भर्खरै :

भारतको चीन युद्ध, गोवामा गरम नीति

भारतको विश्वास
भारत सरकारले गरम नीतिको नयाँ निर्देशिका लेखेको दिन चीनबाट एउटा विरोध सुनियो । भारतले देम्चोकबाट सुरु गरेका अघि बढ्ने गतिविधिको चीनले निन्दा गरेको थियो । चीन सरकार बल प्रयोग गरेर आफ्नो भूभाग विस्तार गर्ने भारतको रवैयाले हैरान भएको थियो । चीनले भारत सरकारलाई पठाएको पत्रको भाषा यस्तो थियो, “चिनियाँ सीमा सुरक्षाकर्मीहरूलाई मुठभेडमा नफस्ने आदेश नदिएको भए चीनको भूभाग र सार्वभौमसत्तामा आँच पु¥याउने भारतीय कदमले अत्यन्तै गम्भीर परिणाम ल्याउने थियो । भारत सरकारले चीनको संयम र सहनशीलतालाई कमजोरी ठान्छ भने त्यो गल्ती भयानक हुनेछ ।” जवाफमा भारतले उही पुरानो दाबी अर्थात् “आफ्नो भूमिमा सेना पठाउनु भारतको आन्तरिक मामिला भएको” रटान दोहो¥यायो ।

    जवाहरलाल नेहरु

पेचिङले अर्को एक पत्र लेख्यो । त्यसमा भारतले दाबी गरेको सम्पूर्ण भूभाग भारतकै हो र त्यहाँ भारतले जे गर्छ त्यसबारे चीनलाई गुनासो गर्ने कुनै अधिकार छैन भन्ने तर्क स्वीकार्न नसकिने र सबैभन्दा खतरनाक भएको पेचिङले औँल्याएको थियो । यही तर्क पूर्वमा लागू गर्ने हो भने “चीन सरकारले पनि कथित म्याकमाहोन रेखाभित्र सैनिक टुकडी पठाउन सक्छ र हिमालय र दक्षिणी पहाडका फेदसम्म पुग्नसक्छ ।” चीनले यस्तो किन लेखेको थियो भने उसले म्याकमाहोन रेखालाई अवैध मान्दै आएको थियो र औपचारिकरूपमा दक्षिणी पहाडका फेदलाई सिमाना मान्थ्यो । वस्तुगतरूपमा हेर्ने हो भने यो तर्क सो¥है आना सही थियो । भारतले चीनको यथास्थितिको प्रस्ताव बारम्बार स्वीकार गरेको थिएन । ऊ एकतर्फीरूपमा चीनको अधीनमा रहेको भूभागमा पसिरहेको थियो र यही नीति चीनले पनि भारतको अधीनमा रहेको भूभागमा लिएको खण्डमा भारतले गुनासो गर्नु जायज हुँदैनथ्यो ।
तर, भारतले सीमाको मामिलामा तर्क र वस्तुगत यथार्थलाई लत्याएको धेरै भइसकेको थियो । चीनको पत्रलाई भारतमा अर्को हमला ठानियो । नेहरूले कुनै सीमा विवाद नभएको दोहो¥याइरहे र आफ्नो दाबी अकाट्य रहेको बताए । उनले भने, “जहाँसम्म हाम्रो कुरा छ, यो सामान्य विवाद होइन तर हाम्रो भूभागमाथिको दाबी हो । त्यो भूभाग हाम्रो हो र यसमा हामी ढुक्क छौँ ।” यसरी भारतले चिनियाँ चेतावनीलाई आक्रमणकारीको धम्कीको रूपमा लियो । भारतले चीनको चेतावनीलाई फर्जी मान्ने खेलाँची गरिरह्यो । १९५० को आरम्भदेखि नै भारत सरकार सम्झौता नगर्ने मूल विचारबाट टसकोमस भएको थिएन । यही विचारले उसलाई द्वन्द्वतिर धकेलिरहेको थियो । गरम नीति लागू गर्दै जाँदा द्वन्द्व अझ चर्किँदै थियो । तर, यस खेलमा चीन पछि हट्नेछ भन्नेमा भारत अझै विश्वस्त देखिन्थ्यो ।
गोवाको समस्या
सन् १९६१ को अन्त्यमा आएको गरम नीतिको निर्देशिका खालि सीमा क्षेत्रमा एकतर्फी रूपमा बलप्रयोग गर्ने मनसायले ल्याइएको थिएन । यसमा गोवाको घटना पनि जोडिएको थियो ।
बेलायतीहरूले १९४७ मा भारत छोडे । फ्रान्सेलीहरूले १९५४ मा पोन्डिचेरीको उपनिवेश फिर्ता दिए । तर, पोर्चुगल गोवामा बसिरह्यो । पोर्चुगालीहरू समुद्री किनारका बस्तीहरूमा १६ औँ शताब्दीदेखि बस्दै आएका थिए । भारत सरकारको कूटनीतिक दबाबले पोर्चुगालीहरूलाई हटाउन सकेन । पोर्चुगालीहरू गोवा छोड्न चाहँदैनथे । सन् १९५५ मा भारतले अङ्ग्रेजविरुद्धको आफ्नो रणनीति गोवामा प्रयोग ग¥यौ । उनीहरूले सत्याग्रह, अहिंसात्मक जुलुस प्रदर्शन र गोवाको सिमानामा पैदल यात्रा आदि गरे । प्रदर्शनकारीहरूको भीड नियन्त्रण गर्न नसकिने देखेपछि गोवा प्रहरीले गोली चलायो । यसमा केही प्रदर्शनकारी मरे र केही घाइते भए । सरकारले पोर्चुगालसँग कूटनीतिक सम्बन्ध तोड्यो । भारतीय जनता आक्रोशमा आए र छिट्टै सेलाए पनि । १९६१ सम्म गोवामा पोर्चुगलको उपस्थिति रिसको विषय थियो । तर, यसमा सरकारलाई कुनै दबाब थिएन । भारत सरकार त्यहाँ बल प्रयोग गर्न चाहँदैनथ्यो ।

कृष्ण मेनन र  वीएम कौल


१९६१ को चुनाव नजिकिँदै थियो । सरकारमाथि चीनसामु कमजोर देखिएको आरोप लागिरहेको थियो । सरकारले आफ्नो सैन्य शक्ति प्रदर्शन गर्ने मन बनायो । चीनको सिमानामा गरम नीतिको कारण भारतले सोचेजस्तो कुनै उल्लेखनीय परिणाम देखाउने सम्भावना थिएन । अनेक कारणले गर्दा गोवा कारबाहीका लागि गतिलो स्थान हुने देखियो । अक्टोबरमा दिल्लीमा एफ्रो एसियाली देशहरूको सम्मेलन भएको थियो । त्यसमा पोर्चुगालीहरूलाई गोवाको उपनिवेश कायम गर्न दिनु स्वतन्त्र भारतलाई नसुहाउने सुझाव आयो । यसले भारतको उपनिवेशवादविरोधी छविमा धक्का पुगेको सम्मेलनका प्रतिनिधिहरूको विचार थियो । भारतीयहरूले अहिंसा नै आफ्नो बाटो भएको र पोर्चुगालीहरूले अङ्ग्रेजहरूले जस्तै अहिंसाको जवाफ हिंसाले दिएको कुरा राखे । सम्मेलन सकिएपछि नेहरू ‘केही त गर्नैपर्छ’ भन्ने निधोमा पुगेका थिए । बम्बईको एक जनसभामा बोल्दै उनले भने, “गोवालाई पोर्चुगाली शासनबाट मुक्त गर्न कुन तरिका अपनाउने भनी नयाँ ढङ्गले सोच्ने बेला आएको छ ।”
नेहरूको हिच्किचाहट
त्यसपछि भारतमा परिचित दृश्य देखिन थाल्यो । नेहरूले धैर्यको बाँध फुटेको बताए । सरकारले सञ्चारमाध्यमको प्रयोग गरेर पोर्चुगालीहरूले गोवाका स्वतन्त्रता सेनानीहरूको हत्या गरेको प्रचारबाजी ग¥यो । साथै, गोवामा नाटोले पठाएका हातहतियार रहेको र त्यो भारतको सुरक्षाका लागि खतरा भएको हल्ला मच्चाइयो । पोर्चुगालीहरूले पाकिस्तानसँग मिलेर भारतमा षड्यन्त्र गर्न खोजेको र चीनसँगको सीमा विवादभन्दा गोवाको समस्या ठुलो भएको दलिल दिए । यसरी गोवामा पस्ने परिस्थिति तयार गरियो । डिसेम्बरको सुरुमा भारतीय सैनिक टुकडीहरू गोवाको सीमामा जम्मा पारियो । सेनाको उपयोगका लागि पूर्व र पश्चिमका रेलहरू गोवातिर पठाइएका थिए । गोवामाथि हमला गर्न एक डिभिजन सेना सीमामा तैनाथ गरिएको थियो । गम्भीर सीमा समस्या सुरु भयो । पोर्चुगाली अधिकारीहरूले समस्या टार्न सीमा चौकीहरू पछि सारे ।
नेहरूले गोवा कब्जा गर्ने मन बनाइसकेका थिए । तर, आदेश दिइसकेका थिएनन् । मन हुँदाहुँदै पनि भाँचिएको देखिनु नेहरूको स्वभाव थियो । उनी घटनाक्रमलाई आफैँ विकसित हुन दिन्थे । अनि पछि हट्नै नमिल्ने गरी अरूलाई जानाजान विवाद चर्काउन दिन्थे । यसरी उनी आफ्नो भूमिकालाई टीठलाग्दो देखाउँथे । कब्जा गर्ने राजनीतिक र सैन्य तयारी पूरा भइसक्दा पनि उनी बाहिर भारत सरकार अन्तर्राष्ट्रिय समस्या सुल्झाउनका लागि सम्झौता गर्न तयार रहेको बताइरहेका थिए । उनी “मेरो समस्त आत्मा युद्धको खिलाफमा छ” भनिरहेका थिए । भारत गोवा कब्जा गर्नुपर्ने हुङ्कारले गुञ्जिँदै थियो र प्रचार माध्यममा गोवाको स्थितिबारे हावादारी कुरा उछालिँदै थियो । अल इन्डिया रेडियोले सहरमा कफ्र्यु लागेको, गभर्नर जहाजमा भागेको र भारतीय कमान्डोहरू सडकमा लडिरहेको फुक्दै थियो ।
नेहरू हमलाको मुखमै पनि दोमनमा थिए । डिसेम्बर १७ को रातमा अमेरिकी राजदूत प्रोफेसर गालब्रेथले नेहरूलाई केही गरी कब्जाको योजना रोक्न मनाए । नेहरूले मध्यरातमा सेनालाई गोवा पस्न आदेश दिइसकेका थिए । तैपनि उनले कृष्ण मेननलाई सेनालाई रोक्नुपर्छ भनी बताए । यससँग दुईचोटि हमला स्थगित हुने थियो । तर, मेननले ढिलो भइसकेको र सेना अघि लम्किसकेको बताए । खासमा सेना हिँडिसकेको भने थिएन ।
प्रधानमन्त्रीका निजी सैन्य सल्लाहकार तथा जनरल स्टाफका प्रमुख बीएम कौलले गोवा अपरेसनको योजना बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । नेहरू विदेशीले के भन्लान् भनी आत्तिएर कौललाई डाके । उनले अन्तिम क्षणमा अपरेसन फिर्ता लिए कस्तो असर पर्ला भनी कौललाई सोधे । कौलले त्यसो गरेमा सेना र कर्मचारीतन्त्रको मनोबल घट्ने बताए । उनले विदेशी सल्लाहलाई बेवास्ता गर्न पनि सुझाए । नेहरूले ‘नचाहँदा नचाहँदै पनि सहमति’ जनाए । कौलको निजी बुझाइ सारमा यस्तो थियो – “भारतीय जनता कौलले गोवालाई मुक्त पारोस् भन्ने चाहन्छन् । यस कार्यमा असफल भएमा जनता र सेनाको कौलप्रतिको आस्था हराउनेछ ।” यता कृष्ण मेननको बुझाइ भने अर्कै थियो । उनले भने, “नेहरूको स्वभाव पेचिलो थियो । उनी भड्किलो र क्रूर युद्ध चाहँदैनथे तर उनी परिणाम चाहन्थे ।” त्यस्तै नेहरूबारे अर्को सटिक टिप्पणी यस्तो छ, “बिरामी, बुढा र थकित । आफँैलाई अलिअलि गर्दै पछि फर्किनै नसकिने अप्ठ्यारो स्थितिमा पु¥याउँछन् । उनलाई पाखण्डी भनेको स्वीकार्य छ तर असफलता उनलाई स्वीकार्य छैन ।”
भारतले गोवा कब्जा गरेकोमा विश्वले निन्दा गर्ने कुरै थिएन किनभने सबै शक्ति राष्ट्रको इतिहास यस्तै घटनाले भरिएको थियो । तर, नेहरूको मामिलामा स्थिति जटिल थियो । अन्तर्राष्ट्रिय मामिला मिलाउन बल प्रयोगको नीति उनको व्यक्तित्वभन्दा उल्टो कुरा थियो । भारतीयहरू गोवा कब्जा गर्नु आफ्नो अन्तर्राष्ट्रिय व्यवहारको उल्टो ठान्दैनथे । एकदम थोरै मान्छेले मात्र सरकारी कदमको विरोध गरे । नेहरूले अमेरिकी राष्ट्रपति केनेडीलाई “हाम्रा जनतालाई रोमाञ्चित पार्ने विषयलाई किन कडा भाषामा निन्दा गरिन्छ होला”, भनी सोधेका थिए ।
गोवा घटनाका तरङ्गहरू
गोवा घटनाका राजनीतिक र सैन्य असरहरू देखिए । यस घटनाले नेहरू कसरी पछि नफर्किने गरी कारबाही गर्न उचालिन सक्छन् भन्ने देखायो । आफ्नो विचारभन्दा उल्टो छ भने पनि नेहरू उर्लिरहेको राजनीतिक विचारको भेलमा कसरी बग्न पुग्छन् भन्ने यसले स्पष्ट पा¥यो । साथै यस घटनाले भारत सरकारको मनपरी कार्यशैली छर्लङ्ग पा¥यो किनभने गरम नीतिजस्तै गोवा कब्जा गर्ने निर्णय पनि मन्त्रिमण्डलले गरेको थियो । भारतले दाबी गरेको भूभागमा आफूले बल प्रयोग गरे नैतिक र अरूले गरे अनैतिक ठान्ने भारत सरकारको दुईजिब्रे बानी पनि यस घटनाले उजागर ग¥यो । यस विषयमा एक जर्नलको दृष्टिकोण यस्तो थियो, “गोवामाथिको भारतीय कब्जालाई आक्रमण भन्न मिल्दैन । १९४७ बाटै भारतले गोवालाई आफ्नो भूभाग ठान्दै आएकोले सरकारको अपरेसन जायज छ । अवैधरूपमा आफ्नो भूभाग ओगटेको मिचाहालाई खेद्नु आक्रमण होइन ।”
गोवा कब्जा गरेपछि नेहरूलाई के भारतले यही प्रवृत्ति चीनको विरुद्धमा अपनाउँछ त भनी सोधिएको थियो । नेहरूले जवाफमा भनेका थिए, “बल प्रयोगको बाटो खुला छ, उपयुक्त देखे र मौका परिआएमा हामीले त्यसको प्रयोग गर्नुपर्छ ।” नेहरूका गृहमन्त्री लालबहादुर शास्त्रीले अझ खुलेर भने, “आफूले कब्जा गरेको भूभाग चीनले खाली गरेन भने भारतले गोवाकै घटना दोहो¥याउनुपर्नेछ ।” चुनावमा बोल्दै शास्त्रीले भने, “भारतले पक्कै पनि चिनियाँ सुरक्षाकर्मीलाई धपाउनेछ ।” गोवा घटनाले अन्य केही नेताहरूलाई लठ्ठै पा¥यो । कसैले पाकिस्तानबाट काश्मीरलाई ‘मुक्त’ गर्नुपर्ने विचार राखे भने कसैले अक्साइ चीनबाट चिनियाँहरूलाई लघार्नुपर्ने हल्ला गरे ।
गोवा घटनाका सैन्य असर पनि महत्वपूर्ण छन् । यसमा भारतको एक डिभिजनभन्दा बढी सेना खटिएका थिए । वायु र जल सेनाको सहयोग थियो । भारतीय सेना गोवाको सुरक्षा निकात्न्दा एकदम ठुलो भएकोले पोर्चुगाली पक्षले संस्थागत विरोधमात्र जनायो । यसकारण गोवा अपरेसनमा भारतीय टुकडी र कमान्डरहरूको क्षमताको परीक्षण हुन नै पाएन । तैपनि भारतीय सेनाका अभावहरू भने लडाइँका क्रममा छताछुल्ल भए । उनीहरूसँग पुग्दो सङ्ख्यामा राइफल र छोटा मेसिनगन थिएन । त्यसैगरी आवश्यक ब्याटरी र सञ्चार उपकरणको अभाव थियो । सैनिकलाई जुत्ता अपुग थियो । लगभग एक बटालियन सैनिकले क्यानभास जुत्ता लगाएका थिए । बाहिर यसको त्यति चर्चा नभए पनि सेनाभित्र यो छलफलको विषय बन्यो । गोवा घटनालाई भारतको उत्कृष्ट समय मानियो ।
गोवामा तत्काल सैन्य कारबाही गरेर राजनीतिमा चासो राख्ने जनताको ध्यान चीनबाट मोड्ने विचार सरकारले लिएको थियो । तर, घटनाले उल्टो परिणाम ल्यायो । गोवाको विजयले गर्दा चीनविरुद्ध यसरी नै भारतीय सेना सफल हुने अनुमान फैलियो । पोर्चुगालीहरू प्रतिकारमा नउत्रेको प्रसङ्ग ओझेल भयो । बरु भारतीय सेना बलियो रहेको अर्थ लगाइयो । सरकार पनि यसै भनिरहेको थियो ।
सेना र अन्य सेवा संस्थानहरूको स्थिति चुनावी मसाला बन्यो । बम्बईमा आचार्य कृपालानी कृष्ण मेननसँग चुनाव लडिरहेका थिए । १९६२ को जनवरीमा मेननको चुनावी अभियानमा बोल्दै नेहरूले भने, “मेनन रक्षामन्त्री भएदेखि हाम्रो प्रतिरक्षा प्रणाली पहिलोचोटि सबल र पोख्त जुझारु शक्ति बनेको छ । म यो चुनौती र मसिनो जानकारीको आधारमा भनिरहेको छु । हाम्रो प्रतिरक्षा प्रणाली पहिलोचोटि नयाँ उत्साह र आधुनिक हातहतियारले पूर्ण छ ।” नेहरू संसद् र जनसभाहरूमा सेनाको सामथ्र्यबारे ठुला कुरा गरिरहेका थिए । भारतीय सेना बलियो भएको, जस्तोसुकै चुनौतीको सामना गर्नसक्ने, पाकिस्तान र चीनलाई जवाफ दिनसक्ने आदिमा उनको जोड हुन्थ्यो । सीमामा भारत कमजोर देखिएको बारे सोध्दा नेहरू यसलाई भारतको धीरताको रूपमा अथ्र्याउँथे र एसियालाई युद्धको खतराबाट जोगाएको दाबी गर्थे । संसद्मा विपक्षीहरू नेहरूका उत्तरले भित्रभित्र सन्तुष्ट थिए । बाहिर जति नै कमजोर देखिए पनि भारतीय सेना आइपर्दा चिनियाँहरूलाई पाठ पढाउन सक्षम भएकोमा उनीहरू सहमत थिए । आलोचकहरूलाई त्यसबेला सेनाका अभावहरूबारे थाहा थिएन किनभने सेनाले आफूभित्रका गुनासा र चिन्ता आफू र सरकारबीच नै राख्थे । (त्यसबेला सेनालाई ६० हजार राइफल, ७ सय ट्याङ्क फोर्ने बन्दुक, २ सय मोर्टारको खाँचो थियो । गोलाबारुदको एकदम अभाव थियो । हजारौँ सञ्चार उपकरण, केवल तार र ब्याट्री आवश्यक थियो । त्यस्तै दसौँ हजार सैन्य ट्रकलगायतका यातायातका साधन थिएनन् । भएका पनि मर्मतका सामग्री नभएर थान्को लागेका थिए ।)
स–साना मुठभेडहरूमा भारतीय सेना चिनियाँहरूमाथि हाबी हुनेछ भन्ने नेहरूले कसरी विश्वास गरे, भन्न गा¥हो छ । तर, कौललगायत अन्य उच्च सैन्य अधिकारीहरूको मान्यता यस्तै थियो । गोवा घटनाले राष्ट्रिय मनोबल बढायो । तर, यसले मूल मुद्दाबाट मान्छेको ध्यान मोड्न सकेन अर्थात् चीनसँगको सीमा विवादलाई यसले ओझेल पार्नसकेन । नेहरू आफैँले चीनको अधीनमा रहेको भूभाग सयौँ गोवाभन्दा महत्वपूर्ण भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *