भर्खरै :

साउने सङ्क्रान्तिको महिमा

चाड–पर्व, परम्परा, रीतिरिवाज, संस्कृतिको जगेर्ना गर्न नेपालीहरू खप्पिस छन् । ऋण नै काढेर, ज्याला–पर्म गरेर पनि आफ्नो गच्छे र औकातअनुसार मनाउन नेपाली जाति विश्व मानचित्रमै अग्रपङ्क्तिमा होला । साउने वा श्रावण सङ्क्रान्तिको विशेषता पृथक छ । हिलोमा पसेर–रोपाइँ नसकिएसम्म कृषकहरूको दिनचर्या अस्तव्यस्त हुन्छ । बिहान–बेलुका पाल्तु जनावरहरूको रेखदेख र दिउँसो असारे तातो भुङ्ग्रोमा अनवरत र अविच्छिन्न श्वासै नफेरी कामबाट फुर्सद लिन नपाए पनि गलेको शरीरलाई मीठो –चोखो खानपिनले केही हदसम्म आल्हादित बनाउँदै वाक्कदिक्क जीवन चर्यालाई आशातीत, जाँगर र उत्साह–उमङ्गको सिर्जना जगाउँछ । साउन १ गते साउने सङ्क्रान्ति पर्व मानिन्छ । मुठी रोपेर मुरी फलाउन तल्लीन कृषक दाजुभाइहरू साउने सङ्क्रान्तिको बिहान मांशाहारीले मासु–माछा तथा शाकाहारीले दूध–दही, पनीर आदिको व्यवस्था गरी पुराना घर–गाउँमा मजेरीमाथि रावियोको शिखामा झुन्ड्याएर सुरक्षितसाथ बेलुका मेलाबाट आएर खानपिनको सुव्यवस्था अँगेनामा गर्ने चलन थियो । साउने सङ्क्रान्तिपछि विभिन्न चाडबाडको ओइरो लाग्ने हुनाले यो पर्वलाई विशेष महत्वका साथ हेरिन्छ ।
यो पर्व सहर बजारतिर भन्दा पहाड–पर्वत इलाकामा विशेषरूपमा मनाइन्छ । त्यतिबेला स्कूले अवस्थामा सङ्गीसाथीहरू मिलेर बेलुका (राति) ‘लुतो फाल्ने’ पूजाको सरदाम जुटाउन अर्कै उल्लास थपिन्थ्यो । वर्षा ऋतुमा फुल्ने सुन्तला, बेलाउती, ज्यामिर, विमिरो आदि फलफूलको जोल्टे (दुई वटा) भएको मकैको जोल्टे, बाल्नलाई मुढो सल्काउन चाहिने सुकेको पातिको सिठा, वनजङ्गलमा पाइने कुकुरडाइनो, रातो मकरकाँची, कुरिलो, लुतेझार आदि जुटाउन अलि कठिन पथ्र्याे । यी सामग्री जुटाउन हम्मे–हम्मे पथ्र्याे र बेलुका अबेरसम्म जुटाउन असमर्थ हुँदा बेचैन महसुस हुन्थ्यो । यी जोल्टे फलफूल र अन्य चिजबिज खोजेर जुटाउन डाँडा–पाखा, पारि वन अविश्रान्त चहार्ने गरिन्थ्यो । सबै पूजाका सामग्री जुटेपछि खुसीले गद्गद् हुन्थ्यौँ । अधिकांश त्यो दिन भेलामै हुन्थे र अभिभावकहरू घरमा फर्केपछि घरपरिवारमा खुसीको रौनक छाउँथ्यो । भित्र अँगेनाबाट बलेको आगो बाहिर आँगनमा ल्याएर पातिको सिठा हालेर बालिन्थ्यो र बेस्सरी आगो बलेर हुर्किएपछि पहिला घरको मूल र क्रमैअनुसार ‘लुतो पुतो, खटिरा–पटिरा, रोग–व्याधी’ तल्लो गाउँले लैजा भनेर अगुल्टो बल्दै गरेको फालिन्थ्यो । लुतो फाल्ने अन्तर्यको आजकल अन्वेषण गर्ने हो भने झाडापखाला लाग्ने बिरामीलाई पानी खान निषेध गर्ने, विभिन्न सरुवा रोगबाट ग्रसित, अन्धविश्वासमा जकडिएका जनसमुदायहरू भूत–प्रेत, पिशाच, लाग–भाग, देव–देवता, पितृहरूमा विश्वास गर्थे । आजित भएर ती विकल्पको अनुसरण गरेको पनि हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *