भर्खरै :

सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि हमला

नेपाल–भारत सीमामा तैनाथ नेपाली सशस्त्र प्रहरीमाथि भारततिरबाट विभिन्न नाकामा पटक–पटक हमला भइरहेका छन् । विशेषतः कोभिड–१९ को महामारी फैलिएयता नेपालले भारतसँगको सीमामा सशस्त्र प्रहरी थप परिचालन गरी कडाइ गरेपछि त्यस्ता घटना बारम्बार हुन थालेको हो । झापाको सीमावर्ती गौरीगञ्ज नपामा शनिबार भारतीय अज्ञात समूहले गरेको हमला त्यस्तै पछिल्लो घटना हो । यसअघि सप्तरी जिल्लामा सशस्त्र प्रहरीमाथि भारतबाट अज्ञात समूहले हमला गरेपछि चलाइएको गोली लागी एक जना भारतीय नागरिकको निधन भएको थियो ।
विशेषतः नेपाल र भारतबीचको खुला सीमाको फाइदा उठाई तस्करी र अपराधमा संलग्न व्यक्ति र आपराधिक समूह नै यस्ता घटनामा संलग्न देखिन्छ । विभिन्न नाकामा सशस्त्र प्रहरीले कडाइ गरेपछि उनीहरूले तस्करीका गैरकानुनी काम गर्न नपाउँदा आक्रोशित भएर यस्ता हमला गरिरहेका छन् । सीमामा कडाइ गरेसँगै सशस्त्र प्रहरीमाथि भएको हमलाले यसअघि सीमामा खुकुलो गर्दा हुने आपराधिक गतिविधिको सहज अनुमान गर्नसकिन्छ । खुला सीमा नै दुई देशबीच तस्करी, आपराधिक गतिविधि र मानव बेचबिखनको मूल जड भएको बुझाइलाई अहिलेको अवस्थाले थप बल दिएको छ ।
सीमामा तैनाथ सशस्त्र प्रहरीलाई हतोत्साहित गर्न भएका यस्ता हमलालाई कारण बनाएर उनीहरूलाई फिर्ता गर्ने र सीमा चौकी (बीओपी) घटाउनु ठीक होइन । बरू विभिन्न क्षेत्रमा अनावश्यकरूपमा परिचालित सशस्त्र प्रहरीको सङ्ख्या सीमाकै रक्षामा खटाउनुपर्छ । औद्योगिक क्षेत्रमा परिचालित सशस्त्र प्रहरीलाई पनि सीमा क्षेत्रमै परिचालन गरे देशको हित हुनेछ ।

सीमामा तैनाथ सशस्त्र प्रहरीलाई व्यवस्थित बसाइको निम्ति आवश्यक पूर्वाधार बनाउनु नेपाल सरकारको दायित्व हो । त्रिपालको भरमा सीमा रक्षा गर्नुपरेको समाचार पनि आउने गरेको छ । यस्तो अवस्थाको अन्त्य हुनुपर्छ । सीमा तैनाथ सशस्त्र प्रहरीलाई आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक पूर्वाधारको विकासमा कमी हुनुहुन्न ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बलियो उपस्थितिले खुला सीमाको फाइदा उठाएर हुने गरेको तस्करी, अपराध र लुटपाटमात्र घट्नेछैन, बरू भारतबाट हुने सीमा अतिक्रमणका घटना पनि क्रमशः घट्नेछ । सीमा अतिक्रमण भएका र हुने सम्भावना भएका क्षेत्रमा सशस्त्र प्रहरीको परिचालन अझ बढाउनुपर्छ । पुस्तौँ पुस्तादेखि बिना बर्र्दी देशको सिमाना रक्षाको लागि लडिरहेका सीमावर्ती नेपालीहरूको निम्ति सशस्त्र प्रहरीको परिचालन हौसला र साहस बन्नेछ । सीमा क्षेत्रका नेपाली जनताले महसुस गर्ने गरेको राज्यको अभावलाई सशस्त्र प्रहरीको उपस्थितिले केही कमी गर्नेछ ।
सशस्त्र प्रहरीमाथि भएका हमलाको सम्बन्धमा नेपाल सरकारले भारतका सम्बन्धित कार्यालय र निकायसँग छलफल गर्न जरुरी छ । भारत सरकारकै निम्ति पनि दुई देशबीचको कमजोर सीमा चिन्ताको विषय हो । त्यसको समाधानको निम्ति भारतीय निकायसँगको समन्वयमा पनि ध्यान दिनुपर्छ । खुला सीमाका कतिपय सकारात्मक पक्षलाई देखाएर कैयौँ नकारात्मक पक्षलाई बढावा दिनु उपयुक्त होइन । खुला सीमा नियमित र व्यवस्थित गर्दा दुई देशका जनताबीचको सम्बन्ध अझ बलियो र तिक्ततारहित हुनसक्छ । दुवैतिरबाट हुने अपराध र तस्करीको नियन्त्रणले दुवै देशका इमानदार जनता र सरकारलाई फाइदा हुनेछ । यसमा आफूलाई मधेसको प्रतिनिधि दाबी गर्ने राजनीतिक दल र राजनीतिक नेतृत्वले पनि गम्भीर विचार गर्नुपर्छ ।
सीमामा तैनाथ सशस्त्र प्रहरीलाई व्यवस्थित बसाइको निम्ति आवश्यक पूर्वाधार बनाउनु नेपाल सरकारको दायित्व हो । त्रिपालको भरमा सीमा रक्षा गर्नुपरेको समाचार पनि आउने गरेको छ । यस्तो अवस्थाको अन्त्य हुनुपर्छ । सीमा तैनाथ सशस्त्र प्रहरीलाई आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक पूर्वाधारको विकासमा कमी हुनुहुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *