भर्खरै :

बाढी पीडित जनतालाई राहतमा कमी नहोस्

 हेटौँडा, ५ साउन । नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले बाढी पहिरो पीडित जनतालाई आवश्यक राहत निष्पक्ष ढङ्गमा उपलब्ध गराउन, बसोबासको यथोचित बन्दोबस्त गर्न र आवश्यक स्वास्थ्य उपचारमा कुनै कमी हुन नदिन सरकारसमक्ष माग गर्नुभएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा उहाँले राहत वितरणमा एकद्वार प्रणालीलाई पूर्णरूपमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “भारी वर्षा हुने सम्भावना अभैm बाँकी रहेको मौसमविद्हरू बताउँछन् । तसर्थ, सम्पूर्ण संयन्त्र तत्पर अवस्थामा राखी प्रभावकारी ढङ्गमा जोखिम न्यूनीकरण तथा जीउधनको रक्षामा पूर्वसावधानी या पूर्वतयारीका सम्पूर्ण उपाय अपनाउन सरकारसमक्ष माग गर्दछौँ । कोभिड – १९ को कहरमा सुरु भएको यो अर्को विपत्तिमा सबै एकजुट भएर सामना गरौँ भन्ने अनुरोध पनि गर्दछौँ । विपद्को यो घडीमा शासक दल तथा सरकारको ध्यान अन्यत्र हुनु निश्चय पनि शोभनीय होइन । जनता आपत्मा परिरहँदा सरकार गम्भीर नबन्नु र पद अनि भागबन्डाको घृणित खेलमा अल्झिनु निन्दनीय छ । शासक दल तथा सरकारलाई विपत्तिमा परेका र शोक, भोक, रोगले पीडित जनताको चित्कार सुन्न आह्वान गर्दछौँ ।”
सरकारले असारे विकासलाई निरन्तरता दिएबाट सरकारको चेत नखुलेको चर्चा गर्दै उहाँले असारको अन्तिम हप्तामात्रै सरकार वरपरका ठेकेदार, शासक दलका कार्यकर्तालाई अरबौँका योजना हचुवाको भरमा बाँडिएको र दुई या तीन दिनमा हिसाब फछ्र्यौट गरिएका कैयौँ घटना भएको बताउनुभयो ।
सांसद सैँजूले भन्नुभयो, “गुणस्तरहीन निर्माण, नक्कली निर्माण तथा भ्रष्टाचारमा स्वयम् सरकार र शासक दलको प्रत्यक्ष तथा परोक्ष संलग्नता रहेको र त्यस्तो संलग्नताविना त्यति ठुलठुला अनियमितता सम्भव नहुने जनताको दाबी र गुनासो छ । असारको अन्तिम हप्तामा अरबौँ–खरबौँ रकम खर्च गरिएको यथार्थले यो सरकार विगतका कुनै पनि सरकारभन्दा तात्विकरूपमा फरक छैन भन्ने पुष्टि गर्छ । सरकारी ढुकुटीको अपव्ययबाट उन्नति होइन दुर्गति हुन्छ ।”
“असार महिनामा मात्र २ खर्ब २ अर्ब रूपैयाँ खर्च भएको तथ्याङ्कले बताउँछ । यो वर्षमात्र साढे ६ अनि स्थानीय तहमा कानुनविपरीतको खर्र्च असाध्यै बढेको खबर प्रकाशित भएको छ । सुशासन, विधिको शासन र प्रजातन्त्रको नारा लगाउन नथाक्नेहरूका निम्ति यो ठुलो चुनौती हो । भ्रष्टाचार, लुटपाट र कमिसनखोरी नियन्त्रण नगरी न जनता सुखी हुनेछन् न त देश नै समृद्ध हुनेछ । शासक दल तथा सरकारको बेलैमा चेत खुलोस्”, प्रदेश सांसद सैँजूले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *