरहरूले नाफा र घाटाको हिसाबभन्दा सामाजिक जिम्मेवारीको भावनाले यातायातका साधनको व्यवस्थित सञ्चालन गर्नुपर्छ । यात्रु पाएपछि जति पनि र जसरी पनि कोच्ने प्रवृत्ति अब त्याग्नुपर्छ ।
कोभिड–१९ अब मानव समाजको नयाँ वास्तविकता हो । यसलाई संसारले अझै पराजित गर्न सकेको छैन । विज्ञानले चाँडै यसको औषधि बनाओस् भनी सबैले कामना गरिरहेका छन् । तर, औषधि नबन्दा र बनिसकेपछि पनि कोभिड–१९ वा अरू कुनै पनि महामारीको सङ्क्रमणलाई ध्यानमा राखी मानिसको दैनिकी र बानी व्यवहार परिवर्तन गर्दै जानु बुद्धिमानी हुनेछ । यो परिवर्तनलाई आज ‘नयाँ सामान्य जीवन’ अर्थात ‘न्यु नर्मल’ भनिएको छ । अब यातायातका साधनमा पनि हिजोजस्तै मानिसलाई कोच्ने प्रवृत्तिमा परिवर्तन गर्नुपर्छ । क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको सम्भावना त पहिले पनि हुन्थ्यो । अब दुर्घटनासँगै रोगसमेत सङ्क्रमण हुनसक्ने सत्य सबैले मनन गर्नुपर्छ ।
सार्वजनिक यातायातका साधनको सञ्चालनसँगै मानिसको आवतजावतको क्रम अझ बढ्नेछ । कोभिड–१९ मानिसबाट मानिसमा सर्ने रोग भएकोले मानिसको भीडभाडमा नजानु, मानिसको सम्पर्कमा गए पनि आपसी दुरी कायम गर्नु, मुखमा मास्क लगाउनु, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता अनुशासनको पालना हुनुपर्छ । कोभिड–१९ विरुद्धको अभियान केही व्यक्तिले मात्र सम्भव हुने अभियान होइन । सबै मानिसको संयुक्त प्रयास र समझदारीले मात्र कोभिड–१९ लाई पराजित गर्न हामी सफल हुनसक्छौँ । सार्वजनिक यातायातको सञ्चालनसँगै यातायात मजदुरहरू पनि जोखिममा परेका छन् । तथापि यसबाट डराएर होइन, सावधानीका साथ प्रतिरोध गर्नुको विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *