भारतलाई चीनले दुइटा चस्माले हेथ्र्यो । एउटा, माक्र्सवाद र लेनिनवादको आधारमा इतिहासको द्वन्द्वात्मक सिलसिलाको रूपमा स अर्को, आफ्नो छिमेकी र एसियाली शक्तिको रूपमा । दुवै दृष्टिकोण फरक र खुला थिए । तर, सीमा विवादले दुवै विचारलाई एकै ठाउँ ल्याइदियो । चीनको आँखामा भारतका गतिविधिहरू उसको राजनीतिक सोचका परिमाण थिए र यही सोचले उसलाई चीनसँग युद्ध गर्न घच्घच्याइरहेको थियो ।
भारतबारे पहिलो बुझाइ
सत्तामा आउनुभन्दा पहिले चिनियाँ कम्युनिस्टहरू नेहरूलाई राष्ट्रिय पुँजीवादी नेताको रूपमा हेर्थे । उनीहरूले काङ्ग्रेस पार्टीलाई कोमिन्ताङसँग तुलना गर्नु स्वाभाविक हो । नेहरू र च्याङ काइसेकबीच राम्रो सम्बन्ध थियो । भारतभित्रै हेर्ने हो भने पनि १९४८ देखि १९५१ सम्म भारत सरकारले हैदरावादको तेलङ्गाना जिल्लाको विद्रोह दबाउन सेना परिचालन गरेको थियो । तेलङ्गानाका किसानहरूले जमिनदारहरूबाट जमिन खोसेर आफ्नै प्रशासन चलाइरहेको घटनालाई भारतीय क्रान्तिको फिलिङ्गोका रूपमा हेरिँदै थियो । भारतीय कम्युनिस्टहरूले क्रान्तिका लागि बधाई दिएर पत्र पठाएपछि माओ त्सेतुङले लेखेका थिए, “साहसी भारतीय कम्यनिस्ट पार्टीको अगुवाइमा सम्पूर्ण भारतीय देशभक्तहरूको एकता र सङ्घर्षले निश्चय पनि भारत धेरै समयसम्म साम्राज्यवाद र उसका पिछलग्गुहरूको दबाबमा थिचिने छैन भन्ने मेरो दृढ विश्वास छ । मुक्त चीनजस्तै एक दिन मुक्त भारत पनि समाजवादी र जनवादी परिवारमा भित्रिनेछ ।”

इन्डोनेसियाको बाङडुङमा सन् १९५५ मा भएको असंलग्न देशहरूको सम्मेलनमा सहभागी नेताहरू
भारतको विदेश नीतिले पनि चिनियाँ कम्युनिस्टहरूमा कुनै शङ्का रहन दिएको थिएन । चीनमा च्याङ काइसेक सरकारलाई सहयोग गरिरहेको संरा अमेरिकी साम्राज्यवाद नेहरूलाई सघाउन तत्पर थियो । भारतमा नै अमेरिकीहरूले आशाको किरण देखेको एक चिनियाँ कम्यनिस्ट अखबारले १९५० मा लेखेको थियो । साथै नेहरूले तिब्बती विभाजनकारीहरूलाई सघाउनु अङ्ग्रेजहरूको हिमालय नीतिकै सिलसिला भएको चिनियाँ कम्युनिस्टहरूको ठहर थियो । (यो चिनियाँहरूको मात्र ठहर थिएन । उदाहरणका लागि, भारतमा अन्तर्राष्ट्रिय मामिला अध्ययन गरिरहेका एक अमेरिकी विद्यार्थी पनि यस्तै टुङ्गोमा पुगेका थिए ।) साथै एक चिनियाँ जर्नलले तिब्बत कब्जा गर्ने बेलायत र अमेरिकाको साम्राज्यवादी योजनामा भारत मिसिएको र साम्राज्यवादीहरूले च्याङ काइसेकको ठाउँमा नेहरूलाई आफ्नो मतियार बनाइसकेको निष्कर्ष निकालेको थियो । १९५० मा तिब्बतमा जनमुक्ति सेना पुगेपछि भारतको कूटनीतिक चासोले चिनियाँ कम्युनिस्टहरू सतर्क भए । तर, बढ्दो कूटनीतिक सम्बन्धबाट जनवादी चीनले भारतलाई सहयोगी पायो ।
सहयोगी भारत
जनगणतन्त्र चीनलाई मान्यता दिने प्रथम देश बर्मा थियो । त्यसपछि भारत थियो । बेलायतले दिएपछि आफूले मान्यता दिनुपर्ला भनी पर्खिँदा ढिलो हुन गएकोमा कृष्ण मेननले खसखस पोखेका थिए । लगत्तै भारतले नयाँ चीनलाई संयुक्त राष्ट्रसङ्घको मान्यता दिलाउन पनि लागि परेको थियो । कोरिया युद्ध टुङ्ग्याउन पनि भारतले कूटनीतिक पहल गरेको थियो । प्रधानमन्त्री चाउ एनलाइले भारतीय राजदूत पणिक्करलाई बोलाएर अमेरिकी सेना ३८ औँ अक्षांश नाघेमा चीन पनि कोरिया युद्धमा सहभागी हुने बताएका थिए । चाउ एनलाइकै चाहनाअनुसार सन्देशलाई भारतले वासिङटन पु¥यायो । तर, अमेरिकाले आफ्नो स्वभावअनुसार सुनेको नसुनै ग¥यो । तैपनि भारतले युद्ध विराम गराउन महत्वपूर्ण भूमिका खेल्यो । चीनले केही आलोचनासहित भारतको विदेश नीतिलाई स¥हायो ।
कोरिया युद्धपछि हिन्दी–चिनी भाइ–भाइको नारा गुञ्जियो । तैपनि १९५५ को वाङडुङ सम्मेलनमा “भाइ–भाइमा दाइ चाहिँ को” भन्नेमा थोरै समस्या आयो । नेहरूले खुलारूपमा चाउ एनलाइलाई भाइको व्यवहार गर्न खोजे । भारतीयहरू यसलाई आफ्नो बडप्पनको रूपमा चर्चा गर्ने गर्छन् । तर, चिनियाँ प्रतिक्रिया अर्कै रह्यो । १० वर्षपछि त्यो घटना सम्झिँदै एक पाकिस्तानी पत्रकारसँग चाउ एनलाइले नेहरूको रवैया ‘घमन्डी’ रहेको बताएका थिए । त्यसै बेला श्रीलङ्काका नेताहरूसँगको कुराकानीमा उनले आफूले नेहरूजस्तो अहङ्कारी व्यक्ति कहिल्यै नभेटेको बताएका थिए । राजदूत पणिक्करले चीनले आफूलाई भारतभन्दा पाको देश ठानेको र भारत आफ्नो स्थानमा बस्नुपर्ने मानेको देखे । उनले चीनको भारतप्रतिको मित्रवत् व्यवहारमा भने शङ्का गरेनन् । उनी यसलाई ‘कोमिन्ताङ रवैया’ भन्थे । तर, नयाँ चीन पनि यस मानेमा फरक नदेखिएको उनको बुझाइ रह्यो ।

बाङडुङ सम्मेलनमा चिनियाँ प्रधानमन्त्री चाउ एन लाईसँग अटोग्राफ लिइरहेका विभिन्न देशका युवाहरू
भारत भने दुवै देशलाई जुम्ल्याहा ठान्थ्यो र भारतलाई जेठो मान्थ्यो । त्यसमाथि आफ्नो लेखनी र राजनीतिक विचारका कारण नेहरू विश्वमा चर्चित थिए । अर्कोतिर चाउ एनलाइ अज्ञात गुरिल्ला कमान्डर थिए र वाङडुङबाट चीनले एसियाली मञ्चमा पाइला टेकेको थियो । भारतकै मद्दतले चीनले अन्तर्राष्ट्रिय मञ्चमा सम्मान पाएको भारतीय सोच थियो । त्यसैले वाङडुङमा उमेरले पनि पाका नेहरूले आफूलाई ठुलो दाइ ठान्नु स्वाभाविक थियो । उता नेहरूजस्ता राष्ट्रिय पुँजीवादीले आफ्नो काँध थपथपाउन खोजेको चाउ एनलाई र उनका साथीहरूलाई नमिल्दो लागेको हुनुपर्छ । तैपनि चीनले आफ्नो भारत नीतिमा हेरफेर गरेन । नेहरूले भारतमा साम्राज्यवादी आधार शिविर राख्न दिएका थिएनन् । स्वेज नहर (१९५६) र मध्यपूर्व (१९५८) मा साम्राज्यवादी हस्तक्षेपको नेहरूले विरोध गरेका थिए । उनले चीनलाई संयुक्त राष्ट्रसङ्घको सदस्यता दिलाउन पनि पैरवी गरेका थिए । एक चिनियाँ अखबारले नेहरूलाई चीनको मित्र र साम्राज्यवादी युद्ध र आक्रमणका विरोधी भनी लेखेको थियो ।
नेहरूसम्बन्धी चिनियाँ बुझाइ
चिनियाँ कम्युनिस्टहरूको नजरमा नेहरू राष्ट्रवादी बुर्जुवा थिए । यो लेनिनवादी दृष्टिकोण थियो । उपनिवेश वा अर्ध–उपनिवेश देशका बुर्जुवा वा पुँजीवादीहरू साम्राज्यवादी र सामन्तसँगको अन्तरविरोधका कारण साम्राज्यवादविरोधी सङ्घर्षमा उत्रिन सक्छन् । यसलाई लेनिनले प्रगतिशील राष्ट्रवाद भनेका छन् । यो राष्ट्रवादले सिर्जनात्मक भूमिका खेल्न सक्छ र केही समयलाई कम्युनिस्टहरूसँग मिलेर साम्राज्यवादसँग लड्न पनि सक्छ । तर, यो दोधारे हुन्छ । आफ्नो वर्गचरित्रका कारण पछि यस राष्ट्रवादले साम्राज्यवाद र सामन्तवादसँग सम्झौता गर्न पुग्छ । त्यसभित्रको ठुलो तप्काका स्वार्थहरू साम्राज्यवाद र घरेलु सामन्तवादसँग जोडिएका हुन्छन् । यो ठुलो बुर्जुवा वर्ग खास अवस्थामा स्वतन्त्रता आन्दोलनमा आउन सक्छ । खासगरी शोषित पीडित वर्ग सचेत भएपछि यो साम्राज्यवादसामु झुक्छ र क्रान्तिलाई विश्वासघात गर्छ । त्यसपछि यसले जनता, कम्युनिस्ट पार्टी र प्रगतिशील शक्तिलाई दबाउँछ । चिनियाँहरूको विचारमा नेहरूको भारत यसरी नै अघि बढ्दै थियो ।
सन् १९५९ मा तिब्बतको मामिलाबाट नेहरूको उल्टो गति सुरु भयो । पूर्वी तिब्बतका खम्पा जनजातिले गरेको विद्रोह पश्चिमतिर फैलियो । तिब्बतमा चिनियाँ उपस्थितिले भारतमा आशङ्का पलाए । नेहरू पनि अलमलिए । लोकसभामा नेहरूले तिब्बतका जनताप्रति सहानुभूति व्यक्त गरे । साथै उनले तिब्बतमा भइरहेका लडाइँ र हत्याहरू रोकिने आशा जाहेर गरे । चीनको पिपल्स डेलीले नेहरूको मन्तव्यको खण्डन ग¥यो । भनिन्छ, त्यो लेख अध्यक्ष माओले लेखेका थिए । चीनले नेहरूको कुराभन्दा काममा ध्यान दिँदै थियो । दलाइ लामालाई भारतले शरण दिएकोमा चीन चिन्तित थिएन । तर, लामालाई गरिएको भव्य स्वागत सत्कार र उनलाई भेट्न नेहरू आफैँ गएकोमा भने चीनको आपत्ति थियो । तेजपुरमा दलाइ लामालाई स्वागत गरिएको थियो । त्यहाँ २÷३ सय पत्रकारहरू उपस्थित थिए । यसबाट भारतले उनलाई दिएको पहुँच छर्लङ्ग हुन्छ । भारत सरकारले लामालाई राजनीतिबाट अलग राखिनेछ भनी चीनसँग गरेको वाचा तोडेको थियो । त्यसमाथि कालिम्पोङको बाटो हुँदै अमेरिका, कोमिन्ताङ र तिब्बती आप्रवासीले चीनविरोधी एजेन्टहरू प्रचारकार्य र हतियार पैठारीमा सक्रिय भएको चीनको ठम्याइ थियो ।
नेहरूले तिब्बत घटनालाई चलायमान समाज र जड समाजबीचको द्वन्द्व भनेका थिए । चीनले नेहरूले गलत बुझेको स्पष्ट पा¥यो । चीनको आँखामा तिब्बतको घटना प्रतिक्रान्ति थियो । तिब्बतका क्रूर र अत्याचारी दास मालिकहरू वर्गसङ्घर्षले अत्तालिएको चिनियाँ बुझाइ थियो । अमेरिका, बेलायत र दक्षिण कोरियाजस्ता देशले विद्रोहीहरूप्रति सहानुभूति देखाउनु अनौठो थिएन । तर, तिनीहरूको षड्यन्त्रबारे राम्ररी बुझ्ने नेहरू पनि तिब्बतप्रतिको सहानुभूति अभियानमा सामेल भएकोमा चीनको चासो थियो । कुनै बेला नेहरूले लेखेका थिए, “शासक र विशेष अधिकार प्राप्त वर्गलाई सत्ता र आफ्नो विशेष अधिकार त्याग्ने बनाउने प्रयासहरू सधैँ असफल भएका छन् र भविष्यमा पनि सफल होलान् भनी पत्याउन सकिन्न ।” यही तर्क समात्दै चिनियाँहरूले भने, “नेहरूले चीनले तिब्बती शासकहरूलाई विशेष अधिकार त्याग्ने बनाउन नसकेको आरोप लगाएका छन् ।” चीनप्रतिको भारतीय असन्तोष मैत्रीपूर्ण भएको नेहरूको तर्क थियो । चीनले रोटी दोहोरो पाक्ने बताउँदै चीनले प्रश्न ग¥यो, “चीनले पनि आसाम र उत्तरप्रदेशका विद्रोहीहरूलाई सघाउन जन समितिहरू बनायो भने रूचिकर होला ?” यहाँ चीनले नागा आदिवासीको नाम नलिएर भारतलाई चिढाउन नचाहेको देखिन्छ ।
फेरिँदो रूप
चिनियाँहरूले भारतीय ठुलो बुर्जुवाले नेहरूलाई दक्षिणपन्थतिर तान्न खोजेको हेरिरहेका थिए । चिनियाँ बुझाइमा यही ठुलो बुर्जुवाको घाँटी साम्राज्यवादसँग जोडिएको थियो र केही हदसम्म विदेशी पुँजीमै निर्भर थियो । यसकारण यो वर्ग विस्तारवादी हुनु पनि स्वाभाविक थियो । यही वर्गले भारतको विदेश नीतिलाई आफ्नो पक्षमा लैजान खोजिरहेको थियो । १९५९ मा अमेरिका र भारतको बढ्दो घनिष्टताले ठुलो बुर्जुवाको यही रूप झल्काएको थियो । यसको सङ्केत नेहरूको सीमा अवधारणामा देखिएको थियो ।
सन् १९५९ को सुरुमा नेहरूले लेखेको पत्रमा सीमासम्बन्धी भारतीय अवधारणा देखापरेको थियो । त्यसबेलासम्म चीन भारतसँगको सीमा समस्या सजिलै समाधान हुनेमा ढुक्क थियो । १९५४ देखि भारतीय नक्सामा अक्साइ चीन गाभिएको थियो । त्यसैगरी म्याकमाहोन रेखाभित्रको भूभाग चीनको नक्सामा थियो । १९५१ पछि पूर्वमा म्याकमाहोन रेखा प्रचलित सीमारेखा हो भन्ने अड्डी भारतको रह्यो । नेहरूले बारम्बार म्याकमाहोन रेखा सीमारेखा भएको दोहो¥याइरहेका थिए । तर, पाँच वर्षअघि मात्र नक्सामा गाभिएको अक्साइ चीनमा नेहरूले यस्तै अडान राख्लान् भन्ने कुनै छाँटकाँट देखिएको थिएन । जसरी चीनको नक्सामा देखिएको म्याकमाहोन रेखाभित्रको भूभागमा चीनको व्यवहारिक उपस्थिति थिएन त्यसरी नै भारतको नक्सामा देखिएको अक्साइ चीनमा भारतीय उपस्थिति थिएन ।
बर्माको सीमा सम्झौता गर्दा त्यहाँको सरकार घरेलु दबाबमा परेको चीनले देखिसकेको थियो । त्यसैले आन्तरिक कारणले गर्दा नेहरूले सीमा सम्झौता गर्न नचाहेको खण्डमा विषयलाई थाती राख्न सकिने चीनले जोड दिएको थियो । तर, लोङजु र कोङका भञ्ज्याङको घटनापछि भारत यथास्थितिमा बस्न नचाहेको देखियो । यी घटनाले चीनलाई मात्र नभई भारतलाई पनि झस्काएका थिए । भारतले लोङजु, खिन्जेमाने र तामादेनमा मनपरी चौकीहरू बनाएर सीमा सिद्धान्त मिच्ने काम ग¥यो । त्यसपछि भारतले सीमाबारे आफ्नो सर्तमा छलफल गर्न चाहेको थियो र त्यसमा पश्चिमी भूभागसम्बन्धी भारतको दाबी पनि चीनले मान्नुपर्ने थियो । पूर्वको विवाद केही वर्ग माइल जमिनको लागि थियो तर पश्चिममा हजारौँ वर्ग माइल भूभागको कुरा थियो । त्यसैले कोङका भञ्ज्याङको घटना चीनका लागि गम्भीर थियो ।
१९५९ को अन्त्यसम्ममा भारत सीमाको विषयमा कुनै सम्झौता हुनसक्दैन भन्ने अडानमा पुगिसकेको थियो र छलफलका लागि आफ्नो ‘यथास्थिति’ को सर्त अघि सारेको थियो । यससँगै भारत सीमामा सक्रिय हुँदै थियो । यसको अर्थ भारत शान्तिपूर्ण समाधानबाट टाढिँदै थियो । अर्कोतिर बेलायती साम्राज्यवादले समेत खुलारूपमा राख्न नसकेको तिब्बतसितको गोप्य पत्राचारका आधारमा कोरिएको म्याकमाहोन रेखालाई स्वतन्त्र भारतले रगतले कोरेझैँ प्रस्तुत गर्दै थियो । इतिहास हेर्ने हो भने बेलायतीहरूले कहिल्यै पनि जोनसन र अर्डाघ रेखालाई चीनसँगको औपचारिक सीमा मानेका थिएनन् । भारतले भने यसैलाई आधार मानेर अक्साइ चीनमाथि दाबी गरिरहेको थियो । भारतको कुनै काम नआउने अक्साइ चीनको सडकबारे बोलेर भारतले चीनको स्वाभिमान मिचिरहेको थियो । यसको प्रतिवादमा पेइचिङ रिभ्युले लेख्यो, “चिनियाँ जनतामाथि अधिकार जमाउने दिन गए ।” मार्शल चेन यिले म्याकमाहोन रेखा थोपर्न खोजेर भारतले चिनियाँ जनताको आत्मसम्मानलाई बेवास्ता गरेको बताए । नेहरूको विवेक (हेर्नुहोस् असम्भव सर्त) बाट हेर्ने हो भने चिनियाँ पक्ष आफ्नो अडानमा अर्थपूर्ण थियो । चीनले ऐतिहासिक र विद्यमान यथार्थका आधारमा सीमाङ्कन गरिनुपर्ने र त्यतिञ्जेल यथास्थितिमा रहन सकिने र सम्भावित विवाद टार्न सकिने बताइरहेको थियो । यो एकदम न्यायपूर्ण विचार थियो । तर, भारतपछि फर्किन नसकिने बाटोमा अघि बढ्दै थियो ।
भारतको सीमा नीतिको कारण माक्र्सवादी–लेनिनवादी विश्लेषणबाट स्पष्ट हुन्छ । चीनको भाषामा ‘चर्किदो वर्गीय र सामाजिक अन्तरविरोध र नेहरू सरकारले सामना गरिरहेको राजनीतिक सङ्कट’ सीमा विवादको कारक थियो । १९६० को सुरुसम्म भारत सरकार साम्राज्यवाद र सामन्तवादविरोधी खेमाबाट प्रतिक्रियावादी राष्ट्रवादमा फेरिएको थियो र उसले साम्राज्यवाद र सामन्ती शक्तिसँग घाँटी जोड्दै थियो । तर, केही समयसम्म पेइचिङले नेहरूलाई प्रतिक्रियावादी शक्तिको बन्दीका रूपमा हेरिरह्यो । उनले आफूलाई मुक्त बनाउन सक्ने आस पेइचिङको थियो । देशभित्र चीनविरोधी नाराबाजीको नेहरूले विरोध गरिरहेका थिए र सम्झौताका प्रयास जारी राख्न चाहन्थे । (चीनसँगको पत्राचारमा भने नेहरूले सम्झौताको कुनै ठाउँ नरहेको अड्डी कसिरहेका थिए ।)
Leave a Reply