भर्खरै :

भ्रष्टाचारविरोधी दिवसमा प्रशिक्षण

भक्तपुर, १ साउन । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा ऐतिहासिक भ्रष्टाचारविरोधी दिवस (साउन २) को सन्दर्भमा बिहीबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले पुँजीवादी राज्य व्यवस्थाले अनेक हठकण्डा प्रयोग गरी जनतामा फुट ल्याउने काम गरिरहने र भ्रष्टाचार पुँजीवादी व्यवस्थाको छायाँजस्तै हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेकपाको सरकार नेपालमा उत्पादित बिजुली प्रसारण लाइनको माध्यमबाट भारतलाई सस्तोमा दिने र काठमाडौँ उपत्यकामा करोडौँ जनसङ्ख्या थुपारेर पाइपलाइनको माध्यमबाट खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थ ल्याई कमिसन खाने दाउमा रहको छ ।”
स्वदेश तथा विदेशमा भइरहेका हरेक किसिमका देशभक्तिपूर्ण र न्यायपूर्ण आन्दोलनमा नेमकिपाको सधैँ साथ रहने बताउँदै उहाँले खोकना र बोङ्गाका किसानहरूको समस्याबारे नेमकिपाले संसद्मा आवाज उठाउँदै आइरहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भ्रष्टाचार देशको मूल समस्याको रूपमा रहेकोले भ्रष्टाचार, कमिसनतन्त्रको विरूद्धमा नेमकिपा सङ्घर्षरत छ भन्नुभयो ।
उहाँले नेपाल कृषिप्रधान देश भए तापनि कृषिमा आधारित उद्योग व्यवसायहरू सञ्चालन नगरेकै कारण देश पछि परेको धारणा राख्नुभयो ।
कार्यक्रमका सभापति एवम् आयोजक समितिका अध्यक्ष नारायणबहादुर दुवालले देशलाई भ्रष्टाचारमुक्त बनाउन नेमकिपाका नेता कार्यकर्ताहरू सधैँ अग्रसर हुनेछन् भन्नुभयो । कार्यक्रममा उपेन्द्र सुवाल, गंगाराम ज्याख्वलगायतले बोल्नुभएको थियो ।

One response to “भ्रष्टाचारविरोधी दिवसमा प्रशिक्षण”

  1. Laxmi bk says:

    अझै संघर्ष आवश्यक छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *